स्वास्थ्य कर हटाउन अर्थ मन्त्रालयलाई प्रस्ताव
सोमबार, ०८ जेठ २०७४

सरकारले लिँदै आएको ५ प्रतिशत स्वास्थ्य सेवा कर हटाउन स्वास्थ्य मन्त्रालयले अर्थलाई प्रस्ताव गरेको छ । बिरामीबाट सेवा कर लिँदा उपचार महँगो हुने भन्दै स्वास्थ्य मन्त्रालयले यस्तो प्रस्ताव अघि सारेको हो । आर्थिक ऐनअनुसार सरकारले स्वास्थ्यमा ५ प्रतिशत सेवा कर लिँदै आएको छ । ‘स्वास्थ्यमा ५ प्रतिशत सेवा कर हटाउन मन्त्रालयले अर्थलाई प्रस्ताव पठाएको छ,’ स्वास्थ्य सचिव सेनेन्द्र उप्रेतीले भने । उपचार सर्वसुलभ र विपन्नको पहुँचयोग्य बनाउन यस्तो अभियान थालेको स्वास्थ्यमन्त्री गगनकुमार थापाले बताए । मन्त्री थापाले भने, ‘उपचार खर्च नभएकै कारण कुनै पनि नेपालीले जीवन गुमाउनु भएन,’।
स्तन क्यान्सरको परीक्षण सेवा सुरु
परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल थापाथलीमा स्तन क्यान्सरको परीक्षण सेवा सुरु भएको छ । परीक्षण गर्ने उपकरण भर्खरै भित्र्याएकाले धेरैलाई जानकारी नहुँदा फाटफुट मात्रै सेवाग्राही आउने गरेको अस्पतालका निर्देशक डा. अमिरबाबु श्रेष्ठले बताए । अस्पतालमा क्यान्सरकै विशेष उपचार हुँदैन । यो उपकरणले रोग परीक्षण गर्न सघाउ मात्रै पुर्याउने डा. श्रेष्ठले बताए । यसलाई म्यामोग्राम विधि भनिन्छ ।
अस्पतालकै कर्मचारीको उपचारबाट म्यामोग्राम सेवाको प्रारम्भ गरिएको अस्पतालका प्रशासन प्रमुख अमर अमात्यले बताए । निजी अस्पतालमा महँगो पर्ने यो सेवा प्रसूतिमा १२ सय रुपैयाँ मात्र लाग्ने उनले बताए । प्रायः दूध उत्पादन गर्ने नलीबाट सुरु हुने र कहिलेकाहीं तन्तुहरूको झुप्पाबाट पनि यसको प्रारम्भ हुने क्यान्सर विशेषज्ञहरू बताउँछन् ।
(आजको कान्तिपुर दैनिकमा लेखेको समाचार)
To read in your mobile download our android app from google play store. Click Here To Download App
प्रतिक्रिया दिनुहोस्