कुनै हालतमा औषधि अभाव हुन नदिने औषधि उत्पादक संघको दावी
शुक्रबार, १९ जेठ २०७४

काठमाण्डौ, नेपाल औषधि उत्पादक संघले १५ दिनपछि सरकारसँग औषधि अभाव हुने भन्ने पछिल्ला समाचारको खण्डन गरेको छ । स्वास्थ्य मन्त्रालयको आपूर्ति व्यवस्था महाशाखाले नेपाली औषधि उत्पादक र औषधिको मौज्दात र कच्चा पदार्थ नभएको भन्दै औषधि आपूर्तिका लागि केही समय म्याद थप गर्न आग्रह गरेको समाचार बाहिर आएसँगै उत्पादकले त्यसको खण्डन गरेका हुन् ।
औषधि अभाव हुने समाचार बाहिरिएसँगै औषधि उत्पादक संघले शुक्रवार बैठक बसी समाचार भ्रमपूर्ण भएको दावी गरेको हो । औषधि व्यवस्था विभागका महानिर्देशकको संयोजकत्वमा बनेको नेपालमा औषधिको आत्मनिर्भरताका लागि गठित विज्ञ समितिले दिएको प्रतिवेदन स्वास्थ्य मन्त्रालयले कार्यान्वयन गरेर औषधि आत्मनिर्भरता तर्फ उन्मुख हुन लागेको बेलामा यस्ता समाचार आउनु दूर्भाग्यपूर्ण भएको संघको भनाइ छ ।
औषधि व्यवस्था विभागले जारी गरेको अन्तराष्ट्रिय कार्यविधि र मापदण्डलाई पालना गर्दै गुणस्तरीय औषधि उत्पादन गर्ने नेपाली कम्पनीले आपूर्ति व्यवस्था महाशाखाले औषधि खरिदका लागि बोलपत्र आह्वान गर्दा औषधिको कच्चा पदार्थसम्बन्धी मापदण्ड औषधि व्यवस्था विभागको भन्दा केही फरक गरेकाले सो अनुसारको कच्चा पदार्थ ल्याउन केही अतिरिक्त दिन लाग्ने भनिएको विषयलाई लिएर औषधि नै ढिलो हुने भन्ने अर्थ लगाइएको संघका अध्यक्ष शंकर घिमिरेद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
यसअघि आपूर्ति व्यवस्था महाशाखाले भने नेपाली कम्पनीसँग टेण्डर भएको औषधिको मौज्दात कम रहेको र कच्चा पदार्थ ल्याउन पनि ढिला हुने भनेर आपूर्तिको समयसीमा थप्न उत्पादकहरुले आग्रह गरेको प्रतिक्रिया दिएको थियो ।
To read in your mobile download our android app from google play store. Click Here To Download App
प्रतिक्रिया दिनुहोस्