२७३ स्थानीय तहको परिणाम आउँदा ११७ जितेर एमाले पहिलो
सोमबार, ०८ जेठ २०७४

काठमाडौं । पहिलो चरणको स्थानीय निर्वाचन भएको नवौं दिनसम्म मतगणना जारी रहँदा २८३ स्थानीय तहमध्ये २७३ को मतपरिणाम सार्वजनिक भएको छ । बाँकी १० स्थानीय तहमध्ये ४ महानगर, एक उपमहानगरपालिकासहित ९ तहको मतगणना जारी छ । दोलखाको मेलुङमा गणना हुन सकेको छैन ।
मतगणना भइरहेका अधिकांश महानगर र नगरपालिकामा एमालेको अग्रता छ । पछिल्लो समय हेटौंडा उपमहानगरपालिकामा पनि एमालेले अग्रता लिएको छ । काठमाडौं, भरतपुर र पोखरा महानगरमा एमालेको अग्रता छ ।
ललितपुर महानगरपालिकामा कांग्रेसको अग्रता छ । काठमाडौंका बुढानिलकण्ठ र कागेश्वरी मनहरा नगरपालिकामा एमालेको अग्रता छ । भक्तपुरको चाँगुनारायण नगरपालिकाको मतगणना स्थगित भए पनि एमालेको अग्रता छ । कालिकोटको नरहरीनाथ गाउँपालिकाको अग्रताबारे जानकारीप्राप्त भएको छैन ।
सोमवार मध्यान्ह भक्तपुरको मध्यपुर थिमी नगरपालिकामा मेयर जितेर एमालेले ११७ स्थानीय तहमा बर्चश्व कायम गर्दै सबैभन्दा ठूलो दल बनेको छ । उसले ४७ नगरपालिका जितेको छ ।
नेपाली कांग्रेसले २९ नगरपालिकासहित १०३ स्थानीय तह जितेर दोस्रो स्थान सुनिश्चित गरेको छ । माओवादी केन्द्रले ११ नगरपालिकासहित ४६ स्थानीय तह जितेर तेस्रो स्थान कायम गरेको छ ।
नेपाल मजदूर किसान पार्टीले एक नगरपालिका जितेर भक्तपुरमा आफ्नो परम्परागत बर्चश्व यथावत राखेको छ । राष्ट्रिय जनमोर्चा, राप्रपा र नयाँ शक्तिले पनि एक-एक गाउँपालिका जितेका छन् ।
मुस्ताङ र डोल्पामा गरी ३ स्वतन्त्र उम्मेदवार गाउँपालिका अध्यक्ष भएका छन् । मुस्ताङका स्वतन्त्र उम्मेदवार कांग्रेसको रोमी गौचन बिरोधी समूहबाट निर्वाचित भएका हुन् भने डोल्पाका स्वतन्त्र एमालेका बागी उम्मेदवार भएर जितेका हुन् ।
पहिलो चरणको चुनाव परिणाम अन्तिम चरणमा पुग्दा एमालेले ३ नम्बर प्रदेशमा बहुमत प्राप्त गर्ने निश्चित देखिएको छ । नेपाली कांग्रेसले ४ नम्बर प्रदेशमा बहुमत प्राप्त गरेको छ भने ६ नम्बर प्रदेशमा तीनै पार्टीको बराबरी शक्ति देखिएको छ । एउटा स्थानीय तहको मतपरिणाम आउन बाँकी रहँदा एमालेले २६ तथा कांग्रेस र माओवादीले २५/२५ स्थानीय तहमा जित हासिल गरेका छन् ।
Source: Onlinekhabar
To read in your mobile download our android app from google play store. Click Here To Download App
प्रतिक्रिया दिनुहोस्