हड्डीमा के–के रोग लाग्छ ?

सोमबार, ०९ फागुन २०७३

 

कम्मर दुख्ने, जोर्नीमा पीडा हुने र गर्धन दुख्ने समस्या वर्तमान जीवनशैलीमा सामान्य भइरहेका छन् । चिसो मौसममा यी समस्या अझ धेरै आएको अनुभव आम मानिसले गर्छन् । कतिपय अवस्थामा यी समस्याका अनेक समाधान खोजेर लाभ मिल्दैन । समस्या ठ्याक्कै पहिचान हुन सकेन भने समाधान हुने कुरा पनि भएन । धेरैको समस्या भए पनि हड्डीमा हुने समस्याबारे चेतना भने कम देखिन्छ ।

 

हाड शरीरको सबैभन्दा मजबुत अंग हो । यसको समग्र स्वरुपलाई अस्थिपञ्जर भनिन्छ । कुनै पनि प्राणीको चलायमान हुने अवस्था, जसलाई चिकित्सकीय भाषामा ‘लोकोमोसन’ भनिन्छ । त्यसको उपयुक्तताका लागि मानिसको शरीरमा हाडजोर्नीको सिर्जना भएको मानिन्छ । मासु, नसा र अन्य महत्वपूर्ण अंग ‘सब्चिच्युड’ हुन् ।

 

 

हड्डी के हो ?

कुनै पनि प्राणी चलायमान हुन हड्डी अथवा त्यसको समग्र रुप अस्थिपञ्जर जरुरी हुन्छ । हाडले शरीरलाई एउटा आकार दिन्छ । हाडले मात्रै केही हुन सक्दैन । त्यसलाई चलायमान वा गतिशील बनाउन जोर्नी आवश्यक हुन्छ । हाडजोर्नी विशेषज्ञ डा बुलन्द थापा भन्छन्, ‘जोर्नीले हाडलाई चलायमान हुन मद्दत गर्छ । जोर्नी चलाउन अथवा हाडलाई गतिशीलता प्रदान गर्न मांसपेशीको आवश्यकता हुन्छ । मांसपेशीलाई चलाउन पनि नसाको आवश्कता पर्छ ।’

 

चिकित्सकहरु हाडको संरचनालाई जीवशास्त्रीय रुपमा व्याख्या गर्छन् । उनीहरुका अनुसार, हाडलाई ‘कनेक्टिभ टिस्युज’ भनिन्छ । अर्थात् क्याल्सियम र खनिज पदार्थ जम्मा गरेकाले नै हाड कडा स्वरुपमा रहेको हुन्छ ।

 

शरीरका अरु महत्वपूर्ण अंगलाई आफ्नो ठाउँमा राख्न, सुरक्षित बनाउन, चल्न, हिँड्डुल गर्नका लागि आवश्यक पर्ने संरचना नै हड्डी हो । हाडजोर्नी विशेषज्ञ डा. रमेशमानसिंह प्रधान भन्छन्, ‘हाडका संरचनाहरु जोर्नी बनाएर जोडिएको हुन्छ र यो चल्न सक्ने अवस्थामा रहन्छ ।’

 

शिशु आमाको पेटमा रहँदादेखि नै शरीरमा हाडको विकास हुन थाल्छ । सुरुमा कुरकुरे खालका नरम हाडहरुको विकास हुन्छ । कतिपय अंगका हाडहरु विभिन्न खनिज पदार्थ लिएर विकास भइसकेका हुन्छन् र शिशु आमाको पेटमा रहँदा नै कडा खालका भइसकेका हुन्छन् । अरु हाडहरु बालक जन्मिएपछि विकास हुन्छ । २ सय ६ वटा हाडमध्ये क्याल्सियम र खनिज पदार्थ लिएर विकास हुन्छ । हाडहरुको बढ्ने भाग बालकको जन्मपछि विस्तार हुन्छ ।

 

 

के रोग लाग्छ हड्डीमा ?

हाडजोर्नी तथा नसामा विभिन्न खालका रोगहरु देखा पर्ने खतरा उत्तिकै रहन्छ । बालक जन्मेदेखि जीवनपर्यन्त विभिन्न रोग लाग्न सक्छन् । बालबालिका, युवा तथा वृद्धावस्थामा यसको असर फरक–फरक हुन्छ । कतिपय रोग जन्मजात नै सिर्जना भएका हुन्छन् भने कतिपय समस्या दुर्घटनापछि आउँछन् । केही रोग भने मानिसको दैनिकी र जीवनशैली आदिका उपज हुन्छन् । वीर अस्पतालको राष्ट्रिय ट्रमा सेन्टरका निर्देशक एवं हाडजोर्नी विशेषज्ञ डा बुलन्द थापा हाडसम्बन्धी रोगलाई सात तहमा वर्गीकरण गर्न सकिने बताउँछन् ।

 

१. कन्जिनेन्टल : जन्मिँदादेखि नै हाडसम्बन्धी संरचनामा समस्या भएकोलाई यस वर्गमा राखिन्छ । हाड सानो हुने, हड्डीको वृद्धि नहुने, बाङ्गो तथा कमजोर हुने खालका समस्या यसमा रहन्छन् । वंशाणुगत समस्या नै यस रोगको प्रमुख कारण हो ।

 

२. डेभलपमेन्टल : बच्चाहरुको विकास हुने क्रममा देखा पर्ने रोगहरुलाई ‘डेभलपमेन्टल’ भनी वर्गीकरण गरिएको हुन्छ । यस्ता रोग बालबालिका जन्मिएपछि विकास हुने क्रम वा बढ्ने क्रममा देखा पर्छन् । कहिलेकाहीँ हड्डीको विकास हुँदाहँुदै बीचमा रोग देखिन सक्छ । हड्डी, नसा वा मांसपेशीमा यो खालको समस्या देखिन सक्छ ।

 

३. मेटाबोलिक : शरीरलाई आवश्यक पर्ने तत्वहरु नपुगेका कारण लाग्ने रोगहरु यस वर्गमा पर्छन् । हाड वा समग्रमा अस्थिपञ्जरको विकासका लागि आवश्यक पर्ने क्याल्सियम, फस्फोरस, मिनरल नपुगेमा यस्तो समस्या देखिन्छ । मजबुत हाडका लागि शरीरमा जुन तत्व आवश्यक पर्ने हो, त्यसको न्यूनतम उपलब्धता नहुँदा यस्ता रोग देखा पर्छन् ।

 

४. ट्रमाटिक : चोटपटक वा दुर्घटनाजन्य कारणले देखा पर्ने हाडसम्बन्धी समस्या ‘ट्रमाटिक’ हुन् । हाडजोर्नीमा असर गर्ने, मासु च्यातिनेजस्ता समस्या हुन्छन् ।

 

५. इन्फेक्सन : संक्रमणका कारण पनि हाडसम्बन्धी रोगको समस्या देखिन सक्छ । हड्डीलगायत मासु पाक्न सक्ने खालका समस्या हुन्छन् । यस्ता रोग दुई प्रकारमा विभाजन गरेर अध्ययन भएको पाइन्छ, ‘नन्स्पेसिफिक’  र ‘स्पेसिफिक’ । ‘नन्स्पेसिफिक’मा कारणबिनै संक्रमण हुने र हाडमा समस्या आउने हुन्छ । इन्फेक्सनमा भने अन्य रोगका कारण हाडसम्बन्धी समस्या देखिन्छ । कुष्ठरोग र त्यसले हाडमा गर्ने असर यसको उदाहरण हो । थाइराइडको समस्या भएकाहरुलाई पनि हाडको समस्या निम्तिन सक्छ ।

 

६. इन्फ्लामेसनः बाथ रोग लागेर हाडजोर्नी बिग्रिनेलगायतका समस्या हुन्छन् । हात\खुट्टाहरु दुख्ने समस्या यसमा पर्छन् । टिबीका कारण पनि हाडमा असर हुन्छ । ब्रोसेलोसिस, पोलियो (जसलाई हामीले भाइरल इन्फेक्सन पनि भन्छौं) जस्ता रोग देखिन सक्छन् । बच्चालाई हुने पोलियो ‘भाइरल इन्फेक्सन’ हो, जसले अस्थिपञ्जरमा पनि असर गर्न सक्छ । पोलियो नसाका कारण मासुमा लाग्ने रोग हो । त्यसले कालान्तरमा हाडमा समेत असर गरी विकास हुन दिँदैन ।

 

७. ट्युमर : यो पनि गम्भीर समस्या हो । बुढ्यौलीका कारण घुँडा खिइएर चलाउन नसक्ने भएर यस्ता रोगले सताउन सक्छन् । हातका जोर्नीहरु जाम हुने, भित्रको फ्लिडहरु सुक्ने आदि यसका कारण हुन् । वयस्कमा ट्युमरको समस्या ज्यादा देखिन्छ । यस्ता कतिपय ट्युमर क्यान्सरका पूर्वावस्था पनि हुन सक्छन् । १७ देखि ३६ वर्षकालाई हड्डीको क्यान्सर देखिने हुन्छ । रोग लाग्नासाथ पहिचान गरी छिटो आएमा उपचार सहज हुने यस्ता रोग ढिलो भए निको हुन कठिन हुन्छ ।

 

 

कुन उमेर, कस्तो रोग ?

चिकित्सकहरुका अनुसार विभिन्न उमेर समूहमा लाग्ने रोगहरु फरक फरक खालका हुन्छन् । दुर्घटना वा चोटपटकजन्य हाडको समस्याबाट जुनसुकै उमेर समूहका मानिस पनि पीडित हुन सक्छन् । तर पनि कम उमेरका बालबालिका वा किशोरहरु चकचके खालको हुने, जोखिम ख्याल नगर्ने भएकाले हाड भाँचिने र मर्किने समस्या बढी हुन्छ ।

 

शिक्षण अस्पताल महाराजगन्जका निर्देशक एवं हड्डीरोग विशेषज्ञ डा दीपक महराका अनुसार युवावस्थामा खासै समस्या नदेखिए पनि वृद्धावस्थामा ‘हाडसम्बन्धी रोग’ ठूलो चुनौती बन्छ । उनी भन्छन्, ‘क्याल्सियमको कमी हुँदै जाने भएकाले बुढ्यौलीमा हाडमा समस्या देखिन सक्छन् ।’

 

उपचार कसरी ?

उमेरअनुसार हाडसम्बन्धी समस्याको उपचार फरक हुन्छ । प्रायः बालबालिकामा हाड भाँच्चिने समस्या छिटो निको हुने भएकाले प्लास्टर विधि अपनाइन्छ । कहिलेकाहीँ बाहिरबाट तारहरु बेरेर पनि उपचार गर्नुपर्ने हुन्छ । जटिल खालको परिस्थितिमा मात्रै सर्जिकल ट्रिटमेन्ट (चिरफारबाट गरिने उपचार) उपयोगी हुन्छ ।

 

बुढेसकालकालाई प्रायः ‘रेस्टर फ्याक्चर’ बढी देखिने पाटनका हाडजोर्नी विभाग प्रमुख डा बज्राचार्य बताउँछन् । बारम्बार हुने हिपसम्बन्धी समस्यामा तन्काउने वा प्लास्टरको उपाय अपनाइन्छ भने हिपमा अप्रेसनको विधि बढी जरुरी हुन्छ । डा बज्राचार्य भन्छन्, ‘कहिलेकाहीँ हिपमा रिप्लेसमेन्ट नै आवश्यक पर्छ । तलपट्टि पाता वा पेच राखेर यस्तो उपचार गरिन्छ ।’

 

उनका अनुसार, लामो समय सुतेर आराम गराउँदा वा धेरै बस्दा इन्फेक्सन वा अन्य समस्या हुने खतराको विकल्पमा यस्तो उपाय अपनाउने गरिन्छ । आराम धेरै हुँदा उत्पन्न हुने खतराबाट जोगिन बिरामीलाई अप्रेसनपछि वैशाखी वा सहयोगीको साथमा सक्रिय बनाउन खोजिन्छ ।

 


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको