तीन कम्पनीका मधुमेह, ग्याष्ट्राइटिस र सुईबाट दिइने औषधि मापदण्ड विपरित
बुधबार, २३ चैत २०७३

काठमाडौं- नेपाली बजारमा बिक्रि भएका तीनवटा कम्पनीका औषधि मापदण्डविपरित फेला परेको छ। औषधि व्यवस्था विभागको अनुगमनका क्रममा दुई भारतीय र एक नेपाली कम्पनीका औषधि मापदण्ड विपरित पाइएको हो।
विभागले मापदण्डविपरितका औषधि तत्काल बजारबाट फिर्ता ल्याउन र त्यसको विवरण बुझाउन सम्बन्धित कम्पनीलाई जानकारी गराइसकेको छ। विभागका अनुसार तीन वटा कम्पनीले उत्पादन गरेका मधुमेह, ग्याष्ट्राइटिस र सुईको माध्यमबाट दिइने (इन्जेक्टेबल) औषधिमा समस्या देखिएको हो।
अनुगमनका क्रममा भारतका हिन्दुस्तान मेडिसिन प्राली र वर्कहार्डट् लिमिटेड र नेपालको विजयदिप ल्याब्रोटोरिजका औषधि मापदण्ड विपरितको पाइएको छ। हिन्दुस्तान मेडिसिनको डेक्स्ट्रोज इन्जेक्सन आइपी ५० नामको औषधिमा समस्या भेटिएको छ। सुईको माध्यमबाट दिइने यो औषधिको व्याच नम्बर २८ मा समस्या पाइएको छ।
भारतकै अर्को कम्पनी वर्कहार्डट्ले उत्पादन गरेको ग्याष्ट्राइटिसको औषधि मापदण्ड विपरितको पाइएको हो। उक्त कम्पनीले प्रोर्याब २० नाममा निकालेको जेआर १०२७६ ब्याचका औषधि मापदण्ड विपरितका हुन्।
यस्तै नेपाली कम्पनी बिजयदिपले उत्पादन गरेको मधुमेहको औषधिमा समस्या भेटिएको छ। बिजयदिपले भि–ग्लिम–२ नाममा निकालेको भिजि२–०१४ ब्याचका औषधि मापदण्ड विपरितको पाइएको विभागले जनाएको छ।
To read in your mobile download our android app from google play store. Click Here To Download App
प्रतिक्रिया दिनुहोस्