१५ करोडको जग्गा हडप्न माओवादी नेतादेखि पत्रकारसम्मको संलग्नता

मङ्गलबार, १२ बैशाख २०७४

 

काठमाडौं, झापाको बिर्तामोडस्थित भद्रपुर रोडमा रहेको १५ करोड रुपैयाँ पर्ने जग्गा कीर्ते गरी हडप्नका लागि माओवादी नेतादेखि पत्रकारसम्मको संलग्नता प्रहरीले पुष्टी गरेको छ । अपहरण काण्डमा सञ्चारमन्त्रीका स्वकीय सचिवसमेत संलग्न रहेको भेटिएको छ । अपहरणका योजनाकार भने पत्रकार भएको खुलेको छ ।

 

घटनामा संलग्नहरुलाई सार्वजनिक गर्न सोमबार भद्रपुरमा आयोजित पत्रकार सम्मेलनमा जग्गा किर्ते काण्डका मुख्य सूत्रधार टेलिभिजन पत्रकार पुजन घिमिरे रहेको प्रहरीले दाबी गरेको छ । घिमिरेकै योजनामा विष्टको नामको अनारमनी–४ मा रहेको कित्ता नम्बर १६९ र १७० को करिब ५ कठ्ठा १६ धुर जग्गा कीर्ते गरि हडप्न खोजिएको पाइएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार अपहरण काण्डमा सूचना तथा सञ्चारमन्त्री सुरेन्द्र कार्कीका स्वकीय सचिव राजु आचार्य (अग्नि), सगरमाथा टेलिभिजनका झापा संवाददाता पुजन घिमिरे, माउन्टेन टीभीका झापा प्रतिनिधि शम्भु दाहाल, माओवादी कार्यकर्ता लक्ष्मण बस्नेत र बिर्तामोडका ओम शिवाकोटीलगायतको संलग्नता भेटिएको प्रहरीको भनाइ छ ।

 

घटनामा संलग्नमध्ये प्रहरीले जिल्ला प्रशासनका खरदार तेजेन्द्र न्यौपाने र कांग्रेसका कार्यकर्ता भूपू कान्छा भनिने अजय राईलाई गत चैत २७ गते, भद्रपुरका व्यापारी प्रेम न्यौपानेलाई २८ गते र बाहुनडाँगीका राजु कुँवरलाई चैत ३० गते प्रहरीले पक्राउ गरेको थियो ।

 

पत्रकार घिमिरेसहित उनका सहयोगी पत्रकार अर्जुनधारा १ वस्ने शम्भु दाहाल, माओवादी केन्द्रका केन्द्रीय सदस्य अग्नी भनिने राजु आचार्य, माओवादी कार्यकर्ता लक्ष्मण बस्नेत र बिर्तामोडका ओम शिवाकोटी फरार रहेको एसपी थापाले जनाए । अभियुक्तहरुलाई सोमवार थप अनुसन्धानका लागि तेस्रो पटक १० दिनको म्याद थप गरिएको छ । जग्गाधनी विष्टले गत माघ १२ गते बिर्तामोडको एभरेष्ट होटलबाट अपहरण गरी गरामनीको शुभकामना होटलमा बन्धक वनाएर डर देखाएर करोडौ मूल्यको जग्गा हडपेको भनी इलाका प्रहरी कार्यालयमा गत चैत २५ गते किटानी जाहेरी दिएका थिए । जाहेरीको आधारमा चार जनालाई प्रहरी पक्राउ गरेको हो ।


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको