एकसाताभित्रै भक्तपुरमा साझा यातायातका बस गुड्ने, यस्तो छ रुट

बुधबार, १६ चैत २०७३


काठमाडौं, पछिल्लो समय गुणस्तरिया सेवासुविधा दिएर यात्रुहरुको मन जित्न सफल साझा यातायातले अबको एक हप्ता भित्र भक्तपुरमा पनि आफ्नो सेवा विस्तार कार्य अन्तिम चरणमा पुगेको छ ।   हाल काठमाडौं र ललितपुरमा संचालनमा रहेको साझाले आफ्नो सेवा उपत्यकाका तिनै जिल्लामा विस्तार गर्न लागेको हो ।

 

जसको लागि रुट इजाजत अनुमति पाउने काम अन्तिम चरणमा पुगेको साझाले जनाएको छ । यातायात व्यवस्था विभागका अनुसार साझाको भक्तपुरमा बस गुडाउनको लागि रुट इजाजपत्रको काम अन्तिम चरणमा पुगेको जनाएको छ ।  सम्भवतः चैत्रको तेस्रोसाता भित्र साझाले इजाजपत्र पाइसक्ने विभागले जनाएको छ ।

 

स्वच्छ प्रतिस्पर्धाबाट कानुनी हिसावले आएमा रुट इजाजत दिने व्यवस्था भएकाले साझालार्इ रुट दिने तयारी अन्तिम चरणमा रहेको यातायातले बताएको हो । साझा कानुनी र स्वस्थ प्रतिस्पर्धामा आएकाले स्थलगत अध्ययन र परिक्षण पछि रुट इजाजत दिन लागिएको विभागले जनाएको छ ।

 

साझाले सबै कानुनी प्रक्रिया पूरा गरेर गएकाले रुट इजाजत दिन विभाग तयार भएको हो । साझा भक्तपुरका यात्रुका लागि सेवा दिन तयार रहेको र रुट इजाजत पाउने वित्तिकै सञ्चालन गर्ने साझाले जनाएको छ ।

 

भक्तपुरका दुइवटा रुटमा बस संचालनको लागि यातायात कार्यालयसँग फागुन ३० गते रुट माग गरी आवेदन दिएको थियो । यातायातले सुरक्षाको कारणले गर्दा रुट इजाजत दिन केही ढिला भएपनि सुरक्षाको प्रत्याभूति भएपछि सेवाा सुरु गर्न लागिएको बताएको छ ।

 

यस्तो छ भक्तपुरमा साझा गुड्ने रुट :

साझाले भक्तपुरका दुइवटा रुटमा गरी २० वटा बस सञ्चालन गर्ने र १० ओटा तत्कालै थपिने जनाएको छ । जस अनुसार दशवटा बस काठमाडौंको कलङ्की-कालीमाटी-त्रिपुरेश्वर-सुन्धारा रत्नपार्क-पुतलीसडक-सिहदरबार -माइतीघर -बबरमहल -नयाँ बानेश्वर-मिनभवन हुँदै भक्तपुर तिर जानेछन् ।

 

यस्तै दशवटा बसहरु जडिबुटीको बाटो भएर पुरानो ठिमी हुदै कमलविनायकको बाटो फर्कने छन् । अरु दशवटा बस भने जडिबुटीबाट नयाँबाटो कमलविनायक हुँदै पुरानो बाटोबाट रत्नपार्क फर्कने छन् ।

 

साझा यसकारण यात्रुको रोजाइमा :

साझाका बसहरु उपत्यकाका सबै रुटमा सञ्चालन हुनुपर्ने माग जताततै बढ्न थालेको छ। यात्रुमैत्री ठूला बसहरुबाट सेवा दिइरहेको साझाले ३ सय ६५ दिन नै सेवा दिन थालेपछि सबैतिर माग बढ्न थालेको छ । साझाले बन्द,हडताल जस्ता दिनहरुमा समेत आफ्नो सेवा दिने गरेकाले यात्रुहरुले साझाको सेवा रुचाएका हुन्।

 

विहान ६:३० बजेदेखि बेलुका ८ बजे सम्म ननस्टप चल्ने भएकाले पनि साझाको माग बढ्दै गएको हो । अरु गाडीहरु मन लाग्दा चलाउने,गन्तव्य सम्म नपुर्याइ यात्रुलाइ छोड्ने जस्ता कारणले पनि यसको माग बढ्दै गएको छ ।  पछिल्लो समय रातको समयमा समेत बसहरु सञ्चालनमा आएपछि साझा अझ लोकप्रिय भएको छ ।

 

व्यवसायीको दादागिरी कायमै,एकाधिकार खोसिने डरले विरोध :

व्यवसायीहरुले भक्तपुरमा आफ्नो एकाधिकार तोडिने भन्दै विरोध जनाउँदै आएका छन्।साझा बस गत दशै अगावै चल्ने हल्ला चलेपछि भक्तपुर मिनिबस सेवा समितिले साझालार्इ भक्तपुरमा छिर्न नदिने निर्णय गरेका थिए ।

 

गत फागुनमा साझा यातायातले रुट इजाजतका लागि लिखित रुपमा यातायात व्यवस्था विभागमा आवेदन दिएको थियो । यस लगत्तै भक्तपुरका बस व्यवसायीले इजाजत रोक्न दबाब दिँदै आएका छन् । पछिल्लो समय भक्तपुरमा पनि साझाका बसहरु चल्नुपर्ने भक्तपुरका यात्रुहरुले माग गर्दै आएपनि ब्यवसायीहरुले भने एकाधिकार खोसिने डरले विरोध गर्दै आइरहेका छन्।


 


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको