गर्भपतन गराउने बढे
बुधबार, १६ चैत २०७३

सहरी क्षेत्रका किशोरीमा गर्भपतन गर्ने प्रवृत्ति बढदै गएको पाइएको छ । काठमाडौंका सरकारी अस्पताल र गर्भपतनको सेवा दिने स्वास्थ्य संस्थाको तथ्यांकले गर्भपतन गराउने किशोरीहरू बढिरहेको देखिन्छ ।
जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौंको तथ्यांकअनुसार आव ०७२/७३ मा १६ हजार महिलाले गर्भपतन गराए । जसमा, ४ हजार ५ सय ४५ जना २० वर्षमुनिका थिए । एकै वर्षमा यति धेरै किशोरीले गर्भपतन गराएको तथ्याकंले समाजको डरलाग्दो चित्रण गरेको जनस्वास्थ्य कार्यालयका प्रमुख महेन्द्र श्रेष्ठ बताउँछन् । जनस्वास्थ्य कार्यालयका सूचना अधिकृत पुष्कर बिजुक्छेका अनुसार गर्भपतन गराउने किशोरी अघिल्लो आवभन्दा ५ प्रतिशतले बढेका छन् । ‘यसलाई सामान्य ढंगले लिनुहुँदैन, किशोरीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पर्छ,’ उनले भने ।
बिजुक्छेका अनुसार आव ०७२/७३ मा काठमाडौंका निजी र सरकारी अस्पतालबाट ४३ हजार ८२ महिलाले गर्भ परीक्षण गराएका थिए, जसमध्ये २९ हजार जना मात्रै नियमित स्वास्थ्य उपचारका लागि अस्पताल आएको तथ्यांक छ । नियमित परीक्षणमा आउने २० वर्षमुनिका किशोरी १३ प्रतिशत थिए । २० वर्षमाथिका ३८ प्रतिशत महिला सुत्केरी भएको जनस्वास्थ्यको तथ्यांकमा छ ।
जनस्वास्थ्य प्रमुख श्रेष्ठका अनुसार ६६ प्रतिशतले गर्भपतन गराएको देखियो । ‘३३ प्रतिशतले मात्रै सुरक्षित बच्चा जन्माएको देखियो,’ उनले भने, ‘अझ निजी अस्पतालबाट असुरक्षित गर्भपतन गराएको त तथ्यांक पाउनै सकिँदैन, अवैधानिक ढंगले गर्छन् ।’
स्त्रीरोग विशेषज्ञ डा. विमला मल्लका अनुसार अहिलेका पुस्ताका केटाकेटी सँगै बस्नु र शारीरिक सम्बन्ध राख्नुलाई सामान्य मान्छन् । यौनशिक्षाको कमीले गर्दा किशोरीहरू असुरक्षित गर्भपतनको परिणाम भोगिरहेको उनले बताइन् । ‘लिभिङ टुगेदर’ जस्ता विदेशी संस्कार भित्रिएकाले पनि असुरक्षित यौनसम्पर्क र गर्भपतनको दर बढाएको तर्क डा. मल्लको छ । कतिपय किशोरीले आफैं मेडिकलबाट औषधि किनेर खाने र गर्भपतन गराउने भएकाले वास्तविक दर योभन्दा बढी हुन सक्ने प्रमुख श्रेष्ठको अनुमान छ । गर्भपतन गर्ने किशोरीको संख्या कम गर्न उपत्यकाभित्र स्वास्थ्य प्रवद्र्धन केन्द्र स्थापना हुन लागेको श्रेष्ठले बताए ।
- कान्तिपुरदैनिक बाट
To read in your mobile download our android app from google play store. Click Here To Download App
प्रतिक्रिया दिनुहोस्