केन्द्रीय परिषद् बैठकमा बाबुराम भट्टराईले भने- भारतको विरोध गर्नेहरु पार्टी छाडेर गए हुन्छ
बुधबार, १६ चैत २०७३

काठमाडौं, नयाँ शक्ति नेपाल पार्टीका संयोजक डा. बाबुराम भट्टराईले भारतको विरोध गरेर राष्ट्रवादी देखिन खोज्ने नेता कार्यकर्तालाई पार्टी छोड्न सुझाव दिएका छन् ।
मंगलबारदेखि जारी पार्टीको केन्द्रीय परिषद् बैठकमा बाबुरामले आफूसँग फरक विचार राख्ने नेतातर्फ लक्षित गर्दै भारतको विरोध गर्नेहरुलाई पार्टी छाड्न सुझाव दिएका हुन् ।
बैठकमा नेता देव लिम्बूले फरक मत दर्ता गराएका थिए । तर, यसलाई बाबुरामले पार्टी अनुशासन विपरित भएको ठहर गरेका छन् ।
उनले देशमा अनुशासनहिनता छाएको भन्दै आफ्नो पार्टीभित्र पनि अनुशासन नभएको बताए । फरक मत राख्ने लिम्बू पक्षलाई संकेत गर्दै उनले अनुशासनहिनहरुलाई छुट नदिइने चेतावनी समेत दिए । आफूविरुद्ध फरक मत आएपछि बाबुरामले भने– ‘मेरो विरोध गर्न हैसियत चाहिन्छ । हैसियत नै नभएकाहरुले मात्र मेरो विरोध गरिरहेका छन् ।’
लिम्बूको प्रस्तावतर्फ संकेत गर्दै उनले अगाडि भने– ‘कतैबाट परिचालित र मेरो विरोध गर्नकै लागि ल्याइएको प्रस्तावमा छलफल हुन सक्दैन । नयाँ शक्ति भत्काउनका लागि प्रायोजित फरक मत राख्न पाइँदैन । भारतको विरोध गरेर राष्ट्रवादी देखिन खोज्नेहरुलाई पार्टी छाड्न ढोका खुला छ । गए हुन्छ ।’
लिम्बूले बाबुरामको नेतृत्वमा पार्टीले जातिवादी, साम्प्रदायिक र भारतपरस्त विचार बोकेको भन्दै प्रस्ताव दर्ता गरेका थिए । वैठकको अघिल्लो दिन सोमबार बाबुरामले देव लिम्बू समर्थक निर्मल भट्टराई, चन्द्रदेव ओझा, मोहन बम, हरिराम रिमाल लगायतलाई पार्टीबाट निष्काशित गरेका थिए । त्यसैगरी जिल्लाजिल्लामा लिम्बू समर्थक कार्यकर्तालाई बाबुराम पक्षले स्पष्टिकरण सोध्ने, पार्टीबाट निष्काशित गर्ने काम गरिरहेको छ ।
To read in your mobile download our android app from google play store. Click Here To Download App
प्रतिक्रिया दिनुहोस्