सत्तामा एउटा जोगी
शनिबार, १२ चैत २०७३
पुष्पकमल दाहालको व्यक्तित्वबाट थिचिएका बेला बाबुराम भट्टराई भन्ने गर्थे, 'म जोगी हुन राजनीतिमा आएको होइन।' र, अन्ततः महत्वाकांक्षाको त्यो अभिव्यक्ति र अन्तर्राष्ट्रिय खेलाडीहरुको सकृयतापछि उनी प्रधानमन्त्री बने। तर, नेपालसँग सीमा जोडिएको भारतीय प्रान्त उत्तर प्रदेशमा जोगी मुख्यमन्त्री बन्न पुगे।
अर्थात् जोगी र राजनीतिक दायित्व निर्वाह विपरार्थी होइनन् भन्ने सन्देश हालै सम्पन्न उत्तर प्रदेश विधानसभाको निर्वाचन, भारतीय जनता पार्टीको पक्षमा दुई तिहाई बहुमत र गोरखनाथ पीठका महन्थ योगी आदित्यनाथको मुख्यमन्त्रीका रुपमा छनोट हुनुले दिएको छ। उत्तर प्रदेशसँगै भारतका अन्य चार राज्यमा भएको निर्वाचनमा पंजावमा कांग्रेस पार्टीले सरकार बनाएको छ भने उत्तर प्रदेशबाट करिब १६ वर्षअघि अलग्गिएर निर्मित उत्तराखण्ड, गोआ र उत्तरपूर्वी राज्य मणिपुरमा पनि भाजपाले सरकार बनाएको छ।
भारतीय जनता पार्टीभन्दा त्यसको भातृ संगठन राष्ट्रिय स्वयं सेवक संघ (आरएसएस)का हिसाबले बढी सन्तोषजनक र अर्थपूर्ण विजय मणिपुरको सावित हुनेछ संभवतः किनकी विगत आधा शताब्दीदेखि आरएसएस त्यहाँ कार्यरत छ, अरु उत्तरपूर्वी राज्यहरुमाजस्तै, 'इशाई' बाहुल राज्यहरुलाई हिन्दु मतमा फर्काउन।
मणिपुरको विजय र भाजपाको सरकार गठनलाई केवल एउटा सानो राज्यका चुनावी विजयका रुपमा हेरिने छैन आगामी दिनमा। त्यो अन्य उत्तरपूर्वी राज्यहरुमा भाजपा प्रवेशद्वार सावित हुन सक्नेछ आउँदा दिनहरुमा। उत्तर पूर्वी राज्यहरुमा केन्द्रसँग बलियो समन्वय र सहकार्य पनि सुनिश्चित गर्नेछ यसले। तर, राज्यको आवादी र राष्ट्रिय राजनीतिमा उत्तर प्रदेशले पार्ने प्रभावका कारण त्यसले भारतीय संचारमाध्यममा ठूलो प्रभाव पारेको छ, मणिपुरको महत्वलाई पूर्णतः ओझेल पारेर।
अनि उत्तर प्रदेशको चुनावी नतिजाले अन्तर्राष्ट्रिय सञ्चार माध्यम र मुलुकभित्र पनि त्यत्रो प्रचार पाउनुमा गोरखनाथ मठका महन्थ, अनि उनको गेरुवस्त्र र पटकपटकका उग्र टिप्पणीहरुबाट प्रतिकृया आकर्षित गर्दै आएका योगी आदित्यनाथ मुख्यमन्त्री नबनेको भए या उनको सट्टा अरु कोही मुख्यमन्त्री बनेको भए यो हल्ला हुने थिएन। जोगी भएरै राज्यको नेतृत्व पाए उनले, भारतमा पहिलोपल्ट।
यो कसरी सम्भव भयो ? भाजपा चुनावी रणनीतिमा संलग्नहरु भन्छन्-पार्टीका राष्ट्रिय अध्यक्ष अमित शाह योगीसँग चुनाव प्रचारकै चरणदेखि प्रभावित हुन पुगेका थिए। उनको 'स्टामिना' र संगठन क्षमताले तत्कालै मुख्यमन्त्रीको संभावित उम्मेदावार बनाएको थियो, शाहको नजरमा। उम्मेदवारको छनोट र प्रचारमा योगीसहित केन्द्रिय राज्यमन्त्री मनोज सिन्हा तथा प्रदेश अध्यक्ष केपी मौर्यलाई जिम्मेवारी दिइएपनि नतिजापछि योगीको छनोट अकारण थिएन।
सरसर्ती हेर्दा, मुख्यमन्त्रीको उनको दाबी अस्विकार भएको खण्डमा अप्रसन्नता सार्वजनिक हुने खतरा थियो उनीबाट। तर, उनले जिम्मेवारी सम्हालेका पूर्वी उत्तर प्रदेश र अन्य क्षेत्रमा पार्टीको विजय अभूतपूर्व थियो। तर, त्योभन्दा महत्वपूर्ण कुरा गोरखपुर मठका दुई पूर्व महन्थहरुको हिन्दुत्व पक्षीय विरासत र राजनीतिलाई निरन्तरता पनि दिएका थिए योगीले।
सन् १९३४ मा मठका महन्थ बनेका दिग्वीजयनाथ त्योभन्दा १४ वर्षअघि नै भारतीय कांग्रेसमा सकृयतासाथ लागेका थिए। सन् १९३७ मा उनी त्योबेलाको 'सेन्ट्रल प्रोभिन्स'का अध्यक्ष बने, हिन्दु महासभाका। हिन्दु महासभा हिन्दुहरुको वर्चस्व र हित स्थापित गर्न र सन् १९०६ मा मुस्लिम लीग बनेपछि त्यसलाई प्रतिवाद गर्न बनेको संगठन थियो।
सन् १९२२ मा अर्थात् अंग्रेज शासनकालमा गोरखपुर नजिक चौरीचौरामा पुलिसथानामा २३ जनाको ज्यान जाने गरी भएको आगलागीका सम्बन्धमा उनलाई छानविन गरिएको थियो, पछि। उक्त घटनाले एकातिर उनी ब्रिटिश राजको निगरानीमा रहे भने अर्कोतर्फ महात्मा गान्धीले त्यसलगत्तै निर्धारित 'असहयोग आन्दोलन' स्थगित गर्ने घोषणा गरे, 'हिंसात्मक' शक्तिको घुसपैठको संभावनालाई देख्दै। सन् १९४८ जनवरीमा गान्धी हत्याका सिलसिलामा पनि उनको छनविन र पछि रिहाई भयो। हिन्दु महसभा भारत विभाजनको विरोधमा त छँदै थियो, ऊ गान्धीलाई 'मुसलमान'हरुको नजिक भएको धारणा राख्थ्यो।
मुख्मन्त्रीको रुपमा उनको छनोटले नेपालमा आमुल परिवर्तनमा सक्रिय भूमिका खेलेको भारतीय प्रशासनको एउटा पक्ष आशंकित छ भने नेपालमा गोरखनाथ मठका प्रमुखका रुपमा उनले केही भूमिका खेल्ने आश राख्नेहरु पनि त्यत्तिकै छन्।
तर, गान्धिको विरोधभन्दा दिग्वीजयनाथको ४०वर्षअघिको एउटा अर्को कदम या अभियान भारतीय जनता पार्टीको मुख्य राजनीतिक एजेण्डा बन्न पुग्यो, जसका कारण भारतीय राष्ट्रिय राजनीति मूलतः दुई खेमामा विभक्त हुन पुग्यो। धर्मनिरपेक्ष र हिन्दुत्व पक्षीय गठबन्धन। सन् १९४९ मा नाथले त्यसबेला ४२१ वर्ष पुरानो वावरी मस्जिद नै रामजन्म भूमिस्थल भएको भन्दै त्यसमा 'राम र सीता'को मूर्ति राख्दै त्यहाँ राममन्दिर निर्माण हुनुपर्ने दावी गरेका थिए। त्यसैबेलादेखि वावरी मस्जिद रामजन्म भूमि लामो अदालती विवादको केन्द्रमा रहँदै आएको छ।
सन् १९८९ मा भारतीय जनता पार्टीको केन्द्रिय समितिले त्यहीस्थलमा भव्य राम मन्दिर बनाउने निर्णय गरेपछि त्यसको पक्षमा जनमत जुटाउन भाजपाका वरिष्ठ नेता लालकृष्णा आडवानीले सम्पूर्ण भारतमा 'रथयात्रा' निकालेका थिए, गिरफ्तारी र लामो मुद्दा खेप्दै। सन् १९९२ डिसेम्बर ६ मा विवादति वावरी मस्जिद ढालिएपछि ध्रुवीकृत राजनीति पछि सम्पन्न पहिलो आम निर्वाचन (१९९६) मा भाजपा बहुमत बिनाको सबभन्दा ठूलो दल बनेको थियो लोकसभामा।
१३ दिन प्रधानमन्त्री पद सम्हालेका अटल विहारी बाजपेयीले संसदमा बहुमत जुटाउन नसकेपछि राजिनामा गरे पनि दुई वर्षपछिको मध्यावधी निर्वाचन सामान्य बहुमतका साथ १३ महिना शासन गर्न सफल भयो। सन् १९९९ को मध्यावधीमा पूर्ण बहुमतसाथ भाजपाले ५ वर्ष शासन गर्यो। भाजपाको यो विजयको महत्वपूर्ण जगका रुपमा राम जन्मभूमि मुद्दा थियो।
गोरखपुर मठका महन्तकै रुपमा दिग्वीजयनाथले सन् १९६७ मा पहिलोपल्ट लोकसभा निर्वाचन जिते, र उनका उत्तराधिकारी र आदित्यनाथका गुरु महन्त अवैद्यनाथले मठको नेतृत्व र राजनीतिको त्यो परम्परालाई कायम राखे। सन् १९९४ मा आदित्यनाथले मठको नेतृत्व र त्यसको राजनीतिको त्यो परम्परालाई कायम राखे।
सन् १९९४ मा आदित्यनाथले मठको नेतृत्व र त्यसको राजनीतिक विरासत सम्हाले र चार वर्षपछि लोसभामा प्रवेश गरे पहिलोपल्ट, २६ वर्षको उमेरमा। सन् २०१४ को मोदी लहरमा उनी पाँचौंपटक सांसद चुनिए। महन्थ अवैद्यनाथ पनि पाँचपल्ट लोकसभामा निर्वाचित भएका थिए र अन्तिम दुई अवधि अर्थात् सन् १९९२ र १९९६ मा भाजपाले उनको गुरु दिग्वीजयनाथले उठाएको राम जन्मभूमिलाई मुख्य चुनावी मुद्दा बनाएपछि उक्त पार्टीको तर्फबाट विजयी भएका थिए।
गोरखनाथ मठका महन्तहरु त्यस अर्थमा शंकराचार्य र अरु मठका प्रमुखभन्दा फरक निस्किए, चुनावी राजनीतिमा प्रवेश गरेर। योगी आदित्यनाथ आरएसएससँ नजोडिए पनि सुरु देखि नै भाजपा सांसद रही आएका छन्। र, मुख्यमन्त्रीका रुपमा उनको छनोटलाई भारतीय जनता पार्टीको राजनीतिको एउटा अर्को प्रयोगका रुपमा पनि हेरिएको छ। अर्थात् गेरुवस्त्रका मोदीको उत्तर प्रदेश प्रयोग मानिएको छ यसलाई।
मोदी गुजरातमा मुख्यमन्त्रीका रुपमा गएपछि सन् २००२ मा भएको गोदरा काण्डले सामुदायिक रुप लिएपछि तत्कालिन प्रधानमन्त्री तथा पार्टी नेता अटल विहारी वाजपेयीले मोदीको आलोचना गरेका थिए, यद्यपि मोदीलाई समर्थन गर्नेहरु धेरै भएकोले उनले राजिनामा दिएनन्। अयोध्यबाट फर्केका ५० भन्दा बढी 'करसेवक' (धर्मालम्बी) हरुको हत्या भएपछिको प्रतिकृयामा झण्डै १००० व्यक्तिको ज्यान गएको थियो गुजरातमा जसमा करिब ७५० मुस्लिम र बाँकी हिन्दु थिए।
यसलगत्तै मोदीले 'विकास'लाई मुख्य एजेण्डा बनाई आफ्नो अर्को छवि बनाउने सफल प्रयास गरे। भारतका एक कुटनीतिज्ञका अनुसार, अमेरिकाले मोदीलाई गोदरा दंगा पछि भीसा नदिए पनि अन्तर्राष्ट्रिय लगानीकर्ताहरुले मोदीको विकास प्रेमी छविलाई स्विकारे। 'प्रायः सबै अन्तर्राष्ट्रिय लगानीकर्ता र संसदीय तथा उच्चस्तरीय अधिकारीहरुको टोली गुजरातलाई पूँजी निवेशको सफल प्रयोगस्थल मान्दै त्यहाँ भ्रमणमा जाने गर्थ्यो।'
अदित्यनाथलाई उनको 'हिन्दुत्ववादी' विरासतसँगै 'मोदी मोडेल' प्रयोगको जिम्मा दिइएको जानकार भाजपा नेताहरु दावी गर्छन्।योगी पटकपटक तर भाजपाको नीतिअनुसार 'अल्पसंख्य' तुस्टीकरणविरुद्ध बोल्दै आएकोले विवादास्पद मानिन्छन्। त्यस्तै नेपालमा धर्मनिरपेक्षता र गणतन्त्र अनउनुमा पश्चिमी दाता र धर्म परिवर्तन सन्जाललाई दोष दिँदै नेपाल पुनः हिन्दु अधिराज्य हुनुपर्ने माग सार्वजकि रुपमा उठाउँदै आएका छन्।
गुरु गोरखनाथ नेपाल र शहवंशीय राजाहरुको इष्टदेवका रुपमा पूज्य छन्, र गोरखनाथ मठले त्यो विश्वास परम्परा र मान्यतामा आधरित सम्बन्ध राख्दै आएको छ गणतन्त्र घोषित भएपछि पनि नेपालमा। मुख्यमन्त्रीका रुपमा उनको छनोटले नेपालमा आमुल परिवर्तनमा सकृय भूमिका खेलेको भारतीय राजनीतिक र प्रशासनको एउटा पक्ष आशंकित छ भने नेपालमा गोरखनाथ मठका प्रमुखका रुपमा उनले केही भूमिका खेल्ने आस राख्नेहरु पनि त्यत्तिकै छन्।
इतिहास र परम्परासँग जोडिँदै भारतीय राजनीतिमा उनी स्वयं र दुई पूर्व महन्तहरुको राजनीतिकको निरन्तर र चुनावी सफलताका कारण योगीले वर्तमान उपलब्धी हासिल गरेपनि भारतको नेपाल नीतिलाई उनले कसरी प्रभावित पार्लान्, त्यो मुख्यसचिवका रुपमा उनको सफलताले निर्धारित गर्नेछ।
नेपालसँगको आत्मीयता
उत्तर प्रदेशमा आदित्यनाथ योगीको नियुक्तिलाई लिएर नेपाल र उतापट्टि जति विवाद चलेपनि योगी महन्थ रहेको गोरखनाथ पीठको नेपालसँग प्रगाढ आध्यात्मिक, धार्मिक र सांस्कृतिक सम्बन्ध रहीआएको छ। शिवका अवतार मानिने गोरखनाथ नेपाल र यहाँका मल्ल तथा शाहवंशीय राजाहरूको इष्टदेव रहीआएका छन् र राजसंस्था र आम श्रद्धालुहरू गोरखनाथ पीठ (गोरखपुर)लाई आफ्नो श्रद्धाकेन्द्रका रुपमा लिने गर्छन्।
नाथ परम्परामा आधारित मान्यताअनुसार, गुरु गोरखनाथ वि.सं. ५२२ का आसपास नेपाल आई तपस्यामा लिन भएर आफ्नो दैवी शक्ति प्रयोग गरी मुलुकलाई खडेरी र अकालबाट मुक्त गराएपछि राजा नरेन्द्रदेवले उनलाई ३ चौथाई भू-भागको स्वामित्व बुझाएका थिए। गोरखनाथले ७ वर्षका पृथ्वीनारायण शाहलाई 'तिमीले टेकेको भू-भाग तिम्रो हुनेछ' भनी आशिर्वाद दिएको र त्यो फलीफाप भएपछि शाहले उनीसँग अघोर दीक्षा लिएको मान्यता छ। 'गुरुको सम्मानमा पृथ्वीनारायण शाहले रचेको भजन हामी गाउँछौं', मृगस्थली स्थित गोरखनाथ मन्दिरका पुजारी देवनाथले भने।
गोरखनाथ देखापरी भिक्षाटनबाट प्राप्त सामग्रीहहरूबाट पकाइएको खिचडी खाएको ठाउँमा गोरखनाथ मठ (गोरखपुर) निर्माण भएको मान्यता छ। त्यसैदिन अर्थात् माघे संक्रान्तिमा खिचडी खाने परम्परा अहिले पनि जारी रहेको र तयस अवसरमा नेपालको राजदरबारबाट त्यसका लागि सामाग्रीसहित कुनै प्रतिनिधि उपस्थित हुने चलन अद्यवाधि छ।
नेपालमा राजतन्त्रको उन्मुलनपछि पनि पीठका महन्थका हैसियतले ज्ञानेन्द्र शालाई निरन्तर 'राजकीय सम्मान' दिँदै आएका मात्र होइन, 'धर्मनिरपेक्षता र गणतन्त्र' पश्चिमी दाता धर्म परिवर्तनकारी शक्ति र उनीहरूद्वारा परिचिालित नेपाली राजनीतिज्ञहरूले भित्र्याएको आरोप लगाउँदै मुलुक पुनः 'हिन्दु अधिराज्य' बन्ने दावी गरेका छन्।
- अन्नपूर्ण पोस्ट्बाट
To read in your mobile download our android app from google play store. Click Here To Download App
प्रतिक्रिया दिनुहोस्