आत्मनिर्भर औषधि आयात रोक्ने स्वास्थ्य मन्त्रालयको कदम सह्रानीयः उद्योग वाणिज्य महासंघ

मङ्गलबार, ०९ जेठ २०७४

 

काठमाडौं– नेपाली औषधि कम्पनीहरुले प्रसस्त उत्पादन गर्न सक्ने औषधि आयातमा रोक लगाउन स्वास्थ्य मन्त्रालयले चालेको कदमको निजी क्षेत्रले स्वागत गरेका छन्। नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल औषधि उत्पादक संघ र  नेपाल आयुर्वेदिक संघले संयुक्त पत्रकार सम्मेलन गरी सरकारले गरेको विश्वासमा आफूहरु खरो उत्रिने प्रतिबद्धता जनाएका छन्।

 

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष समेत रहेका औषधि व्यवसायी उमेशलाल श्रेष्ठले स्वास्थ्य मन्त्रालयले स्वदेशी उद्योग प्रवद्र्धनमा चालेको कदमको स्वागत गरे। उनले भने, ‘हामी औषधि उत्पादनमा कति सक्षम छौँ भनेर नाकाबन्दीका बेला देखाइसकेका छौँ। त्यस्तो अवस्थामा पनि हामीले अभाव हुन दिएनौँ। सामान्यतया दिनमा एक सिफ्ट औषधि उत्पादन गर्ने हामीले तीन सिफ्टसम्म उत्पादन गरेका थियौँ।’

 

आयातमा रोक लगाइने औषधिहरुको मूल्य भारतीय कम्पनीले लिँदै आएको मूल्यभन्दा नबढ्ने उनीहरुले जनाएका छन्। नेपाल औषधि उत्पादक संघका अध्यक्ष शंकर घिमिरेले भने, ‘सरकारले आयातमा रोक लगाउन लागेको नेपाली औषधिको मूल्य भारतीय कम्पनीले लिइरहेको भन्दा महँगो हुँदैन।’ अध्यक्ष घिमिरेले सरकारसँगै मिलेर ती औषधिको मूल्य समायोजन गर्ने बताउँदै जिएमपी पूरा गरेरै औषधि बनाइरहेकाले गुणस्तरमा विश्वस्त रहन आग्रह गरेका थिए।

 

स्वास्थ्य मन्त्री गगन थापा नेपाली कम्पनीहरुले प्रसस्त उत्पादन गर्न सक्ने ३० वटा औषधि विदेशबाट आयात गर्न रोक्ने लगाउने तयारीमा छन्। सरकारले नयाँ नभई हाल बजारमा रहेका र नेपाली बिरामीले उपभोग गरिरहेकै औषधिको प्रवद्र्धनका लागि निर्णय लिन लागेकाले उपभोक्ता डराउनुपर्ने आवश्यकता नरहेको औषधि उत्पादक संघका महासचिव दीपक प्रधानले स्पष्ट पारे। उनले भने, ‘विदेशी औषधि आयात भएपछि नेपाली कम्पनीहरुले औषधि पुर्‍याउन नसक्ने हुन् कि, कमसल पर्छ कि भन्ने भ्रममा नपरे हुन्छ। हामी यसमा गम्भीर छौँ। हामीसँग प्रसस्त उत्पादन क्षमता पनि छ।’

 

संघका वरिष्ठ उपाध्यक्ष दिपकप्रसाद दाहालले अहिले पनि नेपाली औषधि कम्पनीले ४५ प्रतिशत हिस्सा ओगटिरहेको जनाउँदै नेपाली उत्पादमाथि भ्रम नराख्न आग्रह गरे। उनले औषधि उद्योगलाई प्रवद्र्धन गर्न भारत सरकार र बंगलादेश सरकारले लिएका नीतिबारे पनि जानकारी गराएका थिए। 

 

नेपाल उद्योग परिसंघका अध्यक्ष कृष्ण अधिकारीले व्यापार घाटा कम गर्न पनि आत्मनिर्भर अवस्थामा रहेका नेपाली औषधिलाई सरकारले प्रवद्र्धन गर्नुपर्ने बताए । उनले भने, ‘सरकारले नेपाली उद्योगलाई प्रवद्र्धन गर्न नसकेका कारण ८ अर्ब रुपैयाँ घाटा खेपिरहनुपरेको छ। आफ्नै बलबुतामा यत्रो बलियो बन्दै गएको औषधि उद्योगलाई सरकारले प्रोत्साहन गर्नुपर्छ।’

 

नेपाल आत्मनिर्भर रहेको औषधिको आयातमा रोक लगाउँदा  आयातकर्ताले आत्तिनु नपर्ने नेपाल औषधि प्रवद्र्धन संघका महासचिव गान्धी शर्माले बताए। उनले भने, ‘हामीलाई नेपालमा उत्पादन हुने बाहेकका औषधि दर्ता गरेर बिक्री गर्न छुट छँदैछ।’ उनी आबद्ध संस्थाका केही सदस्य औषधिको मूल्य नियन्त्रण गर्ने र नेपाली उत्पादनलाई प्रवर्धन गर्ने स्वास्थ्य मन्त्रालयको कदमप्रति असन्तुष्टि जनाउँदै आन्दोलनमा छन्। तर यसबारे महासचिव शर्माले आन्दोलन गर्ने संस्थागत निर्णय नरहेको स्पष्ट पारे।

 

अहिले नेपाली औषधि उद्योगमा २६ अर्ब लगानी पुगिसकेको छ। नेपाली औषधि उद्योगमा १५ हजार दक्ष जनशक्तिले प्रत्यक्ष रोजगारी पाएका छन्। यस्तै, दुई लाखभन्दा बढी मानिस यो उद्योगबाट अप्रत्यक्ष रुपमा रोजगार छन्।


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको