विश्व मुख स्वास्थ्य दिवस : ‘मुख स्वास्थ्यनीतिलाई अगाडि बढाऔँ’
मङ्गलबार, ०८ चैत २०७३

काठमाडौं, उपराष्ट्रपति नन्दबहादुर पुनले राष्ट्रिय मुख स्वास्थ्यनीतिलाई प्राथमिकतामा राख्न सरकारलाई आग्रह गरेका छन् । मानव जगत्मा मुख स्वास्थ्यको समस्या गम्भीर रहेको भन्दै पुनले सरकारले बनाएको राष्ट्रिय मुख स्वास्थ्यनीतिलाई अगाडि बढाउनुपर्ने बताए ।
विश्व मुख स्वास्थ्य दिवसको अवसरमा सोमबार नेपाल डेन्टल एसोसिएसनले आयोजना गरेको कार्यक्रममा उपराष्ट्रपति पुनले अझै पनि दूरदराजका जनताले स्वास्थ्य सेवा पाउन नसकेको स्पष्ट पारे । उनले भने, ‘संविधानमा स्वास्थ्यलाई मौलिक हकका रूपमा समावेश गरिएको छ । मानव स्वास्थ्यका हिसाबले गम्भीर बन्दै गएको मुख स्वास्थ्यलाई सरकारले प्राथमिकतामा राख्नुपर्छ । त्यसैले मुख स्वास्थ्यका लागि राज्यले उचित पहलकदमी चाल्नुपर्ने देखिएको छ ।’
गरिब, विपन्नले सेवा नपाएको गुनासो
उपराष्ट्रपति पुनले स्वास्थ्य मन्त्रालयको प्राथमिकतामा मुख स्वास्थ्यको विषय नपरेको धारणा राखे । ‘हामीले ग्रामीण भेगका जनतालाई सहज रूपमा स्वास्थ्य सेवा पुर्याउने कुरा गरेका छौँ । तर, गाउँका गरिब, विपन्न नागरिकले अझै पनि सहज स्वास्थ्य उपचार पाएका छैनन् । यो असाध्यै सोचनीय विषय हो,’ उनले भने ।
मुख स्वास्थ्यको विषयलाई प्राथमिकता दिएर अगाडि बढ्न उनले स्वास्थ्यमन्त्रीको ध्यानाकर्षण गराए । उनले थपे, ‘स्वास्थ्यमन्त्रीले पछिल्लो समय स्वास्थ्य क्षेत्रमा सुधारका कार्यक्रम गर्दै जानुभएको छ । त्यसैले आशा लिएको छु, मेरो कुरामा पनि ध्यान दिइनेछ ।’ ०७० मा बनेको राष्ट्रिय मुख स्वास्थ्यनीति अझैसम्म कार्यान्वयनमा आउन सकेको छैन ।
ग्रामीण क्षेत्रमा चिकित्सक पठाउन आग्रह
उपराष्ट्रपतिले सम्पूर्ण नेपाली गुणस्तरीय स्वास्थ्य सेवाको पहुँचमा रहनुपर्ने भन्दै नेपालमा स्वास्थ्य सेवा विकेन्द्रीकृत गर्नुपर्ने धारणा व्यक्त गरे । ‘नेपालका चिकित्सक सक्षम छन्,’ उपराष्ट्रपति पुनले भने, ‘विभिन्न रोग लाग्दा उपचार गराउन नेताहरू विदेश जाने गरेका छन् । तर, आजसम्म दाँतको उपचार नेपालमा सम्भव छैन भनेर आजसम्म कुनै व्यक्ति विदेश गएको मैले देखेको र सुनेको छैन । यो नेपालका दन्त चिकित्सकको ठूलो सफलता भएको मैले ठानेको छु ।’ उनले सरकारले सेवासुविधा बढाएर भए पनि ग्रामीण क्षेत्रमा चिकित्सक पठाउनुपर्ने धारणा व्यक्त गरे ।
मुखबाटै अरू रोग सुरु
विज्ञान तथा प्रविधिमन्त्री प्रेमबहादुर सिंहले मुख स्वस्थ नभई अन्य स्वास्थ्यको कल्पना गर्न नसकिने बताए । ‘संविधानमा स्वास्थ्यलाई प्राथमिकतामा राखिएको छ,’ मन्त्री सिंहले भने, ‘अब यसलाई कार्यान्वयन गर्न सबै लाग्नुपर्छ ।’ दिगो विकास र समृद्ध नेपालका लागि पनि स्वास्थ्य प्रमुख प्राथमिकतामा हुनुपर्ने सिंहले बताए ।
दन्तरोग विशेषज्ञ डा. सुवास घिमिरेले एकैपटक मुटु, क्यान्सर, मिर्गाैला रोगको समस्या नभएको बताए । ‘मुटुबाट मुखको समस्या भएको हैन,’ घिमिरेले भने, ‘मुखको स्वास्थ्यमा ध्यान नदिँदा क्यान्सर, मुटुरोग, मिर्गौैलाजस्ता रोगको समस्या भएको हो ।’ उनले स्वास्थ्य मन्त्रालयले सबै रोगको विषयमा सहयोग गरेको भए पनि मुख स्वास्थ्यका विषयमा सामान्य सहयोगसमेत नगरेको आरोप लगाए । मधुमेह, उच्च रक्तचाप, क्यान्सरलगायतका रोग छ–छैन भनेर मुखको सम्पूर्ण जाँच गर्दा थाहा पाउन सकिने हुँदा मुख स्वास्थ्यमा विशेष ध्यान दिनुपर्ने डा. घिमिरेले बताए । नयापत्रिका बाट
To read in your mobile download our android app from google play store. Click Here To Download App
प्रतिक्रिया दिनुहोस्