तनावले निम्त्याउला पेटको समस्या

शुक्रबार, ११ चैत २०७३

 

काठमाडौ । तपाईं कत्तिको मानसिक तनावमा रहने गर्नुहुन्छ ? ध्यान दिनुहोस् है, तपाईंको मानसिक तनावका कारण तपाईंलाई मानसिकरूपमा अस्वस्थ बनाउनेमात्र होइन, पेटसम्बन्धी विभिन्न रोगले सताउन सक्छ ।

 

शहिद शुक्रराज ट्रपिकल शरुवारोग अस्पतालका फिजिसियन डा. शेर बहादुर पुनका अनुसार मानसिकरूपमा बढी तनावग्रस्त रहने मानिसलाई पेटसम्बन्धी विभिन्न रोगहरू लाग्ने गर्दछ । त्यसरी तनावका कारण पेटमा लाग्ने रोेग एसिडिटी धेरैमा प्रमुख समस्याको रूपमा देखा परेको पाइन्छ । यसले सम्पूर्ण पाचन प्रणालीलाई नै नकारात्मक असर पार्दछ । त्यसपछि यो विकसित हुँदै पाचन प्रणालीमा थप नकारात्मक असर अत्पन्न गराउँछ । फलस्वरूप ग्यास्ट्रिक अल्सरजस्ता समस्या देखापर्छन् ।

 

मानसिक प्रक्रियाले शरीरमा विभिन्न किसिमका रासायनिक प्रक्रियाहरू पैदा गर्दछन्, जसबाट पेटको अमासयमा अत्याधिक एसिड पैदा हुन्छ । ग्रामीण क्षेत्रभन्दा शहरी क्षेत्रका मानिसहरू बढी तनावयुक्त वातावरणमा रहने भएकाले शहरी क्षेत्रमा मानिसमा यस्तो समस्या ज्यादा देखिने डा. पुन बताउँछन् ।  उनि भन्छन्– ‘एसिडिटीको समस्याबाट पार पाउन मानसिकरूपमा चिन्तामुक्त रहनु नै सबैभन्दा उत्तम उपाय हो ।’ मानसिक तनाव सँगसँगै अनियमित खानपान, अनुशासनहिन, जीवनशैली, अत्याधिक धूमपान र मद्यपानले पनि पेटको रोगलाई प्रसय दिइरहेको उनको भनाई छ । 

 

लामो समय खाली पेट नबसाै‌ :

पेटरोग विशेषज्ञका अनुसार कोहि पनि लामो समयसम्म खाली पेट बस्नु स्वास्थ्यका लागि राम्रो होइन । प्रत्येक ४–५ घण्टाको अन्तरमा केही न केही खानेकुरा खानुपर्दछ । खाली पेट बस्दा छिटै एसिडिटीको समस्या उत्पन्न भई त्यसको विकास हुँदै अल्सरसमेत हुन सक्छ । त्यसैले ४–५ घण्टाको अन्तरमा खानेकुरा खान सम्भव नभएमा पानी मात्रै भए पनि पिउनु राम्रो हुने सम्बन्धित विज्ञहरूको सुझाव छ । 

 

खानेकुरामा ध्यान पुर्याआै‍

अधिकांश मानिसले मन पराउने स्वादमा अमिलो, चिल्लो, पिरो नै अग्रपङ्तिमा पर्दछ । यस्ता स्वादलाई आफ्नो प्राथमिकतामा राख्नेमा पेटका रोगीहरू पनि पर्दछन् । खानपानमा संवेदनशिल नभई यस्ता खानेकुरालाई प्राथमिकता दिँदा उनीहरूमा एसिडिटी, ग्यास्ट्रिक, अल्सरजस्ता समस्याले निकै सताउने गर्दछ । त्यसैले पेटको रोगबाट बच्न आफ्नो स्वास्थ्यलाई ख्याल गरी खानपानलाई नियमित एवम् व्यवस्थित गर्नु अत्यन्तै जरुरी छ । साथै, पालेको डढेको, तारेको मासु खाँदा पनि पेटलाई निकै असर पु¥याउने पेटरोग विशेषज्ञहरू बताउँछन् । यस्ता खानेकुराले पेटका रोगमात्र होइन, विभिन्न प्रकारका क्यान्सरसमेत निम्त्याउने भक्तपुर क्यान्सर अस्पतालका वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. रोशन प्रजापति बताउँछन् ।  उनका अनुसार अत्यधिक तापक्रममा तयार पारिने सेकुवा नियमित खानेलाई क्यान्सर हुने प्रबल सम्भावना हुन्छ । अत्याधिक तापक्रममा तयार पारिने सेकुवामा एकोलामाइड एवम् नाइटे«टस भन्ने तत्व हुन्छ जसले क्यान्सर विकसित गराउँछ । 

 

पेटको समस्यालाई सामान्य नठानाै‌ :

मानसिक तथा शारीरिक कारणले पेटमा विभिन्न रोगहरू लाग्न सक्छन् । ति मध्ये एसिडिटी धेरैलाई देखा परेको छ । यदि खानपान र उपचारमा सचेत नहुने हो भने ग्यास्ट्रिक, अल्सर, ट्युमर, क्यान्सरजस्ता रोगहरू वृद्धि हुँदै जान्छ । बेलैमा सचेत भएमा पेटका रोगबाट बच्न सकिन्छ । त्यसका लागि खानपान र जीवनशैलीमा सन्तुलन कायम राख्नुपर्दछ । पेटको समस्या देखिनासाथ तुरुन्त उपचार गराइहाल्नु पर्दछ । अन्यथा सामान्य दुखाइबाट सुरु भई भित्रभित्रै पेटरोग जटिल भइसकेको हुन सक्छ । अवस्था बिग्रँदै गएमा उपचार नै सम्भव नहुन पनि सक्छ । मानिसहरू पेटसम्बन्धी रोग भन्ने बित्तिकै सामान्य समस्या ठानी उपचारमा अल्छी गर्ने गर्दछन् । तत्कालै ठूलो असर नगर्ने हुनाले हेलचेक्राइँ गर्ने गर्दछन् । यसरी रोग पाल्दै गएमा पछि जटिल अवस्था निम्त्याउनुभन्दा सामान्य अवस्थामै खानपान र जीवनशैली व्यवस्थित बनाउन सके पेटका रोगबाट हदसम्म बच्न सकिन्छ ।

Source: http://www.hamrodoctor.com/news/58d391525e06b


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको