नयाँ शक्तिले आइतबारदेखि निर्वाचन आयोगमा धर्ना दिने
शनिबार, १९ चैत २०७३

काठमाडौं । नयाँ शक्ति पार्टी, नेपालले नयाँ दललाई दलीय चुनाव चिन्हबाट वञ्चित गर्ने गरी जारी भएको स्थानीय तह निर्वाचन ऐन २०७३ संशोधनका लागि दवाव दिन आइतबारदेखि देशैभरका सबै निर्वाचन आयोग र निर्वाचन कार्यालयहरुमा धर्ना दिने भएको छ ।
नयाँ शक्तिले यसअघि नै बिहीबार प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएर ऐन संशोधनका लागि ४८ घण्टाको समयसीमा दिएको थियो ।
शनिबारसम्मको समयसीमा दिएर नयाँ शक्तिले ऐन संशोधन नभए आइतबारदेखि आन्दोलन सुरु गर्ने घोषणा यसअघि नै भएको थियो । सोही अनुसार नयाँ शक्तिले आइतबार र सोमबार निर्वाचन आयोग र सम्पूर्ण निर्वाचन कार्यालयहरुमा धर्ना दिन लागेको हो ।
निर्वाचन आयोगले तयार पारेको विधेयकमा उपदफा थपेर केही पार्टीहरुले षड्यन्त्र र बेइमानी गरेको भन्दै ऐन संशोधनका लागि संघर्ष गर्न बाध्य भएको नयाँ शक्तिले यसअघि नै पार्टीको धारणा सार्वजनिक गरेको छ ।
चैत १५ र १६ मा बसेको नयाँ शक्ति पार्टीको संघीय परिषद्को बैठकले दलकै चुनाव चिन्हबाटै चुनावमा भाग लिन पाउने गरी ऐन संशोधन नभएसम्म संघर्ष गर्ने निर्णय गरेको छ ।
ऐन संशोधन लगायत निर्वाचनको वातावरणका लागि विभिन्न ६ वटा पूवशर्त राख्दै संघर्ष र निर्वाचनमा सहभागिताको नीति संघीय परिषद्को बैठकले लिएको छ । स्थानीय तह निर्वाचन ऐन संशोधनबाहेक निर्वाचनको वातावरण बनाउनका लागि नयाँ शक्तिका ६ शर्तहरु निम्नानुसार छन् ।
१. संविधान संशोधन मार्फत थारु, मधेशी, आदिवासी जनजातिका मागको सम्बोधन,
२. विशेष, संरक्षित र स्वायत्त क्षेत्र सहितको राज्यको अग्रगामी पुन:संरचना,
३. प्रभावकारी र निष्पक्ष निर्वाचका लागि सबै राजनीतिक दल र शक्तिहरुको प्रतिनिधित्व रहेको सर्वपक्षीय सरकार,
४. स्वच्छ र प्रभावकारी निर्वाचनकालागि निर्वाचन खर्च राज्यले नै व्यहोर्ने विधिको विकास,
५. केन्द्र–प्रदेश–स्थानीय तहको अन्तरसम्बन्ध, निर्वाचन खर्च र समय सीमालाई विचार गरेर एकैपटक तीनवटै निर्वाचन,
६. स्थायीत्व, विकास र समृद्धिकालागि संसदीय व्यवस्थाको विकल्पमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख र पूर्ण समानुपातिक समावेशी व्यवस्थापिका
To read in your mobile download our android app from google play store. Click Here To Download App
प्रतिक्रिया दिनुहोस्