थाइराइड क्यान्सरका झुक्याउने लक्षण

मङ्गलबार, ०४ असोज २०७३

थाइराइड हर्मोन उत्पादन बढी वा कम भए पनि शरीरमा समस्या निम्तिन्छ । शरीरलाई नभई नहुने थाइराइड हर्मोन उत्पादन गर्ने यो ग्रन्थिको महत्व झनै ठूलो छ । यही थाइराइड ग्रन्थिमा विभिन्न समस्या निम्तिने गर्छ । क्यान्सरजस्तो खतरा पनि पैदा हुन्छ । थाइराइड ग्रन्थिमा कसरी हुन्छ क्यान्सर ? क्यान्सरका कारण र लक्षण के–के हुन्छन् ? कसरी सम्भव हुन्छ उपचार ? क्यान्सररोग विशेषज्ञ अविस अधिकारीले स्पष्ट पारेका छन् :

थाइराइड क्यान्सर रुद्रघन्टीको ठ्याक्क मुनि एउटा ग्रन्थि हुन्छ । यसैलाई थाइराइड ग्रन्थि भनिन्छ । यो ग्रन्थिको काम थाइराइड हर्मोन बनाउने हो । थाइराइड हर्मोन यति महत्वपूर्ण छ कि यसका काम धेरै छन् । शरीरको विकास, शरीरका अंगहरूको सन्तुलन र पाचन पनि सबै थाइराइड हर्मोनका काम हुन् । यही थाइराइड ग्रन्थिमा क्यान्सर हुनुलाई थाइराइड क्यान्सर भनिन्छ

जोखिम उमेर

थाइराइड क्यान्सर कुनै उमेरविशेषलाई हुने रोग होइन । स्कुले केटाकेटीदेखि बुढाबुढीसम्मलाई यो क्यान्सर हुनसक्छ । गएका केही दशकमा थाइराइड क्यान्सर निकै बढेको पाइएको छ । थाइराइड क्यान्सरका रोगी अहिले धेरै देखिनुमा उपचार प्रविधिको विकास, स्वास्थ्यप्रतिको चेतना र दक्ष चिकित्सकको उत्पादनले पनि हो । विशेषगरी, ४०–५० वर्ष उमेरका व्यक्तिमा यो क्यान्सर बढी देखिने गरेको छ । थाइराइडका अन्य समस्या पुरुषभन्दा महिलामा बढी देखिएजस्तै थाइराइड क्यान्सर पनि महिलामै बढी भएको पाइएको छ ।

 मुख्य कारण

थाइराइड क्यान्सर निम्तिने कारण विभिन्न छन् । अस्वस्थ खानपान, विषाक्त तत्व प्रयोग गरिएका फलफूल र तरकारी सेवन, वातावरणीय प्रदूषण मुख्य कारण हुन् । यी कारणले थाइराइड ग्रन्थिमा असर         पु¥याएर क्यान्सर निम्त्याउने गर्छन् ।

झुक्याउने लक्षण

थाइराइड क्यान्सरको मुख्य लक्षण भनेको घाँटीमा आउने गिर्खा हुन् । थाइराइड ग्रन्थि वा यसवरिपरि कुनै गिर्खाहरू छन् भने वेलैमा जाँच गराउन जरुरी हुन्छ । थाइराइड क्यान्सरको लक्षणका रूपमा देखिने यस्ता गिर्खा दुख्ने र पोल्ने गर्दैनन् । यस्तो लक्षणले धेरैलाई झुक्याउने गर्छ र क्यान्सरको अन्तिम अवस्थामा पु¥याइदिन्छ । नदुख्ने लक्षणका कारण अधिकांश बिरामी निकै ढिलो मात्र अस्पताल पुग्छन् । वेलैमा अस्पताल नगएकै कारण थाइराइड क्यान्सर निको गर्न गाह्रो हुनसक्छ ।

गिर्खाको जाँच

थाइराइड ग्रन्थि र यसवरिपरि गिर्खाहरू आएका छन् भने वेलैमा डाक्टरलाई भेट्न जरुरी हुन्छ । घाँटीमा आउने सबै गिर्खा क्यान्सर नहुन पनि सक्छ । तर, जाँच गराएर स्पष्ट हुनैपर्छ । गिर्खाको एफएनएसी (सानो सुईले गिर्खाबाट केही कोष निकालेर गरिने जाँच) गर्नुपर्छ । यो जाँच गरेपछि गिर्खा क्यान्सर हो या होइन थाहा हुन्छ ।

उपचार

थाइराइड क्यान्सर विभिन्न प्रकारका हुन्छन् । तर, धेरैजसो भेटिने क्यान्सर भनेको follicular र papillary थाइराइड क्यान्सर नै हुन् । यी दुवै क्यान्सरको उपचार गर्ने तरिका एउटै हुन्छ । थाइराइड ग्रन्थिको अप्रेसन गरेर नै उपचार हुन्छ । क्यान्सर भएको निश्चित भइसकेपछि शल्यचिकित्सकले थाइराइड ग्रन्थि निकालेर उपचार गर्छन् । अप्रेसनपछि विकिरणयुक्त ‘ओयोडिन स्क्यान’ भन्ने उपचार गरिन्छ । यो उपचारबाट शरीरमा थाइराइड क्यान्सर कति बाँकी छ या निर्मूल भइसक्यो भन्ने जाँच र उपचार हुन्छ । केहीलाई भने अलि उग्र प्रकारको बलबउबिकतष्अ थाइराइड क्यान्सर भएको हुन्छ । यो क्यान्सरको उपचार गर्न गाह्रो हुन्छ । यो क्यान्सरमा अप्रेसनपछि रेडियोथेरापी र किमोथेरापी पनि गर्नुपर्ने हुन्छ ।

निको हुने सम्भावना

थाइराइड क्यान्सर निको हुने सम्भावना ९० प्रतिशतभन्दा पनि बढी हुन्छ । वेलैमा रोग लागेको थाहा भए र समयमै उपचार भए थाइराइड क्यान्सरलाई जित्न गाह्रो छैन । तर, क्यान्सर क्रोनिक भइसकेको अवस्थामा भने जटिलताहरू थपिँदै गएका हुन्छन् । त्यसैले थाइराइड ग्रन्थि र यसआसपासमा निम्तिने सामान्य खालका समस्यामा पनि हेलचेक्र्याइँ गर्नु हुँदैन । सामान्य अवस्थामा पनि थाइराइड ग्रन्थिको नियमित चेकजाँच गराउनु राम्रो हुन्छ ।

उपचारपछिको जीवन

उपचारपछि थाइराइड क्यान्सरको उपचार सकिन्छ । रोग निको भएपछि बिरामीले सामान्य जिन्दगी बिताउन सक्छन् । तर, जिन्दगीभर नै हरेक दिन थाइराइड हर्मोनको गोली औषधि भने खानुपर्ने हुन्छ

डा. अविस अधिकारी क्यान्सररोग विशेषज्ञ 

ग्रान्डी इन्टरनेसनल अस्पताल


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको