मेची–महाकाली अभियानमा प्राप्त सामाजिक र नैतिक पुँजीलाई राष्ट्र निर्माणमा लगाइन्छ : ओली

शुक्रबार, ०४ चैत २०७३

 

काठमाडौं,  नेकपा एमालेका अध्यक्ष केपी ओलीले मेची–महाकाली अभियानमा प्राप्त सामाजिक र नैतिक पुँजीलाई आगामी दिनमा राष्ट्र निर्माण र संविधान कार्यान्वयनमा अधिकतम सदुपयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

 

अभियान सम्पन्न भएको अवसरमा शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै ओलीले हिंसामाथि शान्तिको, ध्वंशमाथि निर्माणको, सामाजिक विद्वेष र जातीय घृणामाथि सामाजिक सद्भाव र सहिष्णुता एवं सहअस्तित्वको, अँध्यारोमाथि उज्यालोको, फाटोवादी तत्वहरूका विरुद्ध राष्ट्रिय एकताका पक्षधर जनताको र संविधान समाप्त पार्न खोज्नेमाथि संविधान कार्यान्वयन गर्न चाहनेहरूको सफलताको रूपमा आफूहरुले यस अभियानलाई विश्लेषण गरेको बताएका छन् । ‘हामीले भन्दै आएका छौं– यो अभियान नेकपा एमालेले सुरु गरे पनि यो पार्टीको मात्रै अभियान होइन, राष्ट्रकै अभियान हो,’ विज्ञप्तिमा ओलीले भनेका छन् ।

 

आफूसँग असहमत पक्षलाई निषेध गर्ने, त्यसका निम्ति हिंसा र अपराधको सहारा लिने र सुनियोजित रूपमा अप्रिय घटना घटाएर त्यसमाथि सहानुभूतिको राजनीति गर्ने मधेसी मोर्चाको दुराशय र तत्जन्य हरकत नै राजविराज घटनाको एकमात्र कारण हो भन्ने कुरामा कुनै सन्देह नरहेकोसमेत उनले प्रष्ट पारेका छन् । ‘मधेसी मोर्चाका गतिविधिहरूमा अपराध र राजनीतिको सीमारेखा मेटिँदै जानु र मधेसी मोर्चाको काँध विभिन्न खाले विखण्डनकारी र हिंसात्मक तत्वहरूको हतियार राख्ने आडको रूपमा प्रयोग हुँदै जानु निकै दुःखद् र चिन्ताको बिषय हो,’ ओलीले विज्ञप्तिमा भनेका छन्, ‘अझ सत्तापक्ष र वर्तमान प्रधानमन्त्रीलाई भोट हाल्ने समूहहरूबाटै यस्ता क्रियाकलाप हुनुले मुलुकमा सत्ता संरक्षित सामाजिक फासिवादको उदय हुँदै गरेको खतरनाक सङ्केत गर्दछन् । लोकतन्त्र र बहुलवादी समाजका लागि यस्ता प्रवृत्तिहरूको उदय निकै चुनौतीको बिषय हो ।’ सप्तरी घटनापछि पनि मधेसी मोर्चाले बाँके लगायत स्थानहरूमा त्यस्तै घटना घटाउने असफल प्रयास गरेको ओलीको आरोप छ ।

 

यतिबेला मुलुकको आवश्यकता र जनताको चाहना संविधानको कार्यान्वयन नै भएको जिकिर गर्दै अध्यक्ष ओलीले संविधानको कार्यान्वयनको मुख्य कडी भनेकै आगामी २०७४ माघभित्र तीनै तहको निर्वाचन सम्पन्न गरेर निर्वाचित जनप्रतिनिधि निकायहरू स्थापित गर्नु र सङ्क्रमणकाललाई समाप्त पार्नु रहेको प्रष्ट पारेका छन् । उनले विज्ञप्तिमा भनेका छन्, ‘संविधान कार्यान्वयन हुन नदिएर मुुलुकलाई अस्थिरतातिर धकेल्ने गलत मनसायका साथ गठन भएको वर्तमान सरकारले गएका ७ महिना व्यर्थमा खेर फालेको छ ।’

एमालेको निरन्तरको पहल र आम जनताको समेत दबाबका कारण केही समय अगाडि मात्रै आगामी २०७४ बैशाख ३१ का लागि स्थानीय तहको निर्वाचनको मिति घोषणा भएको उल्लेख गर्दै ओलीले भनेका छन्, ‘तर घोषित मितिमा निर्वाचन हुन नदिन अनेकौं षडयन्त्रहरू जारी छन् । प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनको बारेमा अन्यौल कायमै छ । हाम्रो पार्टी तत्काल राजनीतिक दल सम्बन्धी विधेयक लगायत अन्य आवश्यक कानुनहरू अविलम्ब निर्माण गर्न, निर्वाचन क्षेत्र निर्धारण आयोग तत्काल गठन गर्न, प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनको कार्ययोजना प्रस्तुत गर्न र निर्वाचनसम्बन्धी अन्यौल हटाएर सिङ्गो राष्ट्रलाई निर्वाचनको दिशामा अग्रसर गराउन आह्वान गर्दछ ।’

 

उनले संविधान संशोधन विधेयक अनुचित, अनावश्यक, असंवैधानिक र राष्ट्र तथा जनताको हित विपरित भएको दाबी गर्दै कुनै पनि अर्थमा पारित हुन नसक्ने प्रष्ट पारेका छन् ।

 

मत्थर भइसकेका जातीय÷क्षेत्रीय अतिवाद र सामाजिक विद्वेषहरूले वर्तमान सरकार गठनसँगै फेरि शीर उठाउन थालेको एमाले अध्यक्ष ओलीको ठहर छ । ‘मिलेर बसेको नेपाली समाजलाई विभिन्न नाममा विभाजित गर्ने, विगतमा सामन्ती व्यवस्थाका कारण सिर्जित सामाजिक विभेद र उत्पीडनको दोष कुनै एक समुदायमाथि थोपरेर जातीय र साम्प्रदायिक घृणा फैलाउने र राष्ट्रिय एकतालाई कमजोर गर्ने प्रवृत्तिहरू बढ्न थालेका छन्,’ विज्ञप्तिमा उनले भनेका छन्, ‘अझ कतिपय तत्वहरू खुलेआम मुलुकलाई विभाजन गर्ने घोषणा गर्दै यसका लागि हिंसात्मक हरकतहरू समेत गरिरहेका छन् ।’ यस्ता प्रवृत्तीलाई सरकारले नै प्रोत्साहन गरिरहेको उनको आरोप छ ।


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको