गर्भवतीलाई टिप्सः जाँडरक्सीबाहेक अन्य खानेकुरा बार्नुपर्दैन

सोमबार, ११ पुष २०७३

 

गर्भावस्था भनेको निकै संवेदनशील अवस्था हो । यस्तोबेला गर्भवती महिलाहरुको स्वाथ्यलाई निकै ध्यान दिनुपर्छ । उनीहरुले गर्भवती हुदाँ के खाने, के नखाने विचार गर्नुपर्छ । उनीहरुका लागि के-के हानीकारक छ भनेर थाहा नपाउँदा उनीहरुले आफुमात्र हैन, आफुभित्र हुर्किरहेको शिशुको समेत ज्यान जोखिममा पार्ने गर्छन् ।

 

त्यसो त गर्भवती भएँ भन्दैमा महिलाहरुले विभिन्नखाले औषधीको सेवन गर्नैपर्छ भन्ने जरुरी हुँदैन । यदि गर्भवती महिला स्वस्थ्य भएमा उनीहरुलाई बाहिरी भिटामिनको वा औषधीको खासै जरुरत पर्दैन ।

 

तलका कुराहरुमा ध्यान दिने हो भने गर्भवती महिलाले आफर्नो र शिशुको सुरक्षा गर्न सक्छन् ।

 

 

वाकवाकी लागेमा

गर्भ रहेको पहिलो तीन महिना वाकवाक लाग्ने समस्या हुन्छ । त्यस्तो बेलामा बिहान उठ्ने बित्तिकै चना, रोटीलगायतका खाना समय समयमा खानुपर्छ ।

 

त्यसपछि पनि वाकवाक भएमा पनि थोरै थोरै मात्रामा भए पनि दिनमा ५/६ पटकसम्म खाना खाइरहनुपर्दछ ।

 

घरेलु औषधीको रुपमा प्रयोग गरिने अदुवालाई मुखमा हाली राखेमा पनि वाकवाकी रोकिन सक्छ । त्यस्तै, थोरै कागती पानी सेवन गर्नाले पनि वाकवाकी रोक्न सकिन्छ ।

 

कागती पानीको सेवनले गर्भवती महिलालाई ‘भिटामिन सी’को मात्रासमेत भरपुर गर्न सहयोग पुग्छ ।

 

त्यति गर्दा पनि वाकवाक लाग्ने समस्या हटेन वा धेरै नै वान्ता भइरहेमा विशेष किसिमको समस्या हुन सक्ने भएकाले तुरुन्त चिकित्सककहाँ जानुपर्छ ।

 

तीन महिनाको बीचमा बच्चाका विभिन्न अंगप्रत्यंग बन्ने हुँदा त्यस्तो बेला गर्भवतीले जाँड, रक्सी रेडबुललगायतका पेय पदार्थ पूर्ण रुपमा निषेध गर्नुपर्छ । त्यसबाहेकका चिसो पेय पदार्थ समेत खानु उचित हुँदैन । बरु दालभात, चना, केराउलगायतका घरैमा पाइने विभिन्न पोषणयुक्त खानाहरुलाई घरैमा तयार पारेर खान सकिन्छ ।

 

त्यस्तै, तीन महिनापछि पनि चिकित्सकको सल्लाहविना कुनै पनि औषधिको सेवन गर्न हुँदैन ।

 

 

आइरनको कमी

पेटमा बच्चा चार महिनाको भएपछि धेरैमा वाकीवाकीको समस्या हट्छ । तर, यो समय गर्भवतीको शरीरमा आइरन वा रगतको कमी हुन सक्छ ।

 

 

यसरी रगतको कमी हुन नदिन दाललाई फलामको भाँडामा पकाएर पनि खान सकिन्छ । त्यस्तै, कागती वा अचार वा मोहीसित खाना खान सकिन्छ । यसले शरीरमा आइरन प्रदान गर्छ र यसले उक्त लौहतत्व (आइरन) सोस्न मद्दत गर्छ ।

गर्भवतीको रगतमा आइरनको कमी भएमा त्यसले उसको स्वास्थ्यमा नकारात्मक असर त पार्छ नै, बच्चा समेत सानो जन्मन्छ । कतिपय गाउँघरमा गर्भवती महिलाले यो खानु हुन्छ, यो खानुहुँदैन भन्ने चलन छ । तर, यथार्थमा उनीहरुले त्यस्तो केही पनि बार्नुपर्दैन । उनीहरुले सिजन अनुसारको कुनै पनि खानेकुरा बार्नुपर्दैन ।

 

गर्भवतीहरुले मोहीसित मासु, भटमासको परिकार, तोफु, मकै, लगायतको खानेकुरा खानु राम्रो मानिन्छ । मासु नखानेले प्रोटिनयुक्त सिमी, राज्मालगायतका तरकारीको सेवन गर्न सक्छन् ।

 

क्याल्सियमको कमी

यसबाहेक पनि कतिपय गर्भवतीहरुलाई क्याल्सियमको कमी हुने गर्छ । शरीरमा क्याल्सियमको कमी भयो भन्दैमा औषधि नै खानुपर्छ भन्ने हुँदैन । दही, दूध, राजमा, भटमासलगायतका खानाबाट पनि शरीरमा भरपुर क्याल्सियम प्राप्त गर्न सकिन्छ ।

 

 

रक्तचाप बढ्नुहुँदैन, खुट्टा सुन्निनुहुँदैन, टाउको दुख्नुहुँदैन

शरीरको बढ्दो वजनका कारण गर्भवती भएका बेलामा अलिअलि खुट्टा सुन्निनु सामान्य समस्या हो । तर, गर्भवतीहरुका लागि यो राम्रो लक्षण भने पक्कै होइन । तर, खुट्टा सुन्निनु र रक्तचाप बढ्नुले भने आमाको स्वास्थ्यमा समस्या छ भन्ने बुझ्नुपर्छ ।

त्यसैले गर्भावस्थामा यदि उच्च रक्तचाप भएमा, धेरै खुट्टा सुन्निएमा वा टाउको दुखिरहेमा एकदमै ध्यान दिनुपर्छ ।

 

कहिलेकाहीँ आपतकालीन अवस्थामा अस्पातलै कुदाउनुपर्ने हुन सक्छ । किनकि यी लक्षण कहिलेकाहीँ मृगौलामा समस्या हुनुको कारणले पनि देखा पर्न सक्छन् ।

 

कहिलेकाहीँ गर्भावस्थाको अन्तिम अवस्थामा रक्तचाप उच्च हुँदा वा खुट्टा सुन्निँदा आमाको ज्यान बचाउनका लागि अपरेशन नै गर्नुपर्ने अवस्था पनि सिर्जना हुन सक्छ । यस्तो अवस्थामा यी लक्षणहरु देखा परे चुप लागेर नबस्न नै हामी सल्लाह दिने गर्छौं ।

 

किनकि यस्ता लक्षणबारे जानकारी नहुँदा नै कैयौं गर्भवतीहरुको अस्पताल ल्याउँदा ल्याउँदै बाटोमा नै मृत्यु हुने गरेको छ ।


अहिलेको जमानामा पनि यसरी मर्नु भनेको ज्यादै दु:खलाग्दो कुरा हो ।

 

 

(स्त्री तथा प्रजनन रोग विशेषज्ञ उप्रेतीसंग गरेको कुराकानीमा आधारित )


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको