महिला सशक्तीकरणको पक्षमा 'अकिरा'

मङ्गलबार, २२ साउन २०७०

बलात्कार, एसिड प्रहार र अन्य दुव्र्यहार भारतीय समाजमा धेरै नै देखिन्छ । उसो त पूरा दक्षिण एसिया नै यो समस्याबाट ग्रस्त छ । आफूमाथिको पुरुषको आक्रमण प्रतिकार गर्न अक्षम भएकाले महिला हिंसा बढेको विभिन्न अध्ययनको निष्कर्ष छ । यही वास्तविकतालाई निर्देशक एआर मुरुगदासले अकिरामा जीवन्त शैलीमा उनेका छन् । तर, फिल्मकी मुख्य पात्र अकिरा आमयुवतीझैँ अन्याय सहन्नन् ।

कम्तीमा आत्मरक्षा गर्न सक्षम छिन् । सन् २०११ मा रिलिज तामिल फिल्म मौना गुरुको रिमेक हो यो । 
जोधपुरकी अकिरा (सोनाक्षी) थप अध्ययनका लागि मुम्बई आउँछिन् । तीन वर्ष जेलमा बिताएकी अकिरालाई पढ्न हतारो छ । तर, कलेजमा उनलाई एउटा ग्याङले दु:ख दिन थाल्छ । झगडा गर्ने मनसाय नहुँदा नहुँदै आत्मरक्षाका लागि भिड्नुको विकल्प हुँदैन । त्यही क्रममा उनीमाथि हत्याको झूटो आरोप लाग्छ र भ्रष्ट प्रहरी अधिकृत गोविन्द (अनुराग कश्यप)को फन्दामा पर्छिन् । त्यसपछि आफूलाई निर्दोष साबित गर्न अकिराले गर्ने संघर्ष वरिपरि फिल्म घुमेको छ । क्लाइमेक्स फिल्मी हैन, बरू जीवनलाई जोडेको छ । 

गजनीमा आमिर खान र होलिडेमा अक्षयकुमारलाई दबंग भूमिकामा उतारेका मुरुगदासले यसपटक नारी पात्रलाई मुख्य भूमिकामा प्रस्तुत गरेका छन् । यसको अर्थ अकिरामा सोनाक्षीको मारधाड मात्र छ भन्ने होइन । नारी शक्तिसँगै सहनशीलतालाई पनि निर्देशकले बेवास्ता गरेका छैनन् । खासमा एउटा निर्दोष मान्छे कसरी अनाहकमै एकपछि अर्को समस्यामा फस्छ र जीवन धुमिलिन्छ भन्ने फेहरिस्त हो अकिरा । 

कथाको गहनतालाई ध्यान दिँदै निर्देशकले मसलाको ह्याङबाट फिल्म जोगाएका छन् । तर, प्रचार गरिए अनुरूप यो एक्सन फिल्म होइन । सुरुआतमा केही एक्सन भए पनि मध्यान्तरपछि भावुक र संवेदनशील दृश्यको बाहुल्य छ । पागलखानामा अकिरालाई दिइएको यातना र उनी भागेको दृश्य पत्यार लाग्दैन । त्यस्तै, मध्यान्तरपछि फिल्मले पटक–पटक ‘ट्रयाक’ छोडेको छ । अकिरालाई सहायक बनाएर प्रहरीको खिचातानी र झैझगडामा अल्झिन्छ । यी दृश्यमा कैँची चलाएको भए फिल्म अझ चुस्त हुन्थ्यो । बरू, अकिरा र सिद्धार्थ (अमित साध)को अफेयर दर्शकले अपेक्षा गरे अनुरूप भावनात्मक र गहिरो देखाउन निर्देशक चुकेका छन् । जेल, पागलखाना, होस्टेलका दृश्य ‘ब्ल्याक सेट’मा खिचिएको छ । चहकिला दृश्य करिब छैनन् । 

प्राय: सो–अप भूमिकामा सीमित सोनाक्षीले यसपटक अब्बल अभिनय गरेकी छन् । पूरा फिल्म नै उनको काँधमा अडेको छ । र, यो चुनौतीको सफल अवतरण गराउन धेरै हदसम्म उनी सफल छिन् । बलिउडमा नारीप्रधान फिल्मको खडेरी लागेका बेला अकिराले सान्त्वना दिन्छ । भ्रष्ट प्रहरीको चरित्रमा अनुरागले आफूलाई हुबहु ढालेका छन् । फरक शैलीका फिल्म बनाएर चर्चा बटुल्ने अनुरागको अभिनय क्षमताको नयाँ पाटो उघारिएको छ । कोन्कोना शर्मा फिल्मकी ‘सरप्राइज एक्टर’ हुन् । गर्भवती अनुसन्धान अधिकृतको भूमिकामा दर्शकको मन जितेकी छन् । उनको चरित्र हलिउड थ्रिलर फार्गोकी फ्रान्सिस म्याकडोमन्डबाट प्रभावित छ ।

अर्थपूर्ण फिल्मका पारखी र सोनाक्षीका फ्यानलाई अकिराले निराश पार्दैन । किनभने, हलबाट निस्किएपछि पनि अकिराको निर्दोषपना दिमागमा घुमिरहन्छ । तर, चटपटे र फर्मुला फिल्ममा रस पसेकालाई अकिरा पट्यारिलो लाग्न सक्छ । 


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको