नक्कली नागरिकता भएका थापा १३ वर्षपछि पक्राउ
शनिबार, २६ चैत २०७३

पर्वत, झन्डै १३ वर्ष पहिले कर्तव्य ज्यान मुद्दामा दोषी ठहर भई जन्म कैद सजाय सुनाइएकासँग नक्कली नेपाली नागरिकता भएको पाइएको छ ।
बिहादी गाउँपालिका–५ उरामपोखराका लिटल थापालाई अदालतले सजाय सुनाएपछि सजायबाट जोगिन जिल्ला प्रशासन कार्यालय पर्वतबाट नक्कली कागजात पेस गरेर नाम परिवर्तन गरी नक्कली नागरिकता लिएको पाइएको हो ।
उनन्तीस वर्षीय थापालाई २०६० जेठ ४ गते बेउलीबासका रोशन रानालाई धारिलो हतियार प्रयोग गरी ज्यान लिएको अभियोगमा पर्वत जिल्ला अदालतले २०६७ माघ १ गते जन्मकैद सजाय सुनाएको थियो । त्यही वर्ष नै थापाले नक्कली नाम प्रयोग गरी जिल्ला प्रशासन कार्यालयबाट मानसिंह थापाका नाममा नक्कली नेपाली नागरिकता प्रमाणपत्र लिएको प्रहरी अनुसन्धानबाट पाइएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय हुवासले थापालाई सुराकीका आधारमा १३ वर्षपछि पक्राउ गरेर पर्वत जिल्ला अदालतमा बुझाएको छ । इलाका प्रहरी कार्यालय हुवासका प्रहरी निरीक्षक देवीप्रसाद पौडेलको विशेष टोलीले गत बिहीबार उनलाई पक्राउ गरी पर्वत जिल्ला अदालतमा पेस गरेको हो ।
आफ्नै घरमा लुकिछिपी रहेको अवस्थामा पक्राउ परेका थापालाई प्रहरीले अदालतमा बुझाई अदालतद्वारा पर्वत कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक लीलाराज लामिछानेले बताउनुभयो ।
अभियुक्त थापासहित बेउलीबास गाविस–३ बस्ने दिलप्रताप सेन, लक्ष्मण सेन, रामबहादुर पुलामी, रेशमबहादुर थापा, दीपसानु थापा र लिटलसमेत छ जनालाई अदालतले जन्मकैदको फैसला गरेको थियो । भलिबल खेलको हारजितको सामान्य विषयलाई लिई धारिलो हतियार हान्दा बेउलीबासका रानाको ज्यान गएको थियो । रासस
To read in your mobile download our android app from google play store. Click Here To Download App
प्रतिक्रिया दिनुहोस्