होली पर्व सुरु

आइतबार, २२ फागुन २०७३

 

काठमाडौं । रंगहरूको पर्व होली सुरु भएको छ । काठमाडौंको हनुमानढोकास्थित वसन्तपुरमा आइतबार बिहान चीर ठड्याएर होली पर्व शुभारम्भ गरिएको हो । 


बिहान ८ बजेर १५ मिनेटको शुभसाइतमा सप्तरंगी चीर ठड्याइएको हो । त्यस अवसरमा नेपाली सेनाको गुर्जू पल्टनले हर्ष बढाइँसमेत गरेको थियो । प्रत्येक वर्ष फागुन शुक्ल अष्टमीका दिन रंगीचंगी कपडाका टुक्रा झुण्ड्याइएको बाँसको तीन तले चीर ठड्याएपछि मुलुकभर होलीको माहोल सुरु भएको मानिन्छ । होलीको अवसरमा सरकारले सार्वजनिक बिदा पनि दिने गरेको छ । फागुन शुक्ल अष्टमीदेखि फागुन शुक्ल पूर्णिमासम्म ८ दिन होली पर्व मनाउने  गरिन्छ ।

 

भगवान विष्णुका भक्त प्रल्हादलाई मार्न प्रयास गर्ने होलिकाको मृत्यु भएको खुशीयालीमा अबिर लगाएर होली खेल्ने चलन सुरु भएको धार्मिक ग्रन्थमा उल्लेख गरिएको छ । बदलिँदो परिस्थिति अनुसार होली खेल्ने तौरतरिकामा भने हेरबदल हुँदै आएको छ । होलीमा जथाभावी रंग दल्ने, लोला हान्ने काम हुन नदिन स्थानीय प्रशासनले पनि कडा निगरानी राख्दै आएको छ । फागुन शुक्ल पूर्णिमाको रातमा होलिकाको प्रतिक चीर टुंडिखेलमा लगेर दोहन गरेपछि होली पर्व सकिने मान्यता रहि आएको छ ।


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको