आज दिनभरका खबर एकै ठाउँमा पढ्नुहोस्
शनिबार, १९ चैत २०७३

स्वास्थ्यन्युज
चैत - १९
शनिबार साँझ काठमाडौं सहित देशका धेरै ठाउँमा हावाहुरी सहित पानी पर्यो । हावाहुरी र वर्षाका कारण केहीबेर हवाई उडान समेत प्रभावित भयो । आज दिनभरका अरु मुख्य खबर पढ्नुहोस् ।
आइतबार मतदानस्थल र मतदाता नामावली टुंगो लाग्ने
निर्वाचन आयोगले दुई नम्बर प्रदेशका ६ जिल्लामा पुरानै मतदान केन्द्र निर्धारण गर्ने भएको छ । अहिलेसम्म पनि ती जिल्लाबाट मतदान केन्द्र सिफारिस नभएकाले आयोग पुरानै केन्द्र निर्धारण गर्ने तयारीमा जुटेको हो ।
भोलि बिहानसम्म पर्खने र सिफारिस नआएमा भोलि बेलुका सबै जिल्लाको मतदान केन्द्र टुंगो लगाउने आयोग स्रोतले जनाएको छ । अरु जिल्लाबाट आएका सिफारिसलाई मिलाउने क्रम अन्तिम चरणमा पुगेको र बाँकी ६ जिल्लालाई पनि मिलाएर भोलि मतदान केन्द्र र मतदाता नामावली एकैपटक टुंगो लगाउने आयोगको तयारी छ ।
वैद्य माओवादीले चुनावमा भाग लिने
मोहन वैद्य निकट नेपाल कम्युनिस्ट पार्टी क्रान्तिकारी माओवादीले स्थानिय तहको चुनावमा भाग लिने भएको छ । क्रान्तिकारी माओवादीको केन्द्रीय समितिको विस्तारित बैठकले नागरिकको ठुलो हिस्सा चुनावको लागि तयार भएकोले मोर्चाबन्दी गरेर चुनाव लड्न सकिने निष्कर्ष निकालेको हो ।
म्यादी प्रहरी छनोटमा सहभागी तीन जनाको ज्यान गयो
म्यादी प्रहरीमा भर्ना हुन छनोटमा सहभागी तीन जनाको ज्यान गएको छ । छनौटका क्रममा बाँके, विराटनगर र खोटाङमा तीन जनाको ज्यान गएको हो ।
हावाहुरी सहित बर्षा
काठमाडौंसहित देशका पश्चिमी क्षेत्रमा हावाहुरीसहित बर्षा भएको छ । स्थानिय र पश्चिमी वायुका कारण पश्चिममा बैतडीदेखि पूर्वमा दोलखासम्म हावाहुरीसहित बर्षा भएको र पश्चिमका केही स्थानमा असिनापानी परेको जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।
काठमाण्डू उपत्यकामा चलेको हावाहुरीका कारण केहिबेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान र अवतरण हुन सकेको थिएन । पश्चिम र मध्यक्षेत्रमा सक्रिय रहने वायु पुर्वतिर गैरहेकोले राती पुर्वका केही स्थानमा भारी बर्षा हुन सक्ने मौसमविद् समिर श्रेष्ठले उज्यालोलाई जानकारी दिनुभयो ।
५८ प्रतिशत गर्भपतन असुरक्षित रुपमा
नेपालमा ५८ प्रतिशत गर्भपतन असुरक्षित रुपमा हुने गरेको पाइएको छ । वातावरण स्वास्थ्य र जनसंख्या कार्यक्रम अनुसन्धान केन्द्र कृपाले गरेको पछिल्लो अध्ययन प्रतिवेदनका अनुसार नेपालमा हुने गरेको गर्भपतन मध्ये ५८ प्रतिशत असुरक्षित रुपमा हुने गरेको पाइएको हो ।
४२ प्रतिशतले मात्रै सरकारले मान्यता दिएको स्वास्थ्य संस्थाबाट सुरक्षित रुपमा गर्भपतन गर्ने गरेको अनुसन्धानकर्ता डाक्टर महेश पुरीले जानकारी दिनुभयो ।
आजदेखि युरो फोर मापदण्डको मात्र डिजेल र पेट्रोल आयात
नेपालमा शनिबारदेखि युरो फोर मापदण्डको डिजेल र पेट्रोल मात्र आयात हुने भएको छ । झण्डै एक महिनादेखि थोरै परिमाणमा यो गुणस्तरको इन्धन आयात भइरहे पनि शनिबारदेखि भारतबाट युरो फोर मापदण्डको मात्र इन्धन लोड हुने आयल निगमका प्रवक्ता सिताराम पोखरेलले जानकारी दिनुभयो ।
कोरियन भाषा परीक्षाका लागि अहिलेसम्मकै धेरै आवेदन
आउँदो जेठ अन्तिममा हुने आठौं कोरियन भाषा परीक्षाका लागि अहिलेसम्मकै धेरै आवेदन परेको छ । भाषा परीक्षाका लागि ७५ हजार ६ सय ७ जनाले आवेदन दिएका इपिएस कोरिया शाखाका निर्देशक बाबुराम खतिवडाले जानकारी दिनुभयो ।
यस वर्षदेखि अनलाइनबाटै आवेदन दिने व्यवस्था मिलाइएको थियो । जेठ २७ र २८ गते हुने परीक्षाका लागि परीक्षार्र्थीलाई प्रवेश पत्र समेत इमेलमार्फत नै पठाइने छ । भाषा परीक्षाका लागि आवेदन दिँदा विवरण गल्ती भएको भए सच्याउन पाइने छ ।
आर्मी माइभ्याली गोल्डकप फुटवलको सेमिफाइनलमा
त्रिभुवन आर्मी क्लब इलाममा चलिरहेको तेश्रो माइभ्याल्ली गोल्डकप फुटवलको सेमिफाइनलमा पुगेको छ । भारत सिलिगुडीको कन्चनजंगा फुटवल क्लवलाई २–१ हराउँदै आर्मी अन्तिम चारमा पुगेको हो ।
To read in your mobile download our android app from google play store. Click Here To Download App
प्रतिक्रिया दिनुहोस्