धुर्मुस सुन्तलीको उद्घोष- 'हामी बनाउँछौं मिनी नेपाल'
मङ्गलबार, १२ बैशाख २०७४

काठमाडौं- कलाकार धुर्मुस-सुन्तलीले हिमाल, पहाड र तराईको झल्को दिने गरी 'मिनी नेपाल' बनाउने घोषणा गरेका छन्। नेपाल रिपब्लिक मिडियाको आठौं वार्षिकोत्सवका अवसरमा आयोजित 'नागरिक नायक' सम्मान ग्रहण गरेपछि नागरिक संवादमा उनीहरुले यस्तो घोषणा गरेका हुन्।
भूकम्प पीडित र तराईका विपन्न मुसहरका लागि एकीकृत बस्ती निर्माण गरेर चर्चा कमाएका सीताराम कट्टेल 'धुर्मुस' र कुञ्जना घिमिरे 'सुन्तली' ले चौथो परियोजनाका रुपमा यसलाई अघि बढाउने बताए।
उनीहरुले ७५ वटै जिल्लाबाट सबैभन्दा गरिब एकएक परिवारलाई छानेर ल्याई यस्तो एकीकृत बस्ती निर्माण गर्ने जानकारी दिए। 'पहिलो एकीकृत बस्ती निर्माणकै क्रममा हामीले यस्तो सल्लाह गरेका थियौं', कट्टेलले नागरिकका प्रधान सम्पादक गुणराज लुइँटेलसँगको अन्तरक्रियामा भने, 'आज यही कार्यक्रममार्फत 'मिनी नेपाल' बनाउने घोषणा गर्दर्छौं।'
उनले यस्तो बस्ती निर्माणका लागि ५ सयदेखि एक हजार रोपनी जग्गा आवश्यक रहेकाले जग्गादाताको खोजी गरिरहेको बताए। 'मिनी नेपाल' निर्माणका क्रममा मूलद्वारबाट बस्ती पस्नेबित्तिकै हिमाली, त्यसपछि पहाडी र अन्त्यमा तराईको बस्ती हुने कट्टेलले जानकारी दिए। 'हिमाली बस्तीबाट पहाडी बस्तीमा जाँदा सुरुङमार्ग भएर जाने बनाउनेछौं,' कट्टेलले भने, 'नेपाल आउने पर्यटकका लागि यो बस्ती पहिलो रोजाइको हुनेछ।'
उनीहरुका अनुसार बस्तीमा नमुना विद्यालय र अस्पतालसमेत हुनेछ। बस्तीमा लुम्बिनी र सगरमाथाको नमुनाका साथै तीनवटै क्षेत्रको प्राकृतिक स्वरुप झल्काउने उनीहरुको योजना छ। 'त्यसका लागि अहिलेभन्दा धेरै रकम आवश्यक पर्ने भएकाले सरकार वा ठूला निकायको सहयोगको अपेक्षा गरेका छौं', कट्टेलले भने।
Read More : http://www.nagariknews.com/news/18746/
Source: Nagarik News
To read in your mobile download our android app from google play store. Click Here To Download App
प्रतिक्रिया दिनुहोस्