रविन्द्र मिश्रलाई नारा फेर्न सुझाव दिँदै विजय लामाले लेखे खुलापत्र

आइतबार, २२ फागुन २०७३

चर्चित पाइलट क्याप्टेन विजय लामाले भर्खरै नयाँ पार्टी खोलेका साझा पार्टीका संयोजक रविन्द्र मिश्रलाई शुभकामना दिएका छन् ।

 

काठमाडौंको आरआर क्याम्पसमा पत्रकारिता पढ्दाताकाका सहपाठी रहेका लामाले मिश्रलाई राजनीतिमा सफलताको शुभकामना दिँदै मिश्रका चर्चित नाराहरुलाई सच्याउन सुझाव दिएका छन् । मिश्रको पुस्तक ‘खान पुगोस्, दिन पुगोस्’लाई लामाले सामन्ती शब्दावलीको संज्ञा दिँदै ‘खान नपाउनेलाई खान पुग्ने युग हाम्रो गन्तव्य’ बनाउन सुझाव दिएका छन् ।

 

यसैगरी ‘भ्रष्टाचारीलाई किरा परोस्’ भन्ने नारा दैविक श्राप भएकोले लामाले यसलाई सच्याउँदै भ्रष्टाचारी जेलमा सडोस् भन्ने नारा बनाउन लामाले सुझाव दिएका छन् ।

 

 क्याप्टेन विजय लामाको खुलापत्र रविन्द्र मिश्रलाई-

 

रविन्द्र,
तिमीले अहिलेसम्म आफ्नो पेशाबाट पुर्‍याएको योगदानलाई साधुबाद …!

 

जहिल्यै सत्यको पक्षमा बोल्यौ, लड्यौ र सकारात्मक सोच लिएर राष्ट्रका लागि समर्पित भएर काम गर्‍यौ ! आफ्नो विशिष्ट अनुभव, बुझेका सांसारिक ज्ञान र निर्दिष्ट तत्वबोधहरु निर्धक्क भएर पस्क्यौ !

 

कहिले डग्मगाएनौ आफ्नो प्रगतिशील विचारहरु राख्न । आफ्नो आवाजलाई कहिले दबाएनौ गरीब दु:खीको लागि बोल्नलाई होस् या भ्रष्टाचारीविरुद्ध बोल्नलाई ! सँधै एकै रफ्तारमा अघि बढ्यौ ।

 

अतितकालीन रत्न-राज्यका हाम्रा किशोरकालीन दिनहरुदेखि आजपर्यन्त त्यही रविन्द्र नै पाएँ मैले परिष्कृत तर कुनै परिवर्तनबिनाको । त्यही सरल स्वभाव्, त्यही नेतृत्वदायी भाव, त्यही मिठो मुस्कान्, त्यही हठरहित शान्त मिलनसार र गम्भीर मिजास । अनि त्यही सहयोगी मन र त्यही जुझारु व्यक्ति जसले अन्याय सहन सक्दैन थियो र सकेन कहिले पनि !


तिमी पत्रकारितामा छउञ्जेल पित-पत्रुकारितालाई पैतालाले कुल्चिरह्यौ । तर आज यसरी तिमीले सफलताको गगन गमन गरिरहेको पेशालाई छोडी अन्यौल्, अव्यवस्थित्, फोहोरी, लुब्ध र अँध्यारो नितान्त भिन्न जगतमा पाइला चाल्ने तिम्रो निर्णयलाई स्वागत गर्दछु ।

 

यसकारण कि तिमी जस्तोको खाँचो छ त्यहाँ जहाँ निस्वार्थ, निष्पक्ष र निडर नेतृत्वको खडेरी छ । तिम्रो त्याग, आँट र स्वप्निल दुस्साहसको कदर गर्छु ! अझ चुनौतिपुर्ण र प्रतिबद्ध, देश विकासप्रतिको लागि सलाम छ मेरो मित्रलाई ।

 

तिमीले बोल्दै गरेको ‘खान पुगोस-दिन पुगोस्’ जस्ता सामन्ती शब्दावली र ‘भष्टाचारीलाई किरा परोस्’ खालका दैविक श्रापभन्दा माथी उठेर ‘खान नपाउनेलाई खान पुग्ने युग हाम्रो गन्तव्य’ र ‘भ्रष्टाचारी जेलमा सडोस्’ को संकल्प नयाँ पुस्ताले तिमीबाट अपेक्षा जो गर्छ, गरिरहेछ । सच्याउने छौ । यस्ता अर्थहिन नाराले तिम्रो बौद्धिकतालाई गिज्याएको छ ।

 

म पनि त्यही अपेक्षा राख्छु । आज नेपालमा खाँचो भनेको नै एउटा असल्, इमान्दार, देशभक्त नेता हो ! यहि तिमीबाट देशले प्राप्त गरेर कायापलट भैदियोस् । केवल एउटा व्यक्तिले ल्याउन सक्छ परिवर्तन । पूरै पार्टी या ठूलो जमात चाहिन्न ! नेता एक कार्यकर्ता अनेक !

 

आफुभित्र भएको सबै सदगुणलाई व्यवस्थित गर्दै सुदूरगामी यात्राका लागि मेरो शुभकामना र सबै भएर पनि केही नभएको देशलाई मात्र ‘सबै भएको’ देश बनाउने महायात्राको थालनी गरिदेऊ ।

 

दैनिक ३ हजारभन्दा ज्यादा युवाको सस्तो र जोखिमयुक्त श्रमबजारमा पसिना घोट्नु पर्ने बाध्यात्मक विदेश गमनलाई यहीँ रोजगारी सृजना गरेर रोकी देऊ । वृद्धहरुको लागि दुई गाँस जाउलो र न्यानो बास उपलब्ध गराइ देऊ । युवा जमातलाई सिप र शिक्षा पाउने आधार खडा गरिदेऊ र विशेषगरेर नारामा मात्र भ्रष्टहरुको विरोधमात्र होइन, वृहद नेपाली शब्दकोषबाट भ्रष्टाचार नामको शब्दै डिलिट गरिदेऊ ।


… जय चन्द्र सुर्य…
तिम्रो रत्न राज्य कलेजको अध्ययन ताकाको सखा …

विजय लामा

साभार : sajhapost बाट ।


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको