स्वास्थ्य बिमा कार्यक्रम प्रभावकारी

बुधबार, २६ माघ २०७३

 

बागलुङ, २६ माघ, स्वास्थ्य बिमा कार्यक्रमबाट जिल्लामा हालसम्म एकहजार २७ जना बिमितले उपचार सेवा लिएका छन् । जिल्लाभित्रकै स्वास्थ्य संस्थामा सेवा लिने ९ सय ३ र अन्यत्रबाट लिने १ सय २४ जना रहेका छन् ।  स्वास्थ्य संस्थाबाट सामान्यदेखि जटिल उपचारसम्मको सेवा बिमित सदस्यले पाएका छन् ।

 

स्वास्थ्य बिमा कार्यक्रम बागलुङका अनुसार सबैभन्दा बढी सेवा धवलागिरि अञ्चल अस्पतालबाट ५ सय ६२ जनाले लिएका छन् । २५ जना बिरामी उक्त अस्पतालबाट बाहिरका ठूला अस्पतालमा पठाइएको छ ।  बूर्तीवाङ प्राथमिक स्वास्थ्य केन्द्रबाट १ सय २५ जनाले सेवा लिएको र २७ जनालाई अन्यत्र पठाइएको छ ।  यस्तै, गलकोट प्राथमिक स्वास्थ्य केन्द्रबाट सेवा लिनेको सङ्ख्या १ सय ३२ र प्रेषण हुनेको सङ्ख्या २० छ । कुश्मीसेरा प्राथमिक स्वास्थ्य केन्द्रबाट ९४ जनाले सेवा लिएको र ५२ जनालाई बाहिर पठाइएको गरिएको कार्यक्रमका प्रबन्धक जीवलाल खरेलले जानकारी दिए । 

 

उनका अनुसार सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रममा गतपुस मसान्तसम्ममा जिल्लाका एक हजार ४ सय १३ परिवारका ६ हजार ५ सय १८ जना सदस्य दर्ता भएका छन् ।  पाँच जनासम्मको परिवारले रु २ हजार ५ सय  को बिमा रकमबाट वर्षमा रु ५० हजारसम्मको उपचार सेवा निःशुल्क पाउने गरेका छन् ।  जिल्लामा उपचार हुननसके थप उपचारका लागि जिल्ला बाहिर तोकिएका स्वास्थ्य संस्थामा पठाइने गरिएको प्रबन्धक खरेलले बताए । स्वास्थ्य बिमाबाट बागलुङ नगरपालिका–४ कि ५५ वर्षीया सरस्वती शर्माले पाठेघरको शल्यक्रिया सेवा लिएकी छिन् ।

 

शर्माले पोखराको मणिपाल शिक्षण अस्पतालबाट रु ५० हजार बराबरको उपचार सेवा निःशुल्क प्राप्त गरेकी छिन् । शर्माजस्तै थुप्रै बिमित सदस्यले विभिन्न स्वास्थ्य संस्थाबाट निःशुल्क उपचार सेवा पाएका छन् । बिमाको लागि परिवारमा पाँचजना भन्दा बढी सदस्य रहेमा प्रतिसदस्य रु ४ सय २५ का दरले थप रकम तिर्नुपर्ने प्रावधान छ ।  ‘हरेक वर्ष रु २ हजार ५ सय तिरेर सदस्यता नवीकरण गर्नुपर्छ, उक्त रकमपछि फिर्ता हुँदैन’ प्रबन्धक खरेलले भन्नुभयो ‘सरकारले निःशुल्क दिने औषधि बाहेक कार्यक्रमले तोकेका औषधि किन्दा १५ प्रतिशत रकम सदस्य स्वयम्ले तिर्नुपर्ने व्यवस्था छ ।’ रकम तिर्नै नसक्ने अति विपन्न परिवारले सरकारले दिएको गरिब परिचयपत्र ल्याए निःशुल्क रुपमा सदस्यता दिइनेछ ।

 

यस कार्यक्रमबाट प्रायः सबै खाले स्वास्थ्य समस्याको उपचार गर्ने गरिएको छ ।  ‘कस्मेटिक सर्जरी’, कृत्रिम अङ्ग राख्ने, तोकिए बाहेकका दाँच उपचार, कृत्रिम गर्भाधान, गर्भपतन जस्ता सेवा उपलब्ध नहुने जनाइएको छ । दर्ता सहयोगीमार्फत् बिमा सदस्य दर्ता गर्ने कार्य चलिरहेको स्वास्थ्य बिमा कार्यक्रम बागलुङले जनाएको छ । चालु आवभित्र जिल्लाका सबै गाविसमा बिमा कार्यक्रम पु¥याउने लक्ष्य रहेको कार्यक्रमले जनाएको छ । 

 

गत असार १५ गतेदेखि जिल्लामा स्वास्थ्य बिमा कार्यक्रम सुरु भएको हो । स्वास्थ्य सेवामा नागरिकको सहज पहुँच स्थापित गर्न सरकारले सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिमार्फत स्वास्थ्य बिमा लागू गरेको हो । रासस


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको