राजधानीमै ६ जनालाई देखियो चिकनगुनिया, पाँचजनाको ‘केस’ गुपचुप राखियो
शनिबार, १९ चैत २०७३

काठमाण्डौ । लामखुट्टेको टोकाईबाट मानिसलाई सर्ने चिकन गुनियाबाट चार महिनायता मात्र कम्तिमा ६ जना संक्रमित भएको ल्याव रिपोर्टले पुष्टि गरेको छ । तर, यसअघि एकजनालाई मात्र चिकन गुनिया भएको र महामारी नफैलिने दावी गर्दै स्वास्थ्य मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले केस लुकाएको पाइएको छ ।
केन्द्रीय सरुवारोग अस्पताल टेकुको ल्यावमा मंसिरयतामात्र कम्तिमा छ जनालाई चिकनगुनिया संक्रमण भएको पत्ता लागेको अस्पतालका सरुवारोग विशेषज्ञ एवं रिसर्च युनिटका प्रमुख डा. शेरबहादुर पुनले जानकारी दिए । उनीहरु सबैको परिचय गोप्य राखिएको छ । यो तथ्यांक फागुन अन्तिमसम्मको हो । ती सबै केसहरु राजधानीका अन्य अस्पतालबाट ‘एलाइजा टेष्ट’ गर्न ल्याइएको हो । यसअघि रौतहटकी एकजना महिलालाईमात्र संक्रमण पुष्टि भएको भनेर बताइएको थियो ।
हचुवामा फलोअप, रौतहटको बिरामी खोज्न चितवनमा डेंगु नियन्त्रणका लागि भन्दै लामखुट्टे हटाउने अभियान गरेको सरकारले चिकन गुनियाको संक्रमण न्यूनीकरण गर्न भने कुनै कदम चालेको छैन । रौतहटकी महिलालाई संक्रमण देखिएसँगै तीव्र दवावमा चिकनगुनिया संक्रमण न्यूनीकरण गर्नभन्दै इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा रातारात चितवन पुग्यो । चिकेनगुनिया भएकी महिला खोज्न र त्यहाँको लामखुट्टेको अध्ययन गर्न भनेर टोली पुगेको थियो । तर उक्त महिलाको स्थायी घरमात्र चितवनमा थियो । उनी रौतहटमा बस्ने गरेकी थिइन् । पछि थाहा पाएर रौतहट पुगेको टोलीले लामखुट्टेबाट जोगिन सुझावमात्र दिएर राजधानी फक्र्यो ।
त्यसपछि महाशाखाले चिकनेगुनियाका न्यूनीकरण गर्न केहीपनि गरेको छैन । टेकु अस्पतालको ल्यामा ६ जनालाई संक्रमण देखिएको पुष्टि भएपनि महाशाखाले कुनै चासो दिएको छैन । तीनवटा निकायबीच समन्वय नै हुँदैन सरुवारोग लगायत अन्यप्रकारका संक्रमणको केन्द्रिय जाँच गर्ने निकाय राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु हो । त्यस्तै यी रोगको महामारी न्यूनीकरण गर्ने कार्यक्रम चलाउने निकाय भने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा हो । तर यी निकायबीच चिकन गुनियाका सन्दर्भमा कुनै समन्वय भएको छैन । टेकुमा ६ जनालाई भएको जनस्वास्थ्य प्रयोगशालालाई थाहा छैन । जनस्वास्थ्य प्रयोगशालामा कतिजनालाई चिकनगुनिया पोजेटिभ देखियो भन्ने टेकुको प्रयोगशालालाई थाहा छैन । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले पनि ल्यावहरुको रिपोर्टका आधारमा भन्दापनि महामारी फैलिसकेपछिमात्र काम सुरु गर्ने परम्परामा विस्वास गर्छ ।
के हो चिकन गुनिया ?
सन् १९५० को दशकमा ताञ्जानियामा पहिलोपटक चिकन गुनिया पहिचान गरिएको थियो । उक्त देशको भाषामा बेस्सरी जार्नी दुख्नुलाई चिकेन गुनिया भनिन्छ । त्यसै अनुसार नामाकरण गरिएको चिकन गुनिया लामखुट्टेको टोकाइबाटमात्र मान्छेलाई सर्छ । चिकेन गुनिया पहिलो पटक नेपालमा सन् २०१३ मा देखिएको हो । टेकु अस्पतालमा डा. पुन नेतृत्वको टोलीले यसको पहिचान गरेसँगै सतर्कता अपनाउन आह्वान गरिएको थियो । चिकन गुनियाको संक्रमण भएपछि ३ देखि ६ महिनासम्म मानिसको शरीरमा सक्रिय रहने अनुसन्धानहरुले देखाएको छ । यद्यपी डब्लुएचओले चिकन गुनियाको संक्रमण कम्तिमा दुई महिना रहने बताउँछ ।
लक्षणः युरिक एसिड र वाथ लागेको भ्रम चिकेन गुनियाको सबैभन्दा पीडादायी पक्ष भनेको असाध्यै जोर्नी दुख्नु हो । जसका कारणले कतिपय बिरामी युरिक एसिड वा वाथ भएको भ्रममा चिकित्सककोमा पुग्ने गरेका छन् । यसबाहेक शरीरमा बिबिरा आउने, अल्छि लाग्ने, जरो आउने र टाउको दुख्ने जस्ता लक्षण देखापर्ने सरुवारोग विशेषज्ञ डा. पुनले बताए । चिकेन गुनिया आफैमा प्राणघातक रोग नएपछि विभिन्न दीर्घरोग भएकाहरुका लागि यो रोग प्राणघातक नै हुनसक्छ । अघिल्लो वर्ष भारतमा पनि चिकेनगुनियाले दुईदर्जनभन्दा बढी मान्छेको ज्यान लिएको थियो । मुख्यतः मुटुरोग, आँखा, नशासम्बन्धी र पेटसम्बन्धी दीर्घरोगीको ज्यानै लिनसक्छ ।
भ्याक्सिन, औषधि छैन,
सपोर्टिभ केयरमात्रै चिकन गुनियाको कुनै ‘स्पेसिफिक ट्रिटमेन्ट’ छैन । यसको ‘सपोर्टिभ केयर’मात्रै हो । अहिलेसम्म यसको संक्रमण रोकथाम गर्ने कुनै भ्याक्सिन पनि बनेको छैन । भने उपचारका लागि कुनै औषधि सुझाइएको छैन । सपोर्टिभ केयर अन्तर्गत लक्षण अनुसार अन्य उपचार गरिन्छ । जरोका लागि जरोकै औषधि, पेनकिलर, वाथरोगको औषधि खुवाएर निको पार्ने गरिन्छ ।
To read in your mobile download our android app from google play store. Click Here To Download App
प्रतिक्रिया दिनुहोस्