प्रमुख पार्टीका विद्यार्थी संगठनहरु फर्जी विद्यार्थी भर्नागर्न तँछाडमछाड

बिहिबार, २७ माघ २०७३

 

 ‘देश बनेन, भ्रष्टाचार मौलायो । नेताहरुले काम गरेनन् आदि आदि ।’ क्याम्पसका क्यान्टिनहरुदेखि चौरमा गफिइरहेका विद्यार्थीहरुले यस्तै यस्तै गुनासो गरिरहेका हुन्छन् । लामो समयपछि क्याम्पसहरुमा स्ववियु निर्वाचन हुँदैछ । यस्तै गुनासो गर्ने विद्यार्थीहरुले अवश्य पनि नयाँ राजनीतिक संस्कारको सुरुवात गर्लान् भन्ने अपेक्षा तपाईको हुनसक्छ ।

 

तर, तपाईको अपेक्षामा क्याम्पसका अगुवा भनिने विद्यार्थी संगठनहरुले नै पानी खन्याइरहेका छन् । नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्र निकटका विद्यार्थी संगठनका नेताहरु यतिबेला झोलामा पैसा बोकेर फर्जी विद्यार्थी भर्ना गर्न दिनरात लागिरहेका छन् ।

 

स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन नजिकिँदै गर्दा विद्यार्थी संगठनहरु फर्जी विद्यार्थी भर्ना गर्दै विद्यार्थी मत आफ्नो कब्जामा पार्ने प्रतिस्पर्धामा लागेका हुन् ।

 

त्रिभुवन विश्वविद्यालयको कार्यकारी समितिले २०७६ माघ १३ मा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन यहि फागुन १४ गते गर्ने निर्णय गरेको थियो । उक्त निर्णयकै कार्यतालिका अनुसार सबै संकायको प्रथम वर्षको भर्ना रोकिएको थियो भने बाँकी सेमेस्टरको भर्ना पनि यहि माघ २८ गते सम्मलाई तोकिएको थियो ।

 

भर्नाको अन्तिम मिति सकिन दुईदिन अगावै विद्यार्थी संगठनहरु दशौं लाख रकम बोकेर सयौ विद्यार्थीको फर्म भरिरहेका छन् । राजधानीकै महत्वपूर्ण ईतिहास बोकेको मीनभवन क्याम्पसमा सत्ताधारी दल नेपाली काङ्ग्रेस निकट विद्यार्थी संगठन नेविसंघ, माओवादी केन्द्र निकट संगठन अनेरास्ववियु क्रान्तिकारी र प्रमुख प्रतिपक्ष दल एमाले निकट संगठन अनेरास्ववियुले करिब एक हजार ६ सय विद्यार्थी भर्ना गरेका छन् ।

 

कार्यालय समय ४ बजेसम्म भएपनि बुधबार राति अबेलासम्म भर्ना भइरहेको भेटिएको छ । देश बनेन भनेर लम्बेतान भाषण गर्ने र सुशास र लोकतन्त्रको गफ दिने विद्यार्थी संगठनका नेताहरु आफैं यस्तो फर्जी काममा संगल्न छन् र माउ पार्टीहरु आफ्ना विद्यार्थी संगठनहरुलाई चाहिएको पैसा बाँढिरहेका छन् ।

 

स्ववियु निर्वाचनलाई मिनि जनमत संग्रह मानिने भएकोले पनि राजनीतिक पार्टी र तिनका भातृ संगठनहरु यस्तो काममा लागेका हुन् । प्रमुख पार्टी निकटका विद्यार्थी संगठनहरु सबै फर्जी भर्ना गर्न तँछाडमछाड गरिरहेकोले अन्य संगठनहरुले गरिरहेको विरोधका स्वरहरुले काम नगरिरहेको एक विद्यार्थी नेताले बताए ।

 

विद्यार्थीको अभिमत पैसामा विनिमय गर्नु अस्वस्थ राजनीतिको पराकाष्ठा भएको नयाँ शक्ति विद्यार्थी युनियनका स्ववियु विभाग प्रमुख युवराज दाहालले बताए ।

 

‘एकातर्फ विप्लव निकट संगठनलगायत १० विद्यार्थी संगठन विभिन्न माग राख्दै तालाबन्दीमा गएका छन्,’ दाहालले भने, ‘ यहीबेला जिम्मेवार भनिएका तीन संगठन चुनावको पक्षमा वातावरण बनाउन भन्दा चुनावको माहोल बिथोल्न लागेको हो कि भन्ने गम्भीर आशंका उब्जिएको छ ।’

 

दाहालले २१औं शताब्दिको आजको समयसम्म आउँदा पनि शिक्षालय जस्तो पवित्र ठाउँमा यस्ता हर्कत हुनु सभ्यताकै निम्ति चुनौती र पुरानै फोहोरी खेलको निरन्तरता भएको प्रतिक्रिया दिए ।

 

Source : Sajhapost


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको