नयाँ वर्षकाे भविष्य फल

शुक्रबार, ०१ बैशाख २०७४

 

नेपाली पञ्चांगअनुसार यस वर्ष अर्थात् २०७४ का राजा बुध र मन्त्री गुरु छन् । राजा बुधले मन्त्री गुरुलाई समभावले हेर्ने भए पनि मन्त्री गुरुले बुधलाई शत्रुभाव राख्ने हुँदा यस वर्षको ग्रहगोचर त्यति सहज देखिन्न । वर्षारम्भमै शनि वक्री एवं मन्त्री र राजाको तातमेल नमिल्ने हुनाले प्रशस्तै उतारचढावको सामना गर्नुपर्ला । राजनीति चलखेल वर्षको आरम्भदेखि नै सुरु हुनेछ । शुभग्रहको बाहुल्य वर्षारम्भमा भएकोले फलफूल तथा रसजन्य पदार्थहरूको उत्पादनमा भने वृद्धि हुने देखिन्छ । कृषिजन्य बालीमा वृद्धि भए पनि महँगीमा कमी आउने देखिन्न ।

 

वर्षारम्भमा गुरु बलशाली भएकाले बौद्धिक व्यक्तित्व सुसंगठितमै जनहितका कार्यहरूमा अग्रसर हुनेछ । राजा बुधको अल्पज्ञता र मन्त्री गुरुको विशेषज्ञताले मेल नखाएर कार्यान्वयन हुने, पहिल्यै कमिसनको खेलमा अलमलिन सक्ने सम्भावना धेरै छ । राज्यलाई कमजोर बनाउने तत्ववहरू सुसंगठित भएर राज्यलाई निरिह पार्न सक्रिय देखिन्छन् । खण्डवृष्टि, अतिवृष्टि अकस्मात् हुने जलवायु परिवर्तनले भूक्षय र आगलागी गराउने सम्भावना बढिरहन्छ यस वर्ष । विज्ञानाधिपति शुक्र यस वर्ष अधिकारविहीन देखिएका छन् । त्यसैले वैज्ञानिक कार्यमा उन्नतिको सम्भावना कम देखिन्छ ।

 

शुक्रको आधिपत्य स्त्रीहरूमा रहने हुनाले यस वर्ष महिलाहरू अलि कमजोर देखिन्छन् । शनिको वक्र गतिका कारण सेवाग्राहीहरूमा हीनता र निराशता बढ्नेछ । सेवापक्ष शिथिल हुँदा राज्यसंयन्त्रमा उन्माद सिर्जन हुन गई विकासको गति सुस्त बन्दै जानेछ । व्यावसायिक ग्रह बुध कुमार भएकाले अल्पज्ञ हुने र मन्त्री गुरु अति विज्ञ हुँदाको वेमेलले राज्यलाई कमजोर पार्ने तत्ववहरू बलिया हुनेछन् । राज्य सञ्चालकहरू अल्पदृष्टिमा पर्ने हुँदा विकासका काम कार्यान्वयन नहुँदै कमिसनमा उन्मुख भई समाजमा अराजकता फैलिनेछ ।

 

नेतृत्व वर्गहरू सामाजिक कार्यमा भन्दा लाभहानिमा तल्लीन रहँदा समाजमा उत्तेजना फैलिनेछ । धर्माधिकारी गुरु मन्त्री भएकोले सनातन धर्मावलम्बीहरू कठोर हुनेर आधुनिक तथा गैरसनातनीहरू आक्रामक हुने हँुदा धार्मिक द्वन्द्व हुने सम्भावना छ । वर्षारम्भमा राजा र मन्त्री दुवै वक्र भएकाले राज्यका सबै अंग सहमतिमा भन्दा विमतीमा अग्रसर हुनेछन् । स्वेच्छाचारी गतिविधि अनियन्त्रित हुनेछ । आपसी विश्वास हराउनेछ । यस्तो स्थितिमा विदेशी हस्तक्षेप धेरै हुन सक्छ ।

 

वार्षिक भविष्यको चर्चा गर्दा जगलग्नलाई पनि विचार गर्नुपर्ने हुन्छ । यस वर्षको जगलग्न हो कुम्भ । लग्नेश शनि एकादश स्थानमा आम्दानीको हिसाबले राम्रो भए पनि वर्षारम्भमा शनि वक्र भएको लग्नमा केतु तथा सप्तममा राहु भएकाले पुँजी परिचालनमा अव्यस्थित हुन सक्ने, वैदेशिक व्यापार घाटा अप्रत्यासित रूपले बढ्ने, समाजमा अराजकता फैलिने सम्भावना रहन्छ । मन्त्री ग्रह वृहस्पति वक्र भई अष्टम स्थानमा बसेको हुँदा धर्मको दुष्प्रचार गरेर आफ्नो अभिलाषा पूरा गर्ने, अरूले अराजकता मच्चाउँदा वास्तविक धर्म ओझेलमा पर्ने र अधर्मको वर्चस्व बढ्नाले आर्थिक अवस्था जर्जर भई देश कठिनाइको ठूलो भुमरीमा पुग्न सक्छ ।

 

द्वितीयेश गुरु वाणी तथा धनस्थानको मालिक वक्र भएर अष्टम स्थानमा रहँदा स्थिर पुँजी न्यून हुने, व्यय भार बढ्दै जाने र राज्य सञ्चालकहरू आर्थिक प्रलोभनमा, पद प्राप्तिमा, विदेशी दबाबमा परेर जथाभावी बोल्ने अथवा दमनमा लाग्दा आम नागारिक सुसंगठित भई परिवर्तनको खोजीमा लाग्नेछन् । कुनीतिवश राज्य सञ्चालकबाट दमनकारी भूमिका निर्वाह हुँदा सचेत नागरिक र राज्यबीच मुठभेटको स्थिति नआउला भन्न सकिन्न । तृतीय स्थानमा सूर्य तथा स्वगृही मंगल दशमेश, तृतीयेश सप्तमेश सूर्यको साथमा बुधादित्य योग पारेर बसेको बुधका कारण बौद्घिक वर्गहरू गलत बाटो छोडी इमानदारपूर्वक एकताबद्ध भई देशको पक्षमा हुने हुँदा राष्ट्रिय हितका निमित्त बुद्धिजीवी तथा सचेत नागारिकको अनुरोधमा जनहित अर्थात् राष्ट्रिय सुरक्षार्थ सेना अगाडि आउने सम्भावना प्रबल देखिन्छ ।

 

सातौं राहुको प्रतिकूल प्रभावका कारण परका मित्रहरू सेनाको उपस्थितिको विरोधमा रहे पनि चतुर्थेश शुक्र जगलग्नमा हुँदा आफ्नो गल्ती महसुस गर्दै नजिकका मित्रहरू भने सच्चाइलाई महसुस गरी हाम्रा हितमा तनमनले लाग्नेछन् । जसले गर्दा हामीबाट जबर्जस्त गुमाइएका, हाम्रा ऐतिहासिक र सांस्कृतिक धरोहर तथा अस्मिताहरू जनबलले पुनस्र्थापित हुनेछन् । पञ्चम बुध बलियो भएकाले विविध झुन्ड र समूहमा भूलवश छरिएर रहेका देशका सपूतहरू देशभक्तिको लागि आपसी मतभेद छोडी एकताबद्ध भई जागरुक हुनेछन् ।

 

यस वर्ष षष्ठेश चन्द्रमा नीच भई दशम भावमा बसेकाले देश र समाजका शत्रुहरू निजी स्वार्थ र परायापोषणमा सक्रिय हुनेछन् । नक्कली नकाव पहिरिएर अवाञ्छित क्रियाकलाप गर्ने कपूतहरूको पहिचान, सच्चा राष्ट्रभक्तहरूले राम्ररी बुझेर एकजुट भई सबै आक्रमण र विनाशका नजिक पुग्नेछन् । विनाअर्थ भ्रम उत्पन्न गरी जनविरोधी, देशका अहितकर प्रमाणित गराएर पाखा पारिएका शक्तिहरू ससम्मान जनबलले जनभावनाअनुरूप पुनः शक्तिमा प्रवेश गर्ने बढी सम्भावना छ । संयम नभए राज्य मुठभेडमा पुग्न सक्छ ।

 

 

 

२०७४ साल जेठ ६ देखि १४ गतेसम्म देशको राशि वृश्चिकमा बसेको शनि तथा सातौं वृष राशिमा बसेको मंगललाई ११ गते बिहान ८।१८ देखि १३ गते बिहान १०।३५ सम्म चन्द्र, सूर्यको साथ गुरुको पूर्ण दृष्टि हँुदा मंगल आफ्ना घरमा अति बलशाली भएर आक्रमण हुनेछ । शनि वक्री पनि भएकाले विक्षिप्त हुने हुँदा यो समय अति नै प्रतिकूल रहनेछ । यसलाई डरलाग्दो अवस्था भन्न सकिन्छ । शनि र मंगलको परस्पर दृष्टि वा एकसाथ बसाइ ज्योतिषीय हिसाब राम्रो हुँदैन ।

 

मंगलले सूर्यको साथ पाएको र शनि मंगलको घरमा शत्रु गृह भएकाले वैदेशिक हस्तक्षेप बढ्ने एवं त्यसविरुद्ध सभ्य र स्वतन्त्र नागारिकहरू एकबद्ध भई प्रतिकारमा उत्रन सक्छन् । सेवा तथा सैन्यबीच तालमेल नहुँदा अराजकता बढ्न गई राष्ट्र र जनता प्रजातन्त्र हितका लागि सेना अघि बढ्ने सम्भावना रहन्छ । राजनीतिमा ठूलै चलखेल सुरु हुनेछ । सत्ता सञ्चालकहरू संयमित भएनन् भने धार्मिक द्वन्द्व अनियन्त्रित हुन सक्छ । धर्मका नाममा लुट्नेहरूको लुटलाई सच्चा धार्मिकहरूको समूहले किनारा लगाउनेछन् । राजनीति तरल अवस्थामा पुग्नेछ । सत्ता परिवर्तन र फेरबदलले नयाँ समीकरण निर्माण गर्नेछ । शनि पश्चिमी दिशाको अधिपति, मंगल दक्षिण दिशाको अधिपति भएकाले पश्चिमी र दक्षिणी द्वन्द्वमा हामी फस्न सक्ने सम्भावना रहन्छ ।

 

 

मंगल भूमिपुत्र पनि भएकाले प्राकृतिक रूपमा ठूलो विपत्ति आउन सक्छ । मंगल अग्नितत्व ग्रह, शनि वायुतत्व ग्रहको परस्पर दृष्टि वा एकसाथ बस्दा हुन सक्ने घटना आग्लागी, आँधीहुरी, बाढीपहिरो, भूकम्पजस्ता समस्याले जनजीवन कष्टकर हुनेछ । चोरी र डकैतीहरू बढ्नेछन् । राज्य त्यसको नियन्त्रणमा बेकाम सावित हुनेछ । भदौ २१ देखि तुलामा प्रवेश गर्ने गुरुले राजनीति र धार्मिक कुरालाई द्वन्द्वमा लैजान सक्छ । पुनः फागुन २६ मा गुरु वक्र हुने, २७ देखि शनि र मंगल धनु राशिमा जोडिने हुँदा जेठ ६ देखि १४ सम्मको अस्वथा जस्तै हुन सक्छ ।

 

विभिन्न समस्या हुँदाहुँदै पनि यस वर्ष देशले सही बाटो लिने र राष्ट्रिय हित र प्रजातन्त्रको रक्षार्थ आम नागारिक र बुद्धिजीवीहरूको एकता निर्माण भएर राष्ट्रियता र स्वाभिमानता कायम गर्ने शुभारम्भ यसै वर्ष हुनेछ । संयम नभए यसको लागि देश र नागरिकले ठूलै मूल्य चुुकाउनुपर्नेछ । जित भने प्रजातन्त्रकै हुनेछ ।

विभिन्न समस्या हुँदाहुँदै पनि यस वर्ष देशले सही बाटो लिने र राष्ट्रिय हित र प्रजातन्त्रको रक्षार्थ आम नागारिक र बुद्धिजीवीहरूको एकता निर्माण भएर राष्ट्रियता र स्वाभिमानता कायम गर्ने शुभारम्भ यसै वर्ष हुनेछ । संयम नभए यसको लागि देश र नागरिकले ठूलै मूल्य चुकाउनुपर्नेछ । जित भने प्रजातन्त्रकै हुनेछ । सामुद्रिक आँधी यस वर्ष नयाँ नाम लिएर आउनेछ । जसले जर्मन बंगलादेश, बेलायत, जापान, इटाली, बल्जियम, पाकिस्तान र भारतका केही भागलाई प्राकृतिक प्रकोपले सताउनेछ ।

 

यस वर्षको आरम्भमा वृष र कन्या राशिलाई अढैया शनि तथा मकर राशिलाई आद्यधनु राशिलाई मध्य, वृश्चिक राशिलाई अन्त्य साढेसाती चल्नेछ । तुला राशिको साढे साती सकिएको छ । मेष तथा सिंह राशिलाई पनि अढैया शनिले छोडेको छ तर जेठ ६ गतेदेखि कात्तिक ३० गतेसम्म रहनेछ । मंसिर १ देखि पुनः मेष र सिंहलाई अढैया र तुला राशिलाई साढे साती आरम्भ हुनेछ । शनि साढे साती जन्मकालमा शनि शुभ हुनेलाई लाभ हुने र अशुभ हुनेलाई हानि गर्नेछ । अढैया शनि भने जन्मकालमा शनि शुभ हुँदा हानि नगर्ने अशुभले हानि गर्ने हुन्छ । अढैयाले राम्रो कसैलाई पनि गर्दैन ।

 

शनि साढे साती वा अढैया लाग्दा सर्वप्रथम पीपलको पूजा गर्ने, भैरवको पूजा गर्ने, शनिबारको दिन भैरव मन्दिरमा गएर भैरवको पूजा गरी भैरवको दायाँ हातमा दुई मिटर कालो कपडा राखी ‘शनिको नाश होस’् भनेर दस कदम पछि हटेर नहेरी फर्कने । भैरवको मन्दिर उपलब्ध नभएमा दुई नदीको संगम, नदीको मूलतिर वा नदी आएतर्फ फर्केर पूजा गर्ने, दुई मिटर कालो कपडा आफूभन्दा पछाडिबाट बगाउने र ‘मेरो नदोष बगोस्’ भनी बगाउने । बगाएकोलाई नहेर्ने यस प्रकारको उपाय गर्दा शनिक दोष कम हुन्छ ।

 

-by  annapurna post

 


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको