महिनामै १ प्रतिशतसम्म बढ्यो कर्जाको व्याजदर, सस्तो ऋण कुन बैंकले दिन्छ ?

बुधबार, २६ माघ २०७३

 

२६ माघ, काठमाडौं । पुससम्मको वित्तीय विवरण प्रकाशित गरेका १८ वाणिज्य बैंकको नाफा गत वर्षको पुसको तुलनामा ५४ प्रतिशतले बढेको छ ।  गत वर्ष ९ अर्ब ४५ करोड कमाएका बैंकहरुले यस वर्ष पुससम्ममा १४ अर्ब ५६ करोड रुपैयाँ आम्दानी गरेका छन् ।

 

प्रतिशतको आधारमा नाफामा सबैभन्दा धेरै वृद्धि प्रभु बैंकले गरेको छ भने रकमको आधारमा भने नेपाल बैंक सबैभन्दा अग्रस्थानमा छ । पुससम्ममा बैंकहरुमा कर्जा लगानी योग्य पुँजी अभावको समस्या देखिइनसकेकोले बैंकहरुले अहिले खेपिरेको यो समस्याको प्रभाव चैतमा प्रकाशित हुने वित्तीय विवरणमा पर्ने सम्भावना रहेको छ ।

यद्यपि तेस्रो त्रैमाश (माघदेखि चैत) को दोस्रो र अन्तिम महिनामा यो समस्याको अवस्था कस्तो हुनेछ भन्नेबाट मात्र प्रभाव पर्ने नपर्ने यकिन हुनसक्छ ।

 

 

कर्जाको र निक्षेपको व्याज अन्तरबाट २५ अर्ब कमाई

 

 

बैंकहरुको व्यवसायबाट हुने आम्दानीको रुपमा रहने खुद व्याज आम्दानी ८१ प्रतिशतले बढेर २५ अर्ब ४३ करोड रुपैयाँ पुगेको छ । ३८ प्रतिशतभन्दा बढिले कर्जा लगानी बिस्तार गरेका यी संस्थाले कर्जाको र निक्षेपको व्याज अन्तरबाट २५ अर्ब रुपैयाँ कमाएका हुन् ।

 

बैंकहरुले बचत निक्षेपमा कम व्याज दिएको कारण पनि यस्तो आम्दानीमा उच्च वृद्धि भएको हो । अहिले कर्जा योग्य लगानी अभाव भएको बैंकहरुले बताइरहँदा पनि मुद्धती निक्षेपको मात्र व्याज बढाएको तर, बचत निक्षेपको व्याज नबढाएको भन्दै बैंकहरुको आलोचना हुँदै आएको छ ।

 

यही कारण राष्ट्र बैंकले बैंकहरुलाई मुद्धती निक्षेप र बचत निक्षेपको व्याज अन्तर पनि तोक्ने गृहकार्य भएको बुझिएको छ ।


बैंकहरुको कर्जा लगानी ३८ प्रतिशतले बढेर १० खर्ब ६८ अर्ब पुगेको हो । यता, निक्षेप संकलनमा भने २७.६१ प्रतिशत वृद्धि गरेर १२ खर्ब ५३ अर्ब पुर्‍याएको छ ।

 

सस्तोमा कर्जा लिन एभरेष्ट बैंक उत्तम

 

बैंकहरुले कर्जा दिन आधार लिने दर (बेस रेट) हेर्दा एभरेष्ट बैंकमा सबैभन्दा सस्तोमा कर्जा पाइने अवस्था रहेको देखिन्छ । बैंकहरुले प्रकाशित गरेको आधार दरमा एभरेष्ट बैंकको यो दर सबैभन्दा कम अर्थात् ५.४८ प्रतिशत छ ।

 

हुनतः यो दर पुस अन्त्यसम्मको भएकोले हाल बैंकहरुको यस्तो दर भने परिवर्तन भएको हुन सक्छ । हाल यी बैंकहरुको औसतमा यस्तो दर ७.१६ प्रतिशत रहेको छ ।

 

राष्ट्र बैंकले दिएको असोज अन्त्यसम्मको तथ्यांकमा भने औसतमा २८ वटै वाणिज्य बैंकको यो दर ६.४३ प्रतिशत मात्र रहेको थियो । महिना दिनमा नै कर्जाको आधार दर लगभग १ प्रतिशतले बढेको हो ।


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको