उपचार पाउन दुई दिन पैदल

आइतबार, २२ फागुन २०७३

 

रामेछाप,  नागरिकलाई सुलभ रूपमा स्वास्थ्य सेवा उपलब्ध गराउने सरकारी अभियान जिल्लाको पश्चिमी भेगका बासिन्दासम्म पुग्न सकेको छैन । हिलेदेवीका बासिन्दा चिकित्सकको मुख देख्नै दुई दिन हिँड्नपर्ने बाध्यतामा छन् । ‘डाक्टर नजिकै छैनन्, दुई दिन माया मारेर मन्थली पुग्नुपर्छ,’ स्थानीय पूर्णसिहं योञ्जन भन्छन्, ‘गाउँमा स्वास्थ्यकर्मी भेटिन गाह्रो छ, भेटिए पनि रोग निदान गर्नै उनीहरूको क्षमताले पुग्दैन ।’ 

 

काभ्रेमासीमा जोडिएका लखनपुर र गुन्सीबाट मन्थली पुग्न स्वस्थ मानिसलाई २ दिन लाग्छ, बिरामीलाई अझ बढी । बिरामीलाई मन्थली जानुभन्दा काठमाडौं नजिक पर्छ । लखनपुरबाट मन्थली जान सहज सडक छैन । ‘हामी भगवान् भरोसामा बाँचेका छौं,’ हिलेदेवीका कान्छा मोक्तान भन्छन्, ‘सामान्य पढेर आउनेले हचुवाका आधारमा दिएको औषधिको भर पर्नुपरेको छ । बिसेक भए भइहाल्यो नत्र मर्नुको विकल्प छैन ।’  गुन्सीका हीरा श्रेष्ठ पश्चिमी रामेछापका बासिन्दा बिरामी पर्दा डाक्टरको मुख नदेखी मर्न बाध्य रहेको सुनाउँछन् । ‘हिउँदमा पनि गाडी नचल्ने ठाउँ छन्, त्यस्तो दुर्गम क्षेत्रमा बिरामी परे मर्नुको विकल्प छैन,’ उनले भने ।

 

जटिल अवस्थाको प्रसूति गराउनुपर्ने महिलालाई बोकाएर अस्पताल लैजान नसकिएको श्रेष्ठको भनाइ छ । ‘न एम्बुलेन्स न हेलिकप्टर, गरिबको रोग निदान कसरी हुन्छ ? आर्थिक अवस्था कमजोर भएकाले उक्त क्षेत्रमा उपचारका लागि हेलिकप्टरमा उड्ने बिरलै छन्,’ उनले भने । एउटा निर्वाचन क्षेत्रमा कम्तीमा एउटा प्राथमिक स्वास्थ्य केन्द्र स्थापना गर्ने सरकारको नीति छ । जिल्लाको २ नम्बर निर्वाचन क्षेत्रको स्वास्थ्य केन्द्र गेलुमा राखिएको छ । गेलु मन्थलीबाट १० किलोमिटर र खिम्तीबाट ५ किलोमिटरको दूरीमा पर्छ । मन्थली र खिम्तीमा प्राथमिक स्वास्थ्य केन्द्र छन् । खिम्तीसँग सीमा जोडिएको गेलुमा पहुँचको भरमा सेवा केन्द्र राखिएको हो । ‘हाम्रा बोल्ने नेता थिएनन्, जो शक्तिमा थिए उनले उतै राखे,’ मोक्तान भन्छन्, ‘सरकारी नीति पालना गरिएको छैन ।’ 

 

गुन्सी, लखनपुर, दोरम्बा, टोकरपुर, गौस्वारा, दिमीपोखरी, हिलेदेवी, राकाथुम, खनियापानी, मझुवा, भीरपानी, खाँडादेवी, गागल, माकादुम, पिङ्खुरीलगायत गाविसवासी चरम समस्यामा छन् । आफ्नो घरगाउँका नागरिक प्रभावकारी उपचार पाउनबाट वञ्चित रहेकोमा खाँडादेवी घर भएका चिकित्सक नवीन सिञ्जाली मगर चिन्ता प्रकट गर्छन् । ‘स्वास्थ्य संस्थामा नलगी जबर्जस्ती सुत्केरी गराउने गरेको पनि पायौं,’ उनले भने, ‘त्यसरी सुत्केरी गराउँदा कतिपयको पाठेघर खसेको र फोहोरको कारण संक्रमण भएको भेटिएको छ ।’ सिञ्जालीले दुर्गमका नागरिकलाई स्वास्थ्य सेवा सहज बनाउन जिल्लाको पश्चिमी केन्द्र सञ्चालनमा ल्याउनुपर्नेमा जोड दिए ।

 

‘कयौं दिन म घर जाँदा पीडाजनक अवस्था देखेको छु,’ उनले भने, ‘उपचार नपाउने अवस्था कहालीलाग्दो छ ।’ जिल्ला परिषद्ले खाँडादेवीको गाल्वामा केन्द्र स्थापना गर्न पटकपटक सिफारिस गरेको थियो । स्वास्थ्य कार्यालय प्रमुख डा. प्रकाशप्रसाद शाहले एउटै निर्वाचन क्षेत्रमा पनि एकभन्दा बढी प्राथमिक स्वास्थ्य केन्द्र सञ्चालन भएका थुप्रै उदाहरण देखाए । ‘पश्चिमी रामेछापमा साँच्चिकै असुविधा छ,’ उनी भन्छन्, ‘सरकारले निर्णय नगर्दासम्म हामी केही गर्न सक्दैनौं ।’   

(आजको कान्तिपुर दैनिकमा टीकाप्रसाद भट्टले लेखेको समाचार)


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको