आँखा 'विस्फोट' भएकी कालिकोटकी बालिकाको बिचल्ली

मङ्गलबार, २३ जेठ २०७४

 कालिकोटकी एक बालिकाको आँखामा गम्भीर समस्या देखिएको छ। उनको करिव आधा केजी मासु आँखा बाहिर झुण्डिएको छ।

जिल्लाको रास्कोट–७ का रने लुवारकी चार वर्षीया छोरी मनसरा लुवारको दायाँ आँखा 'विस्फोट' भएको गाउँमा हल्ला निकै चल्यो तर उपचारको पहल भएन। परिवार यतिबेला आँखाको समस्याले पिरोलिएको छ भने बालिका असैह्य पीडामा छन्।

छोरीको आँखा 'विस्फोट' भएर बाहिर निस्केको भन्दै बाबु रने लुवारले उपचार सहयोगको पर्खाइमा रहेको बताए। कमजोर आर्थिक अवस्थाका कारण उपचार गर्न अस्पताल जान नसकेको उनले बताए।

तीन महिना अघि छोरी घर नजिकैको कुलोमा लडेर सामान्य चोट लागेको उनी बताउँछन्। ‘उपचारको लागि राम्रो अस्पताल जान सकिएन, घरमै औषधीमुलो पनि गरियो,’ उनले भने ‘पछि एक्कासी आँखाको नानी फुटेर बाहिर निस्कियो।’ उनले सुरुमा सानो रहेको मासुको अंश बढ्दै गएको बताए।

चिकित्सकका अनुसार राम्रोसंग उपचार नहुँदा आँखाको नानीमा क्यान्सर भएर यो अवस्था भएको हो। आँखाको उपचारका लागि जिल्लाका अस्पतालमा धाउँदा चिकित्सकले क्यान्सर भएको बताएका मनसराका बुबाले सुनाए। ‘क्यान्सर नै लागेको भनेपछि हामीसँग उपचारको उपाय भएन, अहिले यत्तिकै बसेका छौं।‘ उनले दुःख पोखे।

परिवारले मनसराको उपचारमा सहयोगको अपिल गरेका छन्। ‘छोरीको उपचारमा सहयोग गरिदिने मान्छे भेटिए भगवान सम्झिने थियौं।’ मनसराका बुबाले अपेक्षा सुनाए।

छिमेकी कालिबहादुर महताराले छोरीको अस्वाभाविक आँखाको समस्याले परिवार यतिबेला निकै पिरोलिएको बताए।


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको