जहाँ हेलिकोप्टरको जोहो नगरे गर्भवतीको ज्यान जान्छ
बुधबार, १० जेठ २०७४

घुन्सा (ताप्लेजुङ)- ताप्लेजुङ लेलेप–९ घुन्साकी २१ वर्षीया फुपूफुटी शेर्पाको प्रसूतिपछि अत्यधिक रक्तस्रावले २०७० भदौमा मृत्यु भयो । लगत्तै उनकी नवजात छोरीमा श्वास प्रश्वास समस्या देखियो र एक सातापछि उनको पनि मृत्यु भयो।
लेलेप–९ घुन्साकै २० वर्षीया डोङगा शेर्पा (क)ले २०७० असार १८ मा घरमै छोरी जन्म दिइन् । छोरी जन्मिएको २ दिनमा पनि साल नझरेपछि उनलाई हेलिकोप्टरबाट काठमाडौंस्थित त्रिवि शिक्षण अस्पतालमा उपचार गरियो।
लेलेप–९ घुन्साकै २३ वर्षकी डोङगा शेर्पा (ख)ले डेढ वर्षअघि घरमै सुत्केरी हुँदा साल झरेन र हेलिकोप्टर चार्टर गरी काठमाडौं नै लगेर उनको उपचार गर्नु पर्यो । ताप्लेजुङ, ओलाङचुङगोलाकी एक महिलाले पनि २ दिन लामो व्यथा लाग्दा प्रशव हुन सकेन र उपचारको अभावमा ज्यान गुमाउनु पर्यो।
यी सबै पूर्वी नेपालको हिमाली जिल्ला ताप्लेजुङमा उपचार अभावमा अकालमा ज्यान गुमाउने र हेलिकोप्टरबाट अन्यत्र गई उपचार गरी ज्यान बचाउने केही प्रतिनिधि पात्र मात्र हुन् । घुन्सा र ओलाङचुङगोलाबाट हेलिकोप्टर चार्टर गरी काठमाडौं जाँदा स्थानीयले एक पटकमा ३ लाख २० हजार रुपैयाँ तिर्नुपर्छ।
सदरमुकाम फुङलिङबाट ५ दिन हिँडेर पुगिने ओलाङचुङगोला, घुन्सा र याङमा क्षेत्रका बासिन्दाका लागि नजिकै स्वास्थ्य संस्था र स्वास्थकर्मी नहुँदा बिरामी भएपछि उपचार गर्न हेलिकोप्टर चार्टर गरी काठमाडौं जानु वा उपचार नपाएर मर्नुको अर्को विकल्प छैन।
ओलाङचुङगोला, इखाबु र तापेथोकका बासिन्दालाई आवश्यक स्वास्थ सेवासुविधा उपलब्ध गराउन उपस्वास्थ्य चौकी छ । तर चौकीमा स्वास्थ्यकर्मी नियमित बस्दैनन्, बसे पनि भौगोलिक विकटताका कारण स्थानीय चौकी पुग्न सरदर चार दिनसम्म लाग्छ ।
चार गाविसलाई केन्द्रविन्दु बनाएर सञ्चालित लेलेप इलाका स्वास्थ्य चौकीमा जनस्वास्थ्य निरीक्षकको नेतृत्वमा चार जना स्वास्थकर्मी छन् । तर लेलेप स्वास्थ्य चौकी पुग्न इखाबु, तापेथोक र ओलाङचुङगोला मात्रै नभएर लेलेप–९ को घुन्सालगायत अन्य क्षेत्रका बासिन्दाले ५ दिनसम्म हिँड्नु पर्ने भएकाले सामान्य बिरामीले पनि उपचार पाउन कठिन छ।
‘यहाँ जटिल प्रसूति र आकस्मिक दुर्घटनामा परेकालाई तत्काल सुविधा सम्पन्न अस्पताल नपुर्याए बचाउन सकिँदैन । त्यस्ता बिरामीको उपचार गर्न काठमाडौंबाट हेलिकोप्टर मगाउनुको विकल्प छैन,’ घुन्साका चुम्दाक हिमाली शेर्पा भन्छन् । उनका अनुसार गोला, घुन्सा र फले क्षेत्रमा छोरी बुहारी गर्भवती हुनासाथ कम्तीमा सात लाख रुपैयाँ जोहो गर्नुपर्छ।
रुघाखोकी, ज्वरो र झाडापखालाजस्ता सामान्य बिरामीको उपचार गर्न पनि पाँच दिन हिँडेर स्वास्थ्य चौकी पुग्नुपर्ने बाध्ता फलेकी छेतेनफूटी शेर्पा सुनाउँछिन् । ‘सदरमुकाम २८ कोस टाढा पर्ने घुन्सा र ओलाङचुङगोला क्षेत्रका बासिन्दालाई सदरमुकाम फुङलिङ पुग्न लेलेप, तापेथोक, लिंखिम र हाङदेवा गाविस पार गर्न ५ दिन हिँड्नुपर्छ,’ उनी भन्छिन्, ‘जटिल समस्या देखिनासाथ काठमाडौंबाट हेलिकोप्टर मगाउछौं।’
बिरामी ठीक भएपछि भने उनीहरू बसबाटै फर्कन्छन् । घुन्साबाट काठमाडौं हवाईयात्रामा बढीमा एक घन्टा लाग्छ । तर बसबाट घर फर्कंदा भने सदरमुकाम फुङलिङसम्म ३ दिन र त्यहाँबाट ५ दिन हिँड्नुपर्छ । चार÷पाँच दिन हिँडेर बिरामीलाई सदरमुकाम लैजाँदा जोखिम बढ्ने मात्र होइन कतिपयको बाटामै ज्यान गएको स्थानीयहरू सुनाँउछन्।
लेलेपस्थित इलाका स्वास्थ्य चौकीका जनस्वास्थ निरीक्षक कुञ्जिलाल माझीका अनुसार दूर्गम भएकाले गोला र घुन्सा क्षेत्रमा स्वास्थकर्मी जान मान्दैनन् र गइहाले पनि कार्यालयमा बस्दैनन् । ‘लेलेप इलाका स्वास्थ्य चौकीको क्षेत्रमा पर्ने चारवटै गाविसका उपस्वास्थ्य चौकीमा दरबन्दी अनुसार स्वास्थ्यकर्मी नहुँदा हामीले पनि अनावश्यक भार बेहोर्नु परेको छ,’ भन्छन् माझी।
दिनभरी स्वास्थ चौकीमा सेवा दिए पनि राति आराम गर्न नपाइने र अधिकांशले भौगोलिक विकटताका कारण स्वास्थ्य चौकीमा बिरामी नल्याएर स्वास्थ्यकर्मीलाई नै घरमा बोलाउँदा जान बाध्य हुने माझीको अनुभव छ । उनका अनुसार चिसो हिमाली क्षेत्र भएकाले यस भेगमा रुघाखोकी, फोक्सो, श्वासप्रश्वास, जन्डिस र झाडापखालाका बिरामीको चाप धेरै हुन्छ।
नजिकै स्वास्थ्य संस्था र उपचारको पँहुच नहुँदा बिरामी हुँदा आफूहरू जडिबुटी र झारफुकमै भर पर्नुपर्ने अवस्था रहेको स्थानीय गुनासो गर्छन् ।
माओवादीले उठाएको स्वास्थ चौकी
सामान्य उपचार पनि नपाउने अवस्था अन्त्य गर्न घुन्सामै स्वास्थ चौकी स्थापनाको माग घुन्सावासीले बारम्बार गर्दै आए पनि सम्बन्धित कुनै निकायले चासो नदिएको स्थानीयले गुनासो गरेका छन्।
२०५८ सालसम्म लेलेपको इलाका स्वास्थ चौकी वडा नम्बर ६ स्थित लुङथुङमा थियो । कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्का तत्कालिन अध्यक्ष स्व.दावा शेर्पाले स्वास्थ चौकीका लागि ५ रोपनी जग्गा समेत दान दिए । तर माओवादी केन्द्रले लुङथुङस्थित स्वास्थ चौकीबाट २०५९ मा स्वास्थ्य उपचारका सबै उपकरण र सामान उठाइदिए । त्यसपछि लुङथुङको स्वास्थ चौकी लेलेप–५ स्थित एउटा घरमा सारिएको छ । चौकी सार्न तत्कालिन गाविस अध्यक्षसमेत रहेका ग्याबु शेर्पाको पनि मिलेमतो रहेको दावाकी पत्नी पेम्बाछ्योकी शेर्पाले बताइन्।
माओवादीले लुङथुङबाट स्वास्थ्य चौकी उठाइदिएपछि लेलेपकै ६, ७, ८ र ९ वडावासीले उपचारका लागि चौकी जान धेर समय लाग्ने गुनासो स्थानीयको छ ।
Source: Swasthyakhabar
To read in your mobile download our android app from google play store. Click Here To Download App
प्रतिक्रिया दिनुहोस्