हिरासतका १० महिना : होशमा आउँदा शरीरमा कपडा नै थिएन

बुधबार, १३ बैशाख २०७४

 

काठमाडौं,  सरकार र तत्कालिन विद्रोही (नेकपा माओवादी) बीचको सशस्त्र द्वन्द्व उत्कर्षमा पुगेको थियो । जताततै दोहोरो भिडन्त भएको, हत्या र अपहरण गरिएका मात्रै खबर आउथेँ । सुरक्षाकर्मी र विद्रोहीलाई बरु एकपक्षको मात्रै डर थियो । 

 

तर सर्वसाधारणलाई सुरक्षाकर्मी र विद्रोही दुवै पक्षबाट कतिबेला मरिने हो पत्तो हुँदैन्थ्यो । विद्रोही पक्षले देखे सुराकीको आरोप लगाउँथे । सरकारी पक्षले भेटेपछि ‘माओवादी कहाँ लुकाएर राखेकी छस ?’ भनेर केरकार गर्न सुरु गरिहाल्थे । दिनहुँ दुबै पक्षबाट हुने यस किसिमका शारीरिक तथा मानसिक आक्रमणले सर्वसाधारणलाई भइरहने सास्तीको कुनै लेखाजोखा थिएन । ज्यान जोगाउनै भएपनि कतिपय गाउँलेहरु विद्रोही बने । विद्रोही बन्न नसकेकाहरु गाउँघरबाट पलायन भए । 

 

तर गाउँमै पढेर एसएलसी पास गर्ने उद्धेश्य लिनुभएकी सीता विश्वकर्मा (नाम परिवर्तन) लाई हत्तपत्त पलायन हुने सोच आएन । सरकारी फौजले दिनहुँजसो विद्रोहीको आरोप लगाएर गाउँ बस्न मुश्किल भएपनि उहाँले गाउँबाट भागेर अन्त कतै जाने साहस पनि गर्नु भएन । तर आफुलाई विनाकारण मित्था आरोप लगाउने सरकारी सेना र प्रहरीमाथि कारबाही भएको उहाँ हेर्न चाहनुहुन्थ्यो ।

 

त्यसका लागि उहाँले विद्रोही पक्ष (तत्कालिन नेकपा माओवादी)को साथ रोज्नुभयो । विद्रोही पक्षको पछि लाग्नु उहाँको एउटै कारण थियो, सरकारी सुरक्षाकर्मीबाट जोगिनु । तर उहाँलाई यो थाहा थिएन कि विद्रोहीको पछि लाग्दा झन कति जोखिम हुन्छ भनेर ? 

 

ज्यान जोगाउनकै लागि कता जाउँ  भइरहेका बेला उहाँले आफ्नो खेतको बाटो हुदै आएका विद्रोही छापामारलाई देख्नुभयो । दायाँ बायाँ नसोची सीता विद्रोही छापामारको लस्करमा मिसिनुभयो । तर कहाँ जाने ? के गर्ने ? केही थाहा थिएन, सीतालाई । उनीहरुसँग हुँदा आफुलाई सरकारी फौजले दुःख दिन सक्दैनथे भन्ने सीताको अनुमान थियो । जुन अन्ततः गलत साबित भइछाड्यो ।

 

विस २०५८ साल । जतिबेला सरकारी र विद्रोही पक्षबीच दिनहुँजसो दोहोरो भिडन्त भइरहन्थ्यो ।  यही समयमा सीताले विद्रोही पक्षको साथ रोज्नु भएको थियो । विद्रोही पक्षको एजेन्डा के हो ? के गर्छ ? कहाँ बस्छ ? भोलि के गर्ने हो ? सीतालाई केही थाहा थिएन । ‘मलाई कसैले जाउँ भनेका होइनन । खेतमा पानीको कुलो सोझ्याउन जाँदा देखिएका विद्रोही मान्छेको पछि लागेकी हुँ । पछि थाहा भयो । यसरी विद्रोहीसँग हिँड्नुलाई भुमिगत माओवादी भनिदो रहेछ’ त्यतिबेलाको घटना सम्झिदैँ उहाँले भन्नुभयो ।

 

विना तयारी, जानकारी विना आफुहरुको पछि लागेको देखेपछि विद्रोही छापामारले पनि सीतालाई घर फर्कन आग्रह नगरेका होइनन । तर त्यसरी विद्रोहीको पछि लागेर घर फर्किंदा सरकारी फौजले बाँकी नराख्ने भन्दै सीताले उनीहरुकै पछि लाग्दा सुरक्षित भइने सोचिन् र घर नफर्किने निर्णय गरिन् । 

 

‘अब घर फर्किए बाँचिन्न भन्ने लाग्यो । घर फर्किनु भन्दा उनीहरुको पछि लाग्दा आफूलाई बढी सुरक्षित महसुस गर्न थालेँ’ उहाँले भन्नुभयो ‘त्यसपछि उनीहरु जहाँ बस्छन, त्यही बसें । जहाँ जान्छन, त्यही गए । तर घर फर्किन ।’ गाउँघरमा भन्दा उनीहरुसँग हुँदा सुरक्षाकर्मीबाट कुनै तनाव नभएकाले सीतालाई अहिले पनि पश्चाताप छैन ।  

 

उहाँले प्रहरीका ‘चौकी हान्न’ भन्दै बन्दुक पनि बोक्नु भयो । तर आफूले चलाएको गोलीले कसैको मृत्यु नहोस् भन्ने लाग्थ्यो । ‘कतै सेना प्रहरी देखिए भने पनि आ–आफ्नो बाटो लाग्न पाए हुन्थ्यो भन्ने लागिरहन्थ्यो’ उहाँले भन्नुभयो ‘तर संगठनले दिएको आदेश नमानी सुख पाइन्न्थ्यो ।’

 

भूमिगत भइसकेपछि सीताको कैयौँचोटी सेना र प्रहरीसँग जम्काभेट भएको छ । ‘एक पटक माओवादी भनेर झण्डैै मारेका थिए, एउटी बच्चीले गर्दा बाँचे’ सरकारी सेनासँग आमनेसामने भएर पनि बचेको त्यतिबेलाको रोचक घटनाबारे सुनाउँदै उहाँले भन्नुभयो ‘अचानक आएकी अपरिचत बच्चीले आन्टी भन्दै अंगालो हाले पछि सेनाले यही गाउँको रहेछ भनेर चुपचाप बाटो लाग्यो ।’ 

 

त्यसरी लामो समय जोगिन सक्नुभएन सीता । अन्ततः २०६० सालमा गाउँबाटै उहाँ पक्राउ पर्नुभयो । दिन भरीजसो सेना र प्रहरीसँग जम्का भेट भएपनि राती आफू सुतिरहेको घरमा सरकारी सेनाले घेरा हालेर उहाँलाई पक्राउ गरेको थियो । पक्राउ गरेपछि आखाँमा पट्टी बाधेर उहाँलाई सेनाले कुटपिट गर्न शुरु गर्‍यो । 

 

बन्दुकको कुन्दाले हिर्काएर नाक र मुखबाट पानी लगाएको याद छ, उहाँलाई । त्यसपछि के भयो ? उहाँलाई याद छैन । तर जब होश आयो । त्यतिबेला आफ्नो टाउको बाहेक सबै शरीर खाल्डोमा हालिएको अवस्थामा आफुलाई पाउनुभयो ।  ‘मलाई अब मरी भनेर माटोमा गाडिएको रहेछ ।

 

तर होश आएर बोलेपछि बाँचेको थाहा पाएर सेनाले फेरि अपशब्द बोल्दै कुट्न थाले । मे फेरि बेहोश हुन पुगेँ’ उहाँले भन्नुभयो । होशमा आउँदा सीता सेनाको हिरासतमा हुनुहुन्थ्यो । ६ महिना सम्म उहाँको राम्रो सँग होश आएन । तर जब होश आयो त्यतिबेला उहाँको शरिरमा कपडा थिएन ।

 

‘दश महिनासम्म आँखामा पट्टि बाँधेर राखेको थियो’ उहाँले भन्नुभयो ‘व्युझिँदा शरिरमा आफ्नो लुगा पाउँदिनथे । होशमा आउँदा उनीहरुले बोल्ने अपशब्द नै काफी थियो । कतिसम्म शारीरिक शोषण गर्थे भनेर । तर त्यसको कुनै सीमा र मात्रा थिएन । जुन म तपाईलाई व्यक्त गर्न सकुँ ।’ 

 

तिबेला आफुले भोगेको पीडा भन्दा पनि अहिले श्रीमानसँग त्यो सबै घटना लुकाउदाँको पीडा बढी छ सीतालाई । विवाह गरेर सन्तान पनि जन्माइसक्नु भएकी सीताका श्रीमान बेलाबेला सोध्नुहुन्छ ‘तिमीलाई हिरासतमा केही त गरेनन् नि भनेर ?’ तर उहाँलाई ढाँट्नैपर्ने बाध्यता छ । आफैंले जन्माएको सन्तानले पनि उहाँलाई सोध्छन ‘मम्मी तपाईंलाई सेनाले पक्राउ गरेर लिएपछि के के गर्यो ?’ यो प्रश्नमा नाजवाफ हुनुको विकल्प सीतासँग छैन । भन्छिन–‘आफ्नै सन्तानलाई आफूले भोगेको त्यतिबेलाको नारकीय जीवनको वर्णन पनि कसरी गर्नु र ?’ 

 

२०७३ सालमा शान्ति सम्झौता भएपछि समायोजनको कुरा चल्यो । तर उहाँलाई सैनिक जीवनमा फेरि प्रवेश गर्न मन लागेन । स्वेच्छिक अवकास लिनुभयो । उहाँको श्रीमानले पनि स्वेच्छिक अवकाश नै रोज्नुभयो । अवकाशपछि एक जनाको भागमा पाँच÷पाचँ लाख रुपैयाँ हात पर्यो । पैसा हात परेपछि सिलाई कटाई तालिम लिएर अहिले उहाँले कपडा सिलाउने काम गर्न थाल्नुभएको छ । उदयपुरमा नै एउटा पसल पनि छ । पसलबाटै पारिवारिक गुजारा चलाउन सहयोग पुगेको छ । ‘कमाई यती नै हुन्छ भन्ने छैन ।  तर खान लाउन पुगेको छ । छोराछोरी पढाउन पनि पुगेकै छ । बचत भने गर्न सकिएको छैन ।’ उहाँले भन्नुभयो ।

 

तर अहिले उहाँलाई आफ्नै पार्टीसँग भने निकै गुनासो छ । आफूले गरेको योगदानको कदर नगरी पैसा र पहुँच भएकालाई मात्र पद दिने पार्टी नेतृत्वप्रति पनि उहाँको असन्तुष्टी हो । आफू लगायतका सहकर्मीलाई त्यती बेला क्रुर यातना दिने सेनालाई आफ्नै पार्टीको सरकारले पनि कारबाही नगरपेछि सीतालाई पार्टीबाट न्याय पाइएला भने आश लाग्न छाडेको छ । 

 

तर गुनासो यतिमै सीमित छैन सीताको । स्थानीय तहको चुनावमा पार्टीले आफू जस्ता पीडितलाई बेवास्ता गरेर शक्तिकेन्द्र धाउने अनि नजिकका आफन्तलाई मात्र टिकट दिने प्रवृत्तिप्रति पनि त्यत्तिकै रोष छ । तर न्यायको आशै भने उहाँले अझै मार्नु भएको छैन । कुराकानीको बिट मार्दै गर्दा आग्रह गर्दै सीताले भन्नुभयो ‘म जस्ता पीडितहरु जो सरकारी पक्ष र द्वन्द्वरत पक्षबाट पीडित छन । उनीहरुले पार्टी र सरकारले न्याय दिनुपर्छ । हामीले न्याय नपाएसम्म राज्यमा सुशासन र विकास पनि हुन सक्दैन ।’


मुना श्रेष्ठ/उज्यालो । 


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको