सेक्सी टाइपका छोटा लुगा मनपर्छ...

शनिबार, १६ बैशाख २०७४


‘कारबाही’ फिल्मबाट अभिनय यात्रा थालेकी महिमा सिलवालले हालसम्म दुई दर्जन फिल्ममा अभिनय गरिसकेकी छिन् । एक दर्जनभन्दा बढी म्युजिक भिडियोमा अभिनय गरेकी उनले पछिल्लो समय जयकिसन बस्नेतको ‘धुम–२’ मा पारिवारिक भूमिका निर्वाह गरेकी छिन् । हातमा केही फिल्मको अफर रहे पनि ‘ओके’ गरिनसकेको बताउने महिमाका रोजाइ यस्ता छन् :

 

 

ड्रेस :  मौसमअनुसारको फेसन गर्न मन लाग्छ । जाडोभन्दा गर्मी याम मलाई मनपर्छ । मेरो रोजाइमा सेक्सी टाइपका छोटा लुगा पर्छन् । छोटा लुगा लगाउँदा स्मार्ट त देखिन्छ नै, छरितो पनि हुन्छ । म प्रायः स्कर्ट, टिसर्ट, पाइन्ट, सर्ट लगाउने गर्छु । कार्यक्रम हेरी लेहेंगा, कुर्था, वानपिस पनि लगाउने गरेकी छु । साडी पनि मनपर्छ । तर, लगाउन र सम्हाल्न झन्झटिलो हुने भएकाले त्यस्तै अवसरमा मात्र लगाउँछु । फिल्ममा भने चरित्रअनुसार ड्रेस अप गर्न मलाई आपत्ति छैन ।

 

भूमिका : कलाकार भएको नाताले म जस्तोसुकै भूमिका पनि सहज रूपमै गर्न सक्छु, गर्ने गरेकी छु । अहिलेसम्म मैले लगभग सबै प्रकारका भूमिका निर्वाह गरिसकेकी छु । ‘सुब्बा साहेब’ फिल्ममा अलि नेगेटिभ चरित्रमा थिएँ भने हालै सुटिङ सकिएको धुम–२ मा रोनाधोना भूमिकामा छु । ‘ब्वायफ्रेन्ड’ फिल्ममा निर्वाह गरेको प्रिया पात्रको भूमिका मलाई विशेष लागेको छ ।

 

खानपिन : मलाई हत्तपत्त बाहिरको खाना खान नपरे हुन्थ्यो भन्ने लाग्छ । घरकै खाना मीठो लाग्छ । होटेलमा खानुपर्यो भने पनि सादा खाना खान्छु । नेपाली खाना नै मेरो रोजाइमा पर्छ । सुटिङ हुँदा सुटिङकै खाना खाने गर्छु, मलाई तेलमा तारेको खानेकुरा मन पर्दैन । अमिलो, पिरो भने बहुत मनपर्छ । म कोल्ड ड्रिंक्स कहिल्यै पिउँदिनँ । आइसक्रिम भने कहिलेकाहीँ लिन्छु । माछामासु खाने गरेकी त छु, तर मोटाइने डरले धेरै लिन्नँ । प्रशस्त मात्रामा पानी पिउँछु ।

 

कलाकार : मलाई सबै नेपाली कलाकार उत्तिकै मनपर्छ । सबैका आ–आफ्नै क्षमता र विशेषता छन् । आफूसँग काम गरेका सबै कलाकार उत्तिकै सहज लाग्छन् । आफूभन्दा सिनियर र जुनियरबाट पनि केही न केही सिक्न पाइन्छ । त्यसैले म सबै कलाकारलाई उत्तिकै सम्मान गर्छु ।

 

 

फिल्म : मलाई चले पनि, नचले पनि आफूले अभिनय गरेका सबै फिल्म मनपर्छ । सानोमा हेरेका फिल्ममा ‘कुसुमे रुमाल’, ‘स्वर्ग’, ‘प्यारी बहिनी’, ‘मालती’ मन परेका फिल्म हुन् । पछिल्लो समय हेरेकोमा ‘छक्का पन्जा’ मन पर्यो ।

 

आफ्नै : म आफैँमा बेस्ट छु । तन मात्र होइन, मनकी पनि उत्तिकै सुन्दर छु । कसैलाई घात गर्ने सोच कहिल्यै आउँदैन । सबैलाई सम्मान गर्छु । सबैको अस्तित्व स्वीकार गर्छु । प्रायः मान्छेहरू मेरो ओठ, आँखा र फिगर मनपर्छ भन्छन् । मलाई चाहिँ आफ्नो हरेक अंग उत्तिकै राम्रो लाग्छ । आफूले आफैँलाई माया नगरे कसले गर्छ र ?


Source: Nayapatrika


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको