बुद्धिबंगारा : के यो बुद्धी आउने बंगारा हो त ?
बिहिबार, १४ बैशाख २०७४

बुद्धिबंगारा भन्नाले हाम्रो मुखमा युवावस्थामा उम्रने सबभन्दा पछाडिको बंगारा भन्ने बुझिन्छ। तर यो दाँत सबैमा हुन्छ नै भन्न सकिँदैन। कोही मानिसमा यो दाँत बनेकै हुँदैन भने कोही मानिसमा मुखको हड्डीमा पर्याप्त ठाउँ नहुनाले यो दाँत उम्रन पाँउदैन र हड्डी वा गिजाभित्रै रहेको हुन्छ।
कतिपय मानिसहरुमा बुद्दि बंगारा भनेको बुद्दि आउने बंगारा हो र यसलाई उखाल्नाले बुद्दि कम हुने, स्मरण शक्तिमा ह्आस आउने वा आँखा कमजोर हुनेभन्ने भ्रम रहेको पाइएको छ। बुद्धिबंगाराको मानिसको बुद्दि, स्मरण शक्ति र आँखाको दृष्टिसँग केही पनि सम्बन्ध रहेको हुँदैन। अन्य दाँतहरु १२/१३ वर्षभित्रै आइसक्छ जुन वाल्यावस्था हो।
तर बुद्दि बंगारा १७-२५ वर्षभित्रमा मात्र आउँछ जुन युवावस्था हो। बाल्यावस्थाको विपरित युवावस्थामा मानिसको बुद्दिविवेकमा निकै परिपक्वता आइसकेको हुन्छ। त्यही भएर योदाँतलाई बुद्दि बङ्गारा भनिएको मानिन्छ। अन्य दाँतहरु झै यो दाँतले गर्दा पनि थुप्रै समस्या आँउन सक्छन्। मानिसमा देखिने प्रायस् समस्याहरु किरा लागेर दाँत दुख्ने वा चिसो तातो खाँदा सिरिङ सिरिङ हुने, दाँत गालापट्टि उम्रेर गालामा घाउ हुने, राम्ररी नउम्रेको दाँतलाई छोप्ने गिजाभित्र पिप जमेर गिजा र गाला सुन्निने हुन् जसले गर्दा ज्वरो आउने, खान पिउन र मुख खोल्न गाह्रो हुने गर्दछ।
यतिमात्र नभएर यदि यो पुरै उम्रिएको वा नउम्रिएको अवस्थामा बाङ्गो भएर बसेको छ भने छेउको दाँतलाई धकेलेर खियाइ किरा लाग्ने सम्भावना पनि बढाइदिने गर्दछ। यो दाँत मुखको पछिल्लो भागमा भएकोले सफा गर्न त गाह्रो हुन्छ नै, अझ बाङ्गो भएर उम्रेको छ भने त झन् खानेकुरा फसेर किराको घर नै बन्दछ। पुरै उम्रेको छैन भने पनि यो दाँत र त्यसलाई ढाक्ने गिजाको बिचमा खानेकुरा फस्दछ जुन निकाल्न अफ्ठ्यारो हुन्छ र त्यसबाट किरा लाग्ने, पिप जम्ने र फलतस् गिजा र गाला सुन्निने हुन्छ। समयमै उपचार भएन भने वरिपिरको हड्डी पनि खिइन सक्छ।
यो दाँतले चपाउन केही पनि मद्दत गर्दैन र सबैभन्दा पछाडि भएकोले सुन्दरतामा पनि यसको केही योगदान हुँदैन। त्यसैले यो दाँतले समस्या गरेमा दन्तचिकित्सककोमा गएर उखाले केही फरक पर्दैन। नसासम्म किराले नछोएको अवस्थामा दन्तचिकित्सकको सल्लाह अनुसार दाँतमा सिमेन्ट भरेर यसलाई बचाँउन पनि सकिन्छ।त्यसैले बुद्दिबंगाराले बुद्दि आँउछ भन्ने भ्रमलाई त्यागौँ, समस्या परे बेलैमा उपचार गरौँ।
Source: Hamrodoctor Online
To read in your mobile download our android app from google play store. Click Here To Download App
प्रतिक्रिया दिनुहोस्