एक पैसामा किनेको औषधि ३ रुपैयाँमा बेच्दै मनमोहन कार्डियो

बिहिबार, १४ बैशाख २०७४


काठमाडौं, सरकारी सेवा–सहुलियतमा चल्ने मनमोहन कार्डियो थोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरको फार्मेसी (औषधि पसल)ले यो वर्ष पाँच करोडभन्दा बढी नाफा कमाएको छ । 

 

यहाँ पाइने धेरैजसो औषधि खुद्रा पसलको दाँजोमा पचास प्रतिशत सस्तो राखेर यति नाफा कमाइएको हो । ‘हामीले सुपथ मात्र नभई धेरैजसो औषधि बजारभन्दा करिब आधा मूल्यमा दिँदै आएका छौं,’ अस्पतालका निर्देशक प्रा.डा.उत्तमकृष्ण श्रेष्ठले भने– ‘हामी दक्ष फर्मा्सिस्टको माध्यमले बिरामीलाई सल्लाहसहित २४ सै घण्टा सेवा दिन्छौं ।’

 

उच्च रक्तचापको औषधि एम्लोडिपिनको एमआरपीको ५ रुपैयाँ मूल्य रहे पनि अस्पतालको फार्मेसीमा यो २ रुपैयाँ ६५ पैसामा पाइने उल्लेख गर्दै फर्मासिस्ट अमृत पोखरेल भन्छन्, ‘धेरैजसो औषधि टेन्डरबाट खरिद गर्छौं ।’ स्रोतका अनुसार मुटुको चाल नियन्त्रण गर्न उपयोग गरिने अधिकतम बिक्री मूल्य (एमआरपी) ३ रुपैयाँ रहेको मेटो प्रोलोन औषधि अस्पतालको फार्मेसीले प्रतिचक्की १ पैसामा खरिद गरेर डेढ रुपैयाँमा बेच्छ । पाँच मिलिग्रामको एउटा एम्लोडिपिन औषधि अस्पतालले २१ पैसामा खरिद गर्छ । अस्पतालले औषधिको अधिकतम बिक्री मूल्य (एमआरपी)मा आफू औषधि खरिद गर्दा परेको मूल्य घटाउँछ र बाकी रहेको नाफामा आधा आफू र आधा उपभोक्तालाई दिन्छ । 

 

मुलुकका सबै सरकारी अस्पतालमा फार्मेसी सुचारु भए बिरामीले औषधि खरिदमा धेरै आर्थिक राहत पाउने उल्लेख गर्दै पोखरेलले भने, ‘यति मात्र नभई हामीले बिरामीलाई औषधिसम्बन्धी परामर्श समेत दिने भएकाले यसबाट औषधिको सही प्रयोगको सुनिश्चितता हुन्छ ।’ डाक्टरको पुर्जामा कहिलेकाहीं गल्तीसमेत हुन सक्ने सम्भावना भए पनि फर्मा्सिस्टहरूले उक्त गल्तीलाई पहिचान गरेर बिरामीले गलत औषधि सेवन गर्नबाट रोक्न सक्ने उनको धारणा छ ।  पखालाको औषधि मेट्रोन खाँदा सँगै मदिरा सेवन नगर्ने, चिनीको औषधि खाँदा कहिलेकाहीं हाइपोग्लाइसेमिया (रगतमा चिनीको कमी) भएर ढल्ने सम्भावना हुँदा यस्ता बिरामीले सदैव चकलेट बोक्ने, रुघा लाग्दा एन्टिएलर्जिक औषधिले निद्रा लगाउने भएकाले गाडी मेसिन नचलाउने जस्ता थुप्रै सुझावहरू औषधि किन्न आएकाहरूलाई फर्मसिस्टले दिन्छन् । 

 

स्वास्थ्य मन्त्रालय स्रोतको दाबीअनुसार विभिन्न सरकारी अस्पतालले निजी औषधि पसललाई फस्टाउन दिन विभिन्न प्रलोभनमा परी हाल खोलिएको आफ्नो फार्मेसीमा ध्यान दिएको छैन । यसैले हालै खोलिएका सरकारी अस्पतालमा भएका फार्मेसीबाट सबै औषधि पाउन कठिन छ ।  


(आजको कान्तिपुर दैनिकमा अतुल मिश्रले लेखेको समाचार) 


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको