महिलालाई दुःख दिने फिस्टुला, उपचार निःशुल्क तर रोग लुकाउँछन्

बुधबार, १० जेठ २०७४

फाइल तस्बिर: द गार्जियन


काठमाडौं-  अब्स्टेट्रिक फिस्टुला (निरन्तर अनियन्त्रित रुपमा पिसाब बग्ने समस्या) भएका महिलाहरुको उपचार, रोकथाम, जनचेतना र पुनस्र्थापनाका लागि नीति निर्माण गर्न स्वास्थ्य मन्त्रालय अन्तर्गतको परिवार स्वास्थ्य महाशाखाले विज्ञहरुबीच दुई दिने कार्यशाला सुरु गरेको छ। 

 

सरकारले हालसम्म स्वामित्व लिएर फिस्टुलाको उपचार, रोकथाम जस्ता कार्यक्रम गर्न सकेको छैन। हाल संयुक्त राष्ट्र संघीय जनसंख्या कोष (यूएनएफपिए)को सहयोगमा पाटन हस्पिटल, मोडल हस्पिटल, विपी प्रतिष्ठान धरान र मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पताल सुर्खेतमा फिस्टुला पिडित महिलाहरुको निःशुल्क उपचार हुँदै आएको छ।

 

विश्व फिस्टुला दिवसको अवसरमा मंगलबार काठमाडौंमा सुरु कार्यशालामा बेलायतका फिस्टुला विशेषज्ञ सर्जन डा. सिर्ली, फिस्टुलाको नेशनल सेन्टर, विपी प्रतिष्ठान धरानका राष्ट्रिय प्रशिक्षक डा.मोहनचन्द्र रेग्मी, स्वास्थ्यमन्त्रालय, परिवार महाशाखाका प्रतिनिधिहरु सहित २० जना विज्ञहरु सहभागी कार्याशाला गाउँ गाउँमा फिस्टुलाबाट पिडित भएर बसेकाहरुको उपचार, गाउँ गाउँमा जनचेतना, रोकथामका विषयमा केन्द्रीत रहेको राष्ट्रिय प्रशिक्षक डा.रेग्मीले बताए । दुई दिने कार्यशालाबाट निकालिएको निष्कर्षका आधारमा परिवार महाशाखाले फिस्टुला सम्बन्धि नीति निर्माण गर्ने छ।

 

फिस्टुला समस्या नेपाल जस्ता विकाससिल देशहरुमा जटिलरुपमा रहेको छ । तर यसतर्फ सरकारले पूर्णरुपमा कार्यक्रम ल्याउन सकेको छैन। बच्चा जन्मने बेलामा लामो समय व्यथा लाग्यो र तोकिएको मिति भन्दा ढिलो बच्चा जन्मियो भने बच्चाको अंगले आमाको पिसाब नलीमा प्वाल पारिदिने बढी सम्भावना हुन्छ । त्यसरी पिसाब नलिमा प्वाल परे पिसाब रोक्न सकिंदैन । यसरी निरन्तर पिसाब बगिरहने समस्यालाई अब्स्टेट्रिक फिस्टुला भनिन्छ। 

 

विकसित देशहरुमा एक शताब्दि अघि नै निर्मूल भएको यो समस्या दक्षिण एसियाली मुलुक, अरबी मुलक र अफ्रिकामा अहिलेपनि ठूलो समस्याका रुपमा रहेको छ । संयुक्त राष्ट्र संघीय जनसंख्या कोष (यूएनएफपिए)का अनुसार विश्वमा २० लाख महिला यो समस्याबाट पिडित छन् भने हरेक बर्ष ५० हजारदेखि १ लाख पिडीत थपिईरहेका छन् तर विश्वव्यापी उपचार क्षमता ६५हजार मात्र छ । नेपालमा सरकारी निकायसँग फिस्टुला सम्बन्धि तथ्याङ्क छैन । तर यस सम्बन्धि भर्खरै काम गरिरहेको फिस्टुला फ्रि नेपालका अनुसार नेपालमा करिब ५० हजार पिडीत रहेको अनुमान छ भने हरेक वर्ष ५ सय देखि १ हजारसम्म नयाँ फिस्टुला प्रभावितको संस्या बढिरहेको छ । त्यसमध्ये बढिमा १ सय जनाको मात्र उपचार हुने गरेको छ।

 

सरकारले तोकेको अस्पताल बाहेक अन्यत्र फिस्टुलाको उपचार महंगो भएकाले सर्वसाधारणका लागि समयमा उपचार गर्न कठिन पनि छ । फिस्टुलाको अप्रेसन गर्न कम्तीमा ५० हजार नेपाली रुपैयाँ लाग्छ भने २१ दिन अस्पताल बस्नुपर्छ । फिस्टुला भएपछि पीडित महिलाहरुले परिवार, आफन्त र समाजका दृष्टिमा छिःछि दुरदुरका पात्र बन्छन् । परिवारले नै शारीरिक वा साथै मानसिक समस्या समेत भोग्नु परेको अवस्था छ।

 

विश्वका गरिब तथा विकासोन्मुख देशहरुमा फिस्टुला जटिल समस्याका रुपमा रहेको छ । दक्षिण अफ्रिका, बुरुण्डी जस्ता गरिब मुलुकमा बिकराल समस्याका रुपमा रहेको निरन्तर पिसाब बग्ने रोग (फिस्टुला) नेपालमा गाउँ गाउँमा लुकेर रहेको छ । अधिकांश सर्वसाधारण लाई फिस्टुलाबारे ज्ञान छैन । यो रोगसँग धेरै जसो स्वास्थ्यकर्मीहरु समेत परिचित छैनन्। 


Source: Swasthyakhabar


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको