नियमित योग गर्नोस्, विभिन्न किसिमका रोग भगाउनोस्

बिहिबार, १० चैत २०७३

 

म्याग्दी । एघार वर्षदेखि दमका कारण सास्ती खेपेका बेनी नगरपालिका–२ का खड्गबहादुर थापाको स्वास्थ्यमा एकाएक परिवर्तन आएको छ।



रोगका कारण घरमै बसेर बित्ने उनको दिनचर्यामा पनि अहिले परिवर्तन आएको छ। उनी निर्धक्क गाउँमा हिँडडुल गरिरहेको भेटिन्छन्।



श्वासप्रश्वास प्रणालीमा उत्पन्न समस्याका कारण थलिएकी मङ्गलाघाटकी सुमित्रा पुन पनि रोगमुक्त छिन्। थापा र पुन त्यत्तिकै ठीक भएका होइनन्, न त कुनै चिकित्सकले दिएको औषधि सेवन गरेर नै उनीहरूले स्वास्थ्यलाभ गरेका हुन्। योग गरेर १५ दिनमै उनीहरूको स्वास्थ्यमा परिवर्तन आएको हो।
 


दुई वर्षअघिदेखि योग सिकाउँदै आएका नवीन आनन्द योग केन्द्रका प्रशिक्षक नवीन जुग्जाली नियमितरुपमा योग गरे ‘ब्लड क्यान्सर’जस्ता रोग पनि निको पार्न सम्भव भएको दाबी गर्छन्। योग साधकका अनुसार योगबाट शरीरमा स्फूर्ति बढ्ने, ग्यास्ट्रिक, कपाल फुल्ने, अल्सर, कब्जियत, गठिया, बाथजस्ता रोग निको पार्न सकिन्छ।



शारीरिक स्फूर्ति, दिमागी एकाग्रता र स्मरणशक्ति बढाउनसमेत योग प्रभावकारी भएकोे बेनी बजारका बयोवृद्ध नैनकुमार श्रेष्ठले बताउछन्।  त्यसैगरी, नियमितरुपमा योग गरेका कारण आफ्नो स्मरण शक्ति बढ्नुका साथै मानसिक तनावबाट समेत मुक्ति मिलेको शिक्षक रामचन्द्र जैसीले बताए।



“पहिलेपहिले पढाउने विषयवस्तुबारे जति अध्ययन गरेर गए पनि बिर्सँन्थेँ, कापीमा लेखेर लग्नुपथ्र्यो, योग गर्न थालेपछि बिर्सने समस्याबाट मुक्ति मिलेको छ,” योगबाट प्राप्त लाभबारे उल्लेख गर्दै जैसीले भने।



रोगमुक्त समाजको निर्माण गर्न योगलाई देशव्यापीरूपमा विस्तार गर्न जरुरी भएको विचार योग प्रशिक्षक नवीन जुग्जाली व्यक्त गर्छन्।



मानसिक र शारीरिकरूपमा नागरिकलाई सक्षम बनाइए देश उन्नतिको पथमा अघि बढ्नसक्ने उल्लेख गर्दै उनले अनुशासित समाजको निर्माण गर्न योग गर्नु श्रेयस्कर भएको बताए। आठ प्रकारका प्राणायाम, १२ प्रकारका आसन र ६० प्रकारका योग गरे रोगबाट मुक्ति मिल्ने र स्फूर्ति बढ्ने बताउँदै प्रशिक्षक जुग्जालीले योगले शरीरमा सकारात्मक प्रभाव मात्रै पार्ने ठोकुवा गरे।
 


छिमेकी मुलुक भारतका झै नेपालमा समेत कक्षा ५ देखि कक्षा १२ सम्म योगबारे पाठ्यक्रममा समावेश गर्नुपर्ने उनको ठम्याइ छ। रासस


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको