उत्तर कोरियाद्वारा शक्तिशाली मिसाइल परीक्षण

बुधबार, २३ चैत २०७३

 

एजेन्सी, उत्तर कोरियाले सामुन्द्रिक क्षेत्रमा ४० माइलसम्म मार हान्न सक्ने मिसाइल परीक्षण गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिङपिङबीच उत्तरको मिसाइल परीक्षण कार्यक्रमलाई प्रतिवन्ध लगाउन छलफलमा जुट्न लागेको पूर्वसन्ध्यामा मिसाइल परीक्षण भएको हो।

 

अमेरिका र दक्षिण कोरियाली अधिकारीहरुले उत्तर कोरियाले आफ्नो पूर्वी पोर्ट सिन्पोदेखि जापानी सागरसम्म मार हान्न सक्ने मिसाइल परीक्षण गरेको बताएका छन्।दक्षिण कोरियाका रक्षामन्त्रीले मिसाइल करिव ६० किलोमिटर (४० माइल) सम्म पुगेको बताए।

 

 

उत्तर कोरियाको यो पछिल्लो मिसाइल परीक्षण हो।उत्तर कोरियाले मिसाइल परीक्षणलाई शान्तिपूर्ण बताएको छ। तर, पश्चिमा देशहरुले यसलाई उसको परमाणु हतियार कार्यक्रमको एक हिस्सा भएको हुनसक्ने आशंका गरेका छन्।

 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिङपिङको भेटबार्ताको पूर्वसन्ध्यामा उत्तर कोरियाले रणनीतिक रुपमा मिसाइल परीक्षण गरेको हो। ट्रम्प र सी’बीच उत्तर कोरियाको आणविक तथा मिसाइल परीक्षणमा प्रतिवन्ध लगाउने विषय समेत कुरा हुने बताइएको छ।

 

संयुक्त राष्ट्रसंघले उत्तर कोरियालाई मिसाइल तथा परमाणु परीक्षणमा प्रतिवन्ध नै लगाएको छ। तर, प्रतिवन्धलाई वेवास्ता गरी उसले आफ्ना कार्यक्रम जारी राखेको छ।अमेरिकी सैन्य कमाण्डका अनुसार हाल परीक्षण गरिएको उत्तर कोरियाको मिसाइल मध्य रेन्जको हो। पछिल्लो महिना उत्तर कोरियाले चारवटा बालिष्टिक मिसाइल परीक्षण गरेको थियो।


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको