करोडका नेपाली गीतहरु जुन युट्युबमा धेरै रुचाइए

बुधबार, १३ बैशाख २०७४

 पछिल्लो समय युट्युबको महत्व बढ्दै गएको छ । अहिले युट्युब गीत र सिनेमालाई कतिले मन पराए कतिले पराएनन् भन्ने कुरा मापन गर्ने यन्त्र जस्तै बनेको छ । पछिल्लो समय नेपालमा युट्युबको प्रभाव र प्रयोग राम्रैसँग भएको छ ।

 

पहिले मुश्किलले कुनै नेपाली गीतले लाख दर्शक पाउँथ्यो भने अहिले लाख पटक हेरिनु सामान्य बनेको छ । अहिले त  केही गीत करोड पटक पनि हेरिएका छन् । आज हामीले युट्युबमा करोड भन्दा धेरै पटक हेरिएका पाँच गीतका बारेमा एक सामग्री तयार पारेका छौँ ।

 

दुई करोड नजिक ‘सुर्के थैली खै’

उज्वल घिमिरेको निर्देशन रहेको नेपाली चलचित्र ‘‘वडा नम्बर-६’’ मा समावेश ‘सुर्के थैली खै’ बोलको गीतले पहिलो पटक करोड पटक हेरिने गीतको कीर्तिमान राखेको हो । राजनराज सिवाकोटीको शब्द, संगीत अनि सिवाकोटीसँगै अञ्जु पन्त र राजु विश्वकर्माको आवाज रहेको यस गीतलाई दर्शकले झण्डै  दुई करोड पटक हेरेका छन् ।

 

२०१५ अगस्ट ६ मा युट्युबमा सार्वजनिक भएको यस गीतलाई अहिलेसम्म एक करोड, ८१ लाख ५० हजार भन्दा धेरै पटक हेरिएको छ । ‘आमा सरस्वति गीता फिल्मस्’ को ब्यानरमा बनेको ‘‘वडा नम्बर-६’’ मा दीपक राज गिरी, दीपाश्री निरौला, प्रियंका कार्की, केदार घिमिरे, सिताराम कट्टेल, दयाहाङ राई लगायतका कलाकारहरुको मुख्य भूमिका छ । 

 

पूर्व पश्चिम रेल 

नेपाली चलचित्र क्षेत्रमा रेकर्डै रेकर्ड राखेको चलचित्र ‘‘छक्का पञ्जा’’ को गीतले करोड पटक हेरिने रेकर्ड पनि राख्यो । यस चलचित्रमा समावेश ‘पूर्व पश्चिम रेल’ लाई पनि करोड भन्दा धेरै पटक हेरिएको छ ।

 

 

दिपाश्री निरौलाको निर्देशन रहेको चलचित्रको यस गीतलाई यो सामाचार तयार पार्दासम्म युट्युबमा एक करोड ४७ लाख भन्दा धेरै पटक हेरिएको छ । राजनराज सिवाकोटी र अञ्जु पन्तको आवाज रहेको यस गीतमा राजनको शब्द र संगीत रहेको छ । ‘‘छक्का पञ्जा’’ अहिलेसम्म नेपाली चलचित्र उद्योगकै सफल चलचित्र हो भने अब यसको सिक्वेल ‘‘छक्का पञ्जा २’’ निर्माण हुँदैछ । 

 

ठमेल बजार 

नेपाली चलचित्र ‘‘लुट-२’’ मा समावेश आईटम गीत ‘ठमेल बजार’ ले पनि करोड भन्दा धेरै पटक हेरिने गीतको रकेर्ड राखेको छ । कालीप्रसाद बास्कोटा, मिना निरौला र भानुभक्त ढकालको आवाज रहेको यस गीतको अडियोलाई पनि दर्शकले खुबै रुचाए । गाउँ घरमा सबैले प्रयोग गर्ने भाषालाई प्रयोग गरिएका कारण नै यो गीत सफल भएको मानिन्छ । टयाक्सीलाई ट्याउसी भनेर मिठास तरिकाले गीतमा उतार्दा यो शब्दले झनै सबैको मुखमा यो गीत झुण्ड्यायो ।

 

 

निश्चल बस्नेतको निर्देशन रहेको चलचित्र ‘‘लुट-२’’ को यो आईटम गीतमा निश्चल, दयाहाङ राई र एलिसा राई लगायतलाई देखाइएको छ । कालीप्रसाद बाँस्कोटाको संगीत, एकतारे र कालीकै शब्द रहेको यो गीतलाई सन् २०१६ अक्टोवर २१ मा रिलिज गरिएको हो । यो गीतलाई अहिलेसम्म एक करोड ४७ लाख भन्दा धेरै पटक हेरिएको छ । 

 

‘निर’ को कभर डान्स दुई करोड नजिक

युट्युबमा करोड भन्दा धेरै दर्शक पाउने अर्काे गीत हो चलचित्र ‘पुरानो डुङगा’ मा समावेश ‘निर’ । निरको कभर डान्सलाई ६ महिनामा एक करोड ९८ लाख भन्दा धेरै पटक हेरिएको छ । रामबाबु गुरुङको निर्देशनमा बनेको चलचित्रको यस गीतको कभर डान्सलाई ‘अभिनास आचार्य प्रोडक्सन हाउसले युट्युबमा रिलिज गरेको छ । 

 

अलमोडा राना उप्रेतीको एरेन्ज रहेको ‘निर’ को कभर डान्समा पूजा अधिकारी, दिपेन भटट्, सोफिया बस्नेत लगायत कलाकारहरुले अभिनय गरेका छन् । दयाहाङ राई र प्रियंका कार्कीको मुख्य भूमिका रहेको सिनेमाको यस गीतको अडियो र ओरिजिनल भिडियोलाई पनि दर्शकले मन पराएका छन् ।   

 

हेमन्तको ‘सार्इँली’

पछिल्लो समय ‘साईँली’ गीत नसुन्ने कमै होलान् । छोटो समयमा करोड भन्दा धेरै दर्शक पाउन सफल भएको गीत हो यो । युवा गायक हेमन्त राना मगरको आवाज रहेको यस गीतमा हिमाल साउद र कालीप्रसाद बाँस्कोटाको शब्द अनि कालिकै संगीत रहेको छ । यस गीतको अडियो भिडियो दुवैले दर्शकको साथ पायो ।

 

 

अडियो रिलिजको केही समयपछि नायक गौरब पहाडी र नायिका मेनुका प्रधानलाई फिचर गरेर यसको भिडियो रिलिज गरिएको थियो जसले रातारात नेपालमा छोटो समयमा सबैभन्दा धेरै हेरिने गीतको रेकर्ड राख्यो । २०१७ फेब्रअरी १० मा युट्युबमा  रिलिज गरिएको यस गीतलाई ४ महिनामा एक करोड ४८ लाख भन्दा धेरै पटक हेरिएको छ ।

 

अल्मोडाको ‘पानी पर्‍यो’

अल्मोडा राना उप्रेतीको आवाजमा सजिएको गीत ‘पानी पर्यो’को कभर डान्सको भिडियोले पनि नेपाली संगीतको दुनियामा करोड भन्दा धेरै पटक हेरिने गीतको सूचिमा आफूलाई राखेको छ । युट्युबमा यसलाई पनि दर्शकले खुबै रुचाएका छन् ।

 

‘कार्टुन कु्र’को नृत्य रहेको यस गीतको अडियो र भिडियो दुबैले राम्रो प्रतिक्रया पायो । यसै गीतले गायक र ‘कार्टुन क्रियु’का सबै सहस्यहरुलाई संगीतमा स्थापित गराइदियो । यस गीतको भिडियोलाई यो समाचार तयार पार्दासम्म १ करोड ४५ लाख भन्दा धेरै पटक हेरिएको छ ।


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको