स्वर्गद्वारी दुर्घटनामा घरै रित्तियो
शनिबार, १२ चैत २०७३

स्वर्गद्वारी दुर्घटनामा ज्यान गुमाएका बस्नेत परिवार
तिखिदेवल मन्दिर छेवैको पाँचतले घरवरिपरि शुक्रबार मान्छेको बाक्लो उपस्थिति थियो। त्यहाँ आएका सबै मानिसको अनुहार निन्याउरो थियो। रुवाबासी चलिरहेको थियो। केही परको अर्को घरको अवस्था पनि यस्तै थियो।तिखिदेवल मन्दिरनजिकैको उक्त घरमा बस्थ्यो दिनेश बस्नेतको चारजनाको सुखी परिवार। तर प्युठानमा शुक्रबार भएको स्कोर्पियो जिप दुर्घटनामा दिनेशको परिवारैले ज्यान गुमाएपछि दिनभर तिखिदेवल नै स्तब्ध बन्यो। दुर्घटनामा दिनेश, उनकी पत्नी र दुवै छोरीको मृत्यु भएको छ। यो खबर हामीले आजको अन्नपूर्णबाट लिएका हौ।
मृतक दिनेशको घरनजिकैको घरमा उनका भाइ र आमा बस्छन्। करिब दुई सय मिटर दूरीमा दिनेशको ससुराली छ। दुर्घटनामा दिनेशकी जेठीसासूकी छोरी सृष्टि बरालको पनि निधन भएको छ। ललितपुर धापाखेलका पुराना बासिन्दा बस्नेतको परिवार तिखिदेवलमा बसाइँ सरेको हो। धापाखेलमा अझै पनि ठूलो बस्नेत बस्ती छ। 'सोच्दै नसोचेको घटना भयो। उहाँहरू तिखिदेवलमै बसाइँ सरे पनि हामी सामाजिक कार्यमा नियमितजसो भेटिरहन्थ्यौं', दिनेशका काकाका छोरा धापाखेलका मनोजले भने।
दिनेश अस्ट्रेलियामा इन्टरनेसनल बिजनेस म्यानेजमेन्ट अध्ययन गरी करिब एक दशकअघि फर्किएका थिए। स्थानीय स्तरमा प्रतिष्ठित छवि बनाएका दिनेश तिखिदेवल क्लबका अध्यक्ष र तिखिदेवल पार्टी प्यालेसका सञ्चालक हुन्। धनमाया बराल फाउन्डेसनका अध्यक्ष उनमा सामाजिक काम र धार्मिक कार्यमा विशेष रुचि थियो। 'उहाँ धार्मिक काममा असाध्यै रुचि राख्नुहुन्थ्यो। पूजाआजा, पुराण र तीर्थयात्रामा उहाँसँगै श्रीमती पनि अगाडि सरिहाल्नुहुन्थ्यो', दिनेशका पुरोहित मिलन अधिकारीले भने। 'दिनेश स्वर्गद्वारी जाने कुरामा निकै उत्साही थिए', उनले भने।
दिनेश श्रीमद्भागवत पुराणकै लागि थाइल्यान्डसम्म पुगेका थिए। दिनेशकै पहलमा स्कोर्पियो भाडामा लगिएको थियो। चितवनमा एमबीबीएस अध्ययन गरिरहेकी दिनेशकी जेठी छोरी दीक्षा तेस्रो वर्षको परीक्षा दिएर बिदा मनाउन घर आएकी थिइन्।
स्वर्गद्वारीबाट फर्किंदा छोरीलाई चितवनमा छाड्ने योजना बस्नेत परिवारको थियो। दीक्षा पढाइमा अब्बल थिइन्। जेम्सबाट विशिष्ट श्रेणीमा एसएलसी उत्तीर्ण गरेकी उनले प्रसादी एकेडेमीमा विज्ञानमा प्लस टुतर्फ पनि विशिष्ट श्रेणी ल्याएकी थिइन्। उनले सरकारी कोटामा नाम निकाल्दै एमबीबीएस पढेकी हुन्। दीक्षाकी बहिनी दिया जेम्स स्कुलमै कक्षा चारमा पढ्थिन्। उनी पनि 'फाइनल एक्जाम' दिएर बसेकी थिइन्। 'हामीले समाजका एकजना अगुवा र आदर्श परिवारलाई अनाहकमा गुमाएका छौं', स्थानीय पूर्ण थापाले भने।
To read in your mobile download our android app from google play store. Click Here To Download App
प्रतिक्रिया दिनुहोस्