नेपाली नर्सलाई अब बेलायत प्रवेश सजिलो

बिहिबार, २१ बैशाख २०७४



युरोपियन युनियन (इयू) बाट बेलायत बाहिरिने भएपछि बेलायतका अस्पतालहरुमा नर्सको संख्यामा भारी गिरावट आएको छ। त्यसैले जनशक्ती परिपूर्तिका लागि बेलायत सरकारले नयाँ नियम ल्याउँदा नेपाल, भारत, फिलिपिन्स जस्ता देशबाट ठूलो संख्यामा नर्सहरु बेलायत प्रवेश गर्ने बाटो खुलेको छ।

 

बेलायत आएर ‘नर्सिङ रजिस्ट्रेसन कोर्स’ गर्नका लागि पहिले नेपाली नर्सहरुले अँग्रेजी परिक्षा (आइएलटिएस) का सबै व्याण्डमा ७ अंक ल्याउनू पर्ने नियम थियो। नर्सिङ रजिस्ट्रेसन कोर्सको परिक्षामा पनि एकैपटकमा पास गर्नुपर्ने हुनाले नेपाली नर्सहरुलाई अस्पतालमा काम गर्ने योग्यताको मापदण्ड छिचोल्न निकै कठिन थियो। तर अहिले नियम परिवर्तन भएपछि पहिलेभन्दा सहज भएको छ। नयाँ नियम अनुसार अंग्रेजी परिक्षा आइएलटिएसमा ६ महिना भित्रमा २ पटक परिक्षा दिएर सबै व्याण्डमा ७ अंक ल्याएमा त्यस्ता नर्सहरु बेलायतमा जागिरका लागि योग्य हुनेछन्।

 

त्यसैगरी अब नेपाली नर्सहरुले नर्सिङ रजिस्ट्रेसन परिक्षा पनि ३ पटकमा पास गर्न पाउने प्रावधान तय भएको छ।

 

‘यो नियमले अब नेपाली नर्सहरुलाई बेलायत प्रवेश सहज भएको छ’ नेपलिज नर्सिङ एसोसिएसन यूकेका उपाध्यक्ष विनोदविकास सिंखडाले नेपालखबरसँग खुशी व्यक्त गर्दै भने, ‘नयाँ नियम लागू भएपछि नेपालबाट सयौं नर्सहरुले बेलायतका लागि भिसा आवेदन गरेको खबर पाइएको छ।’

 

 

 

सन् २०१५ मा मात्र युरोपका मुलुकबाट ९ हजार ३ सय ८८ नर्सले बेलायत आएर काम सुरु गरेका थिए तर बेलायत इयूबाट बाहिरिने भएपछि यहाँ आएका ९० प्रतिशत नर्सहरु घर फर्केको पछिल्लो तथ्याङ्कमा उल्लेख गरिएको छ। बेलायतको नर्सिङ एण्ड मिडवाइफ काउन्सिलले सार्वजनिक गरेको यो तथ्याङ्क अनुसार गत महिना मात्रै बेलायतका विभिन्न अस्पतालहरुमा २४ हजार नर्सहरुको माग भएको छ।

 

नर्सिङ एण्ड मिडवाइफ काउन्सिलका मुख्य कार्यकारी ज्याकी स्मिथले भनेका छन् ‘बेलायत इयूबाट बाहिरिएपछि युरोपेली मुलुकबाट बेलायतमा नर्सिका लागि आउनेहरुको संख्या घटेकाले यस्तो अभाव खड्किएको हो।’

 

बेलायतको नर्स एण्ड मिडवाइफ एसोसिएसनले पनि यस्तै तथ्य सार्वजकि गरेको छ। एसोसिएसनका अनुसार गत वर्ष जुलाई महिनामा मात्र युरोपेली मुलुकबाट १३ हजार ४ नर्सले बेलायतमा नर्सिङ पेकाको लागि आफ्नो नाम दर्ता गरेको तर त्यसपछि १ सय १ जनाले मात्रै बेलायतमा आएर काम गरेको रेकर्ड सार्वजनिक गरेको छ।

 

हाल बेलायतमा नर्सिङ एण्ड मिडवाइफ काउन्सिमा दर्ता भएका नेपाली नर्सको संख्या २ हजार ८ सय छ। उपाध्यक्ष सिंखडा भन्छन्, ‘अहिले कसैले आइएलटिएसमा ७ ल्यायो भने नेपालबाट सोझै बेलायतको वर्क परमिट भिसा पाउने व्यवस्था भएको छ, भिसा प्रक्रिया पनि पहिलेभन्दा सहज छ। त्यसैले यो संख्या ह्वात्तै बढ्ने अनुमान गरिएको छ।’


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको