गगनको ‘म स्वस्थ–मेरो देश स्वस्थ’ अभियान : ५ प्रतिबद्धता र ७ योजना

बिहिबार, ३१ चैत २०७३

 

काठमाडौं– स्वास्थ्यमन्त्री गगन थापाले ‘म स्वस्थ–मेरो देश स्वस्थ’ नारासहितको ‘मेरो वर्ष अभियान २०७४’ घोषणा गरेका छन्। नयाँ वर्षको अवसर पारेर वैशाख १ गतेदेखि अभियान सुरु हुनेछ। प्रधानमन्त्री पुष्पकमल दाहालले काठमाडौंको दशरथ रंगशालाबाट शुक्रबार अभियानको उद्घाटन गर्ने कार्यक्रम छ।

 

स्वास्थ्य मन्त्री थापाले स्वास्थ्य प्रणाली र सेवाको विकास गर्नु सरकारको दायित्व रहेकाले अभियान सुरु गरिएको बताएका छन्। ‘हरेक व्यक्ति स्वस्थ रहनका लागि व्यक्तिगत सचेतना र प्रतिबद्धता उत्तिकै जरुरी छ,’ मन्त्री थापाले भने, ‘जब व्यक्ति र परिवार स्वस्थ रहन सक्छ तब मात्र देश स्वस्थ हुन सक्छ।’

 

अभियान किन?

स्वास्थ्य मन्त्री थापाले जीवनशैलीमा आधारित रोगहरुको प्रकोप बढ्दै गएकाले अभियान सुरु गरिएको जानकारी दिए। ‘समयमै रोगको पहिचान र रोकथाम हुन नसक्दा परिवार र राष्ट्रका लागि उपचार खर्चको भार, अपांगता र अकाल मृत्यु बढ्दै गएको छ,’ उनले भने, ‘जीवनशैलीको सामान्य परिवर्तनबाट आफैँले पनि कतिपय नसर्ने रोग रोक्न र कम गर्न सकिन्छ।’

 

उनका अनुसार नेपालमा कूल मृत्युको ४४ प्रतिशत नसर्ने रोगका कारण मृत्यु हुने गरेको छ। ‘हरेक वर्ष ८ देखि १० हजारसम्म क्यान्सरका नयाँ बिरामी थपिँदै गएका छन्,’ मन्त्री थापा भन्छन्, ‘एक तिहाई जनसंख्यामा उच्च रक्तचाप र १५ प्रतिशतमा मधुमेह छ।’ उनले यी रोग लाग्नुको प्रमुख कारण अस्वस्थ जीवनशैली, अत्यधिक मदिरा सेवन, धूमपान तथा सुर्तीजन्य पदार्थको सेवन, व्यायामको कमी, अस्वस्थकर खानपान र वायु प्रदूषण रहेको बताए।

 

हरेक नागरिकलाई स्वस्थ जीवन जिउन मन्त्री थापाले पाँच प्रतिबद्धता गर्न आह्वान गरेका छन्।

 

यस्ता छन् ५ प्रतिबद्धता

१. म रक्सी, चुरोट र सुर्तीजन्य पदार्थ सेवन गर्दिनँ।

२. म नियमित व्यायाम गर्छु।

३. म स्वस्थ र पोषिलो खाना खान्छु।

४. म नियमित स्वास्थ्य परीक्षण गराउँछु।

५. म मेरो परिवार र समुदायको स्वास्थ्यप्रति सजग रहन्छु।

 

एक वर्षे अभियानका योजना

१. सरोकारवाला निकायसँगको सहकार्यमा प्रवद्र्धनात्मक कार्यक्रमलाई स्वास्थ्य प्रणालीको अभिन्न अंग बनाउने।

 

२. उच्च प्राथमिकतामा रहेका रोगहरुको पहिचान र रोकथामका लागि प्याकेज निर्माण गर्ने।

३. स्वास्थ्य सम्बन्धी दिवसहरुमा दिवस केन्द्रित कार्यक्रम मार्फत नसर्ने रोगको जनचेतना विस्तार गर्ने।

 

४. सरकारी र निजी स्वास्थ्य संस्थाहरुको सहकार्यमा उपचार र परीक्षणको प्याकेज उपलब्ध गराउने।

५. विद्यालयहरुमा प्रारम्भिक परीक्षण र जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने।

 

६. आमसञ्चार माध्यम र सामाजिक सञ्जाल मार्फत जानकारीमूलक सामाग्री प्रवाह गर्ने।

७. मोबाइल एप्स मार्फत स्वास्थ्य सम्बन्धी जानकारी उपलब्ध गराउने।

गगनको गति बढाउने यस्तो छ युवा ‘इन्जिन’

 

-  by  swasthya khabar patrika 

 


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको