हाई ब्लडप्रेसर बारे १८ भ्रम र सत्य, प्रेसरको बिरामीले अवश्य पढ्नुहोस

बुधबार, २४ जेठ २०७४

 

बढ्दो आधुनिकिकरणले जीवनशैली जति सहज बनाएको छ । मानव स्वास्थ्यमा नयाँ समस्या पनि निम्त्याइरहेको पाइएको छ । सन्दर्भः हाई ब्लडप्रेसरको हो । कुनै समयमा आक्कलझुक्कल देखिने ब्लडप्रेसरको समस्या अहिले धेरैको साझा भएको छ । २० देखि ३० बर्षका जवानमा पनि यो समस्याको लागि नियमित औषधि सेवन गर्नुपर्ने अवस्था देखिएको छ । ब्लडप्रेसरका कारण मध्ये करिब २ देखि ३ प्रतिशतको मात्रै कारण प्रष्ट देखिएको छ । बाँकी ९७ प्रतिशतको कारण पत्ता लागेको छैन ।

 

बदलिँदो जीवन शैलीसंगै मानिसहरु विलासी भएका छन् । मीठो–मीठो मात्र खानुपर्ने, मांसाहारी खानामै जोड दिने, रक्सी, सूर्ती आदि नशाको सेवन गर्नुपर्ने, ज्यादातर समय मानसिक तनावमा रहनुपर्ने वाध्यता, शारिरिक व्यायामको कमी आदिले पनि ब्लडप्रेसरको समस्या थपिदै गएको देखिन्छ। फलस्वरुप ह्दयाघात, प्यारालाइसिस (मस्तिष्कघात), मिर्गौलामा तथा आंखामा क्षति आदि ह्वात्तै बढेको पाइएको छ ।

 

ब्लडप्रेसर सुन्दा सामान्य लागेपनि यसले गर्ने भयानक असरहरुबारे मानिसहरुमा पर्याप्त जानकारी नभएकोले होला, खासै महत्व दिएको पाइदैन। जसले ब्लडप्रेसरले गर्ने दुर्घटना प्रत्यक्ष देखेका हुन्छन्, भोगेका हुन्छन् । उनीहरुले मात्रै ब्लडप्रेसर यस्तो रहेछ भनेर आत्मसात गरेका हुन्छन्। ब्लडप्रेसर सम्बन्धि प्रशस्त भ्रम छन् । यसको औषधी खायो भने यस्तो हुन्छ रे, जिन्दगीभरि खानुपर्छ रे, साइड इफेक्ट गर्छ रे भन्ने धेरै किसिमका भनाइहरु सुनिन्छन्, तर औषधी नखाई सधैं हाइ ब्लडप्रेसर लिएर हिंड्दा के के खतरा हुन्छ भन्ने कसैले विचार गरेको देखिंदैन। ब्लडप्रेसर सम्बन्धि जनमानसमा रहेका केही भ्रम र सत्य यसप्रकार छन् ।

 

डाक्टरसाब्, केही भएकै छैन किन औषधी खानु ?

ब्लड प्रेसर हाइ भएका बिरामीहरुलाई सबैलाई लक्षणहरु देखिनैपर्छ भन्ने छैन । कसैलाई १५० पुग्नासाथ टाउको दुख्ने, रिंगटा लाग्ने भएर आइपुग्छन् भने कोही कोहीमा माथिको (सिस्टोलिक) प्रेसर २२० पुग्दा पनि कुनै लक्षण नदेखिने हुन सक्छन्। बिरामीहरु अन्य कुनै कारणको लागि प्रेसर जाँच गर्दा हाइ देखिएपछि डाक्टरकहाँ पुग्छन्। कतिपय अवस्थामा प्रेसर हाइ भएर पनि लक्षण नदेख्नु भनेको लक्षण देखिने प्रेसर भन्दा खतरनाक हुन सक्छन्। यस अर्थमा कि लक्षण नदेखिदा आफूलाई सबै ठीकै छ, म स्वस्थ छु भन्ने पर्छ र कुनै बेला त्यही रक्तचापले ठूलै समस्यामा पार्न सक्छ । केही लक्षण नदेखिए पनि निरन्तर हाइ प्रेसरले शरीरका अंगहरुमा पुर्याउने क्षति पुर्याइ नै रहेको हुन्छ। विशेषगरि मुटु, मृगौला, आंखा र मस्तिष्कमा । यस्ता प्रेसर हाइ भएर पनि लक्षण नदेखिने बिरामीहरु नै एकै चोटि ह्दयाघात, मस्तिष्कघात भइसकेको अवस्थामा पनि आउने गरेको भेटिएको छ। त्यसैले आफ्नो ब्लडप्रेसर समय समयमा देखाइरहनु आवश्यक छ। साथै प्रेसर हाइ भएर लक्षण नदेखिए पनि भविष्यमा हुनसक्ने क्षतिबाट बच्न औषधी सेवन आवश्यक छ।

 

औषधी सुरु गरेपछि त सधैं खानुपर्छ रे !

मानिसहरु अरु समस्याको लागि औषधी खान डराउंदैनन् तर ब्लड प्रेसरको औषधी भनेपछि हच्किहाल्छन् । ब्लडप्रेसरले गर्नसक्ने खतराहरुबारे आवश्यक ज्ञान नभएकोले नै मानिसहरु यति साह्रो हच्केको जस्तो लाग्छ । तर ब्लडप्रेसर त्यति धेरै हाइ नभएको अवस्थामा, पहिलोपल्ट देखिएको ब्लडप्रेसर, तथा शरीरका अंगहरुमा क्षति नपुगिसकेको अवस्थामा केही महिना औषधी नखाई अन्य उपाय अवलम्बन गरेर ब्लडप्रेसर घटाउन कोशिस गर्न सकिन्छ । तर, यी उपाय अपनाउँदा पनि ब्लडप्रेसर उच्च रहीरहेमा औषधी शुरु गर्न धेरै ढिला नगरेकै राम्रो हुन्छ । अरु उपाय भन्नाले खानामा नून, चिल्लोको मात्रामा कमी गर्ने, दिनहुँ शारिरिक व्यायाम गर्ने, मानसिक तनावलाई कम गर्ने आदि बुझिन्छ ।

 

औषधी बन्द गर्न मिल्छ ?

ब्लडप्रेसरको औषधीको मुख्य काम ब्लडप्रेसरलाई नियन्त्रणभित्र राख्नु हो । ब्लडप्रेसरलाइ नियन्त्रणभित्र राखेर शरीरका अन्य अंगहरुमा क्षति पुग्नबाट यसले बचाइराखेको हुन्छ । नियमित औषधी सेवन गर्दै जाँदा र चिकित्सकको सल्लाह बमोजिम खानामा नियन्त्रण, नियमित व्यायाम आदि गर्दै गएमा कुनै समय ब्लडप्रेसर घट्दै पनि जानसक्छ । बारम्बार नाप्दा पनि आवश्यक भन्दा घट्दै गएको पाइएमा चिकित्सकको सल्लाह लिएर खाने औषधीको मात्रा कम वा औषधी बन्द पनि गर्न सकिन्छ ।

 

औषधीले त किड्नी खराब गर्छ रे नि !

साइड इफेक्ट सबै औषधीको हुन्छ । सिटामोल पनि धेरै खायो भने कलेजो, मृगौला खराब गर्छ । खानेकुराहरुको पनि आफ्नै किसिमको साइड इफेक्ट हुुन्छ । चिनी, गुलियो धेरै खाएमा मोटोपना बढ्छ, नून धेरै भएमा प्रेसर बढ्छ । चिल्लो धेरै खाएमा रगतमा कोेलेष्ट्रोल बढ्छ जसले मुटुरोगको खतरा हुन्छ । तर, यसो भनेर खानेकुरा पनि नखाने त ? खाना किन खान्छौं भन्दा स्वस्थ रहन ।

 

त्यस्तै ब्लडप्रेसरको औषधी पनि स्वस्थ रहनै खाने हो । ब्लडप्रेसरका औषधीहरुको पनि आफ्नै किसिमका साइड इफेक्टहरु छन् । तर, ती सबै साइड इफेक्टहरु सधै सबैलाई हुन्छन् नै भन्ने होइन । कुनै साइड इफेक्ट छोटो समयमै देखा पर्छन् भने कुनै २०– ३० बर्षको लगातार औषधी सेवनपछि देखिन्छन् । डाक्टरको सम्पर्कमा बसेर डाक्टरको सल्लाह अनुसार नियमित चेकजाँच गरिरहेमा साइड इफेक्टहरु हुन थालेको तरुन्तै पत्ता लाग्छ । साइड इफेक्ट भएको थाहा पाएमा ब्लडप्रेसरको औषधी अदलबदल गरेर साइड इफेक्टले गर्ने क्षतिबाट बच्न सकिन्छ ।

तर साइड इफेक्ट गर्छ भनेर औषधी शुरु नगरी सधै ब्लडप्रेसर हाइ लिएर बस्दा प्यारालाइसि, ह्दयाघात हुने, मृगौला कामै नलाग्ने अवस्थामा पुग्ने, आँखाको ज्योति गुम्ने जस्ता भयानक असरहरु हुनसक्छन् । जुन असरहरुको तुलनामा औषधीको साइड इफेक्ट केही होइन ।

 

औषधी खाएपछि पनि रक्सी, चुरोट छोड्नु पर्छ र ?

रक्सी, चुरोट, सूर्तीसेवनले राम्रो गर्छ भनेर कतै लेखेको देख्नुभएको छ ? यस्ता कुराको सेवनले शरीरका फोक्सो, मुटु, कलेजो, पेट, आन्द्रा, मानसिक स्थिति सबैतिर क्षति बाहेक केही गर्दैन । धूमपान गर्ने मानिसलाई हाइ ब्लडप्रेसर, आन्द्रा प्वाल पर्ने, फोक्सोको दम, फोक्सोको क्यान्सर, मुखको क्यान्सर हुने लगायत ह्दयाघात हुने सम्भावना रहिरहन्छ । जाँड, रक्सी पिउँदा हामीमध्ये कतिजनालाई एउटा सीमामा रहेर पिउने आदत हुन्छ ? मैले देखेको ब्लडप्रेसरका बिरामीहरुमा धेरैमा ५ प्रतिशत बिरामीहरुमा मात्र यस्तो भेटेको छु । रक्सी पिएपछि बेहोशै हुने गरी पिउनुपर्ने, रक्सीसँग भुटेको तारेको, पिरो, नूनिलो स्न्याक्स नै चाहिने तथा ड्रिंक गर्दा चुरोट पिउनुको छुट्टै मजा हुने गरेको बिरामीहरु बताउछन् । रक्तचाप बढाउनुमा धूमपान तथा रक्सीको पनि उत्तिकै योगदान रहन्छ । त्यसैले विदेशमा गरिएको केही अध्ययनमा केही मात्रामा अल्कोहोल सेवन राम्रो भने पनि ब्लडप्रेसरको लागि नपिउनु नै ठीक हुन्छ।

 

म त रक्सी खान्नँ, दुईचार बोतल वियर मात्र पिउने हो !

अधिकांश मानिसमा यो धारणा व्याप्त छ कि रक्सी भनेपछि ह्विस्की मात्रै हो। तर वियर, वाइन, रम, जिन, भोड्का, ब्राण्डी यी सबै रक्सीकै वर्गमा पर्छन्। फरक यति हो कि वियर, वाइन आदिमा अल्कोहोलको मात्रा कम हुन्छ, अरुमा बढी।

 

मैले यो ५ र ५० गरि ५५ मिलिग्राम खाँदैछु । तरपनि प्रेसर घट्दैन बा !

ब्लडप्रेसर नियन्त्रणको लागि चलाइने औषधी मानिसको शारिरिक बनावट, वजन, साथमा रहेको अरु समस्याहरु, खानपान, उसले गर्ने शारिरिक व्यायाम आदिमा भर पर्छ । त्यसैले कसैलाई एउटा औषधीको सानो डोजमात्र खाए पुग्छ भने कसैलाई दुई, तीनवटा त्यो पनि दिनको दुईपटक वा बढी पनि खानुपर्ने पनि हुनसक्छ । ब्लडप्रेसरको औषधी कति मात्राको खाने भन्ने कुरा मानिस मानिसमा निर्भर गर्छ ।

 

ब्लडप्रेसरको औषधीहरु कुनै २.५ मिलिग्राम बाट शुरु हुन्छ, कुनै २५ बाट शुरु हुन्छ त कुनै २० बाट । एउटा किसिमको औषधीको २.५ मिलिग्राम बराबर अर्को किसिमको औषधीको २५ मिलिग्राम पनि हुनसक्छ । त्यसैले २५ मिलिग्राम भन्दैमा एकदम हाइ डोज भन्ने बुझ्नुहुँदैन।

 

अँ त्यो रातो पान आकारको खाएको, अरु त खाएको छैन !

विशेषगरि घरमा एक्लै बस्ने, कम पढेलेखेका, नपढेका विरामीहरुमा तथा ब्लडप्रेसरका साथै अन्य समस्याको पनि औषधी खाने बिरामीहरुमा यो समस्या देखिन्छ । एउटा भन्दा धेरै गोली खानुपरेको अवस्थामा यस्ता बिरामीहरु झुक्किएर एउटा खानुपर्नेमा दुईपटक खाएको, खानुपर्ने चाहिँ नखाएको, राति खानुपर्ने बिहान खाएको, खानापछि खानुपर्ने अगाडि खाएको आदि समस्याहरु सामान्य हुन्। अझ कति त औषधी सकेपछि ल्याइदिने मान्छे नभएको भनेर औषधी खानै बन्द गरेर पनि आउँछन् । यसको कारण रक्तचाप अनियन्त्रित भइदिन्छ जस्को कारण कतिपय अवस्थामा प्यारालाइसिस, ह्दयाघात भएको अवस्थामा पनि बिरामीहरु आउँछन्। यस्तो कुरामा घरमा भएका पढेलेखेका मानिसहरुको गहन जिम्मेवारी हुन्छ ।

 

त्यस्ता बिरामीहरुलाई नाम भन्दा पनि औषधीको आकार, रंग तथा साइजको जानकारी बढी हुन्छ । एकभन्दा बढी औषधी खानुपरेको अवस्थामा हरेक औषधीहरुलाई छुट्टाछुट्टै सानो सानो बट्टामा राखेर यो बट्टाको यतिखेर खाने भनेर बुझाउने गरेमा गल्ती हुने समस्या कम हुन्थ्यो कि ?

 

के गर्नु आफू त बिजनेसम्यान परियो, साँझ बस्नै पर्छ !

विजनेसम्यानहरुको धेरैको गुनासो यही हुन्छ । विजनेस पनि चलाउनैपर्यो, विजनेस चलाउन पार्टीको मन राख्नैपर्यो । अनि मन राख्न यसो बसिदिनैपर्यो । अनि उनीहरुको कामको कुनै समय नै हुँदैन । यता पैसा उठाउ, उता झगडा गर, यता सामान सप्लाइ, उताबाट सामान छुटाउ, विहान उठेदेखि फोन, अफिसमा मिटिङ, यता जाउ, उता जाउ, यता कराउ, गाली गर, बेलुकी अफिस छुटेपछि पार्टीसँग मिटिङ्, राति घर आयो, नसुतुन्जेल फेरि फोन । सुत्यो, विहान उठ्यो, त्यही दैनिकी । न शनिवार, न विदा । न शारिरिक आराम, न मानसिक आराम ।

 

सधै तनावपूर्ण वातावरण, आरामको कमी, शारिरिक व्यायामको कमी, अव्यवस्थित खानपान, नियमित स्वास्थ्य जांचको कमी आदि भएपछि यस्तै व्यक्तिहरुमा ब्लडप्रेसर, सुगरको समस्या देखापर्दछ । जसको कारण पछि गएर ह्दयाघात, पक्षघात जस्ता भयानक समस्याहरु भोग्नुपर्दछ । धेरैजसो व्यापारी पढेलेखेकै हुन्छन् । स्वास्थ्यमा नराम्रो असर परिरहेको छ भन्ने पनि थाहा हुन्छ तर पनि चेकजाँचको लागि समय छुट्याउन सक्दैनन् । त्यसैले स्वास्थ्य जोगाउनु धन कमाउनु भन्दा कम हो र ?

 

प्रेसरको औषधी शुरु गरेको चक्कर आएर उठ्नै सकिनँ !

ब्लडप्रेसरको औषधी शुरु गर्दा एकैचोटी ठूलो डोजमा शुरु गरिदैन । एउटा डोजबाट शुरु गरेर केही दिनपछि फेरि रक्तचापको मात्रा हेरेर औषधीको डोज आवश्यकतानुसार घटबढ गरिन्छ । त्यसैले औषधि शुरु गरेको केही दिनमा रक्तचाप धेरै कम पनि हुनसक्छ वा औषधीको डोज कम भएर रक्तचाप उच्च नै रहिरहन पनि सक्छ । साथै औषधी शुरु गर्नासाथ केही साइडइफेक्ट भइहाले औषधी बदल्नुपर्ने पनि हुन्छ । त्यसैले औषधी शुरु गरेपछि डोज मिलाउनुपर्ने भएकोले रक्तचाप नियन्त्रणमा नआएसम्म आवश्यकतानुसार आफ्नो डाक्टरको सम्पर्कमा बस्नु राम्रो हुन्छ ।

 

प्रेसरको औषधी खाएपछि खुट्टा सुन्निन थाल्यो !

माथि भनिए जस्तै ब्लडप्रेसरका औषधीको पनि केही साइड इफेक्टहरु हुन्छन् । कुनै औषधी खाँदा खुट्टा सुन्निने समस्या हुनसक्छ । कुनैले मुटुको ढुकढुकी बढाउन सक्छ । कुनैले ढुकढुकी चाहिने भन्दा कम गराउन सक्छ । ब्लडप्रेसरकै कुनै औषधीले सुख्खा खोकी लाग्ने गर्छ । कुनै औषधी शुरु गरेपछि पहिले नहुने स्वाँ स्वाँ शुरु भएको हुन सक्छ । कुनै औषधी ले मृगौलामा असर पार्न पनि सक्छ । एक किसिमको औषधीले लोग्ने मानिसको यौन उत्तेजनामा कमी, यौनेच्छामा कमी आउने आदि समस्या पनि गर्न सक्छ । ब्लडपे्रसरको औषधी शुरु गरेपछि पहिले नभएको समस्याहरु देखापरे जस्तो लागे डाक्टरसँग सम्पर्क गरिहाल्नुपर्छ । यो साइड इफेक्ट भन्ने कुरा औषधी खानासाथ सबैलाई र सधैं हुने कुरा होइन ।

 

त्यसैले ब्लडप्रेसरको औषधी विशेषज्ञ डाक्टरसँग चेकजाच गरेर मात्र शुरु गर्नुपर्छ । कुनै चेकजाँच नगराई मेडिकलबाट सिधै किनेर खाने बानी गर्नुहुँदैन । साथै औषधी शुरु गरेपछि ब्लडप्रेसर ठीकै रहिरहेपनि तथा शारिरिक, मानसिक रुपमा ठीकै लागेपनि कम्तीमा १५ दिनमा एकचोटि ब्लडप्रेसर नाप्ने बानी बसाल्नैपर्छ र डाक्टरसँग कम्तीमा ३ महिना र बढीमा ६ महिनामा एकचोटि भेट्ने गर्नैपर्छ ।

 

प्रेसरको औषधी खान थालेको २ वर्ष भयो । सबै ठिकै थियो, किन जाँच्नुपर्यो र ?

धेरै विरामीहरु औषधी शुरु गरेपछि शरीर आराम भएको महसुस भएपछि नियमित औषधी त खान्छन् तर बर्षौसम्म चेकजाँच गराउन डाक्टरकहाँ जाँदैनन् । न त फेरि–फेरि रक्तचाप जँचाएरै हेर्छन् । कारण सोध्दा औषधी शुरु गरेपछि आफूलाई आराम भएको, कुनै नयाँ समस्या नआएको, घर टाढा भएर आउने मौका नपाएको जस्ता कुराहरु गर्छन् ।

 

माथि भनिएजस्तै ब्लडप्रेसर आफैले शरीरका विभिन्न अंगहरुमा असर पुर्याइरहेको हुन्छ । त्यसमाथि नियमित औषधी सेवन गर्नेहरुलाई औषधीको साइडइफेक्ट पनि हुनसक्ने सम्भावना रहन्छ। आफूलाई नयाँ समस्या केही नभएको अवस्थामा पनि डाक्टरसँग नियमित कम्तीमा छ महिनामा एकचोटि चेकजाँच गराउने गरेमा शरीरमा कुनै किसिमको हानिनोक्सानी हुन लागेको भएमा तुरुन्त पत्ता लाग्छ र भविष्यमा हुन खसक्ने क्षतिबाट जोगिन सकिन्छ ।

 

प्रेसरका बिरामीले के के जाँच नियमित गर्नुपर्छ ?

प्रेसरका विरामी तथा प्रेसरको औषधी खाने विरामीहरुले रगतमा सुगरको मात्रा, हेमोग्लोविनको मात्रा, मिर्गौला तथा पिसाबको जांच तथा कोलेष्ट्रेलको जांच कम्तीमा ३ बढीमा ६ महिनामा नियमित गरिरहनुपर्र्दछ । साथै इसीजी, इको जाँचहरु मुुटुरोग विशेषज्ञको सल्लाहनुसार दोहोर्याउनुपर्छ । यसले प्रेसर नियन्त्रणभित्र रहे–नरहेको पनि पत्ता लाग्छ। सबभन्दा महत्वपूर्ण शरीरमा कुनै साइड इफेक्ट भयो कि छैन भन्ने थाहा हुन्छ ।

 

डिजिटल मेशिनले जाँचेको सही हुन्न कि कसो ?

समयले मानिसको जीवनमा ल्याएको परिवर्तनसंगै ब्लडप्रेसर नाप्ने मसिनहरु, मोबाइल एप्लिकेशनहरु अचेल सजिलै उपलब्ध हुनथालेका छन् । तर अस्पतालहरुमा भने एन्ड्रोइड मसिनहरुनै बढी प्रयोगमा आउँछन् । यसको मुख्य कारण यसबाट नाप्दा रक्तचापको मात्रामा खासै धेरै तलमाथि नहुनु पनि हो । कतिपय डिजिटल मसिनले पनि राम्रै काम गर्छन् तर कतिपय अवस्थामा भर्खरको भर्खरै दोहोर्याएर नाप्दा पनि ब्लडप्रेसर धेरै नै फरक भएको पाइएको पनि देखिएको, सुनिएको छ । त्यसैले यस्ता मसिनबाट नाप्दा ब्लडप्रेसर धेरै वा चाहिने भन्दा थोरै देखिएको खण्डमा नजिकैको मेडिकल वा स्वास्थ्यकर्मीकहाँ गएर फेरि नापेर कन्फर्म गरेको राम्रो हुन्छ ।

 

घरमा नाप्दा ठिकै हुन्छ, अस्पताल गयो कि बीपी बढिहाल्छ !

 

 

कोही–कोहीलाई घरमा ब्लडप्रेसर नाप्दा सधै एकदम नर्मल भेटिने तर, डाक्टर, नर्सको अगाडि पुगेपछि वा अस्पतालको वातावरणमा पुगेपछि अचानक प्रेसर बढ्ने समस्या हुन्छ । डाक्टरहरुले लगाउने सेतो कोट देखेपछि डराएर वा के होला कस्तो होला भन्ने त्रास मनमा लागेपछि यस्तो समस्या हुने भएकोले यसलाई ‘ह्वाइट कोट इफेक्ट’ पनि भनिन्छ । हाइ ब्लडप्रेसरका बिरामीहरुमध्ये करिब २० प्रतिशत समूहमा यो समस्या देखापर्ने कुरा अध्ययनमा देखापरेको छ । त्यसैले साँच्चिकै हाई हो वा इफेक्ट मात्रै हो भन्ने पहिचान गर्न २४ घण्टा मेसिन लगाएर ब्लडप्रेसरको अध्ययन गरिने एबीपि मेसिनको सहयोग पनि लिइन्छ ।

 

डाक्टरसाब्, मैले त ब्लडप्रेसर बढ्यो भनेर ५ दिनदेखि नून मुखामा हालेकै छैन !

ब्लडप्रेसरको समस्या भएको बिरामीलाई डाक्टरले दैनिक खाने नूनको मात्रा कम गर्नु भनेका हुन्छन्, बन्द गर्नु होइन । नून कम गर्ने भनेको नून भएको धेरै किसिमको परिकारहरु नखाने भनेको हो । शरिरलाइ चाहिने भनेको दैनिक ५ देखि ७ ग्राम अर्थात् दिनको एक चम्चा नून हो । यो भन्दा बढी ब्लडप्रेसरको लागि ठीक होइन । केही मात्रामा नून शारिरिक स्वस्थताको लागि पनि चाहिन्छ । त्यसैले नून चटक्कै बन्द गर्नाले शरिरमा अन्य समस्या गराउन सक्छ, त्यसैले नून चटक्कै बन्द गर्न कदापि हुँदैन ।

 

दिनका दिन करेला खाएर हुँदैन डाक्टरसाब ?

कति बिरामीहरु औषधि नखाने तर करेला, मेथी, नीमको पात, घ्यूकुमारी खाने, आर्युेवेदिक उपाय गर्ने, योगा, ध्यान गरेरै प्रेसर ठीक पार्छु भनेर अड्डी कस्छन् । यसमा म के भन्छु भने जसरी हुन्छ, रक्तचाप नियन्त्रणमा आउनुपरयो। माथि उल्लेखित सबै कुरा गर्दा कुनै नकारात्मक असर त पर्दैन । तर यी सबै पनि गर्नुस्, ब्लडप्रेसर नाप्दै पनि गर्नुस्, ब्लडप्रेसर नियन्त्रण भएन भने औषधी त खानैपर्छ।

 

यो औषधी खाएपछि त डिप्रेशन हुन्छ रे नि !

एउटा वर्गको मानिसहरुमा जे पनि इन्टरनेटमा पढेर सम्पूर्ण जानकारी लिने प्रवृत्ति हुन्छ । यसो गर्नु एक किसिमले राम्रो पनि हो तर पूर्ण कुरा प्रष्ट नबुझिएको खण्डमा यसको नकारात्मक असर पनि पर्दछ । कुनै रोगको बारेमा पढ्दै जाँदा कतिपय प्राविधिक शब्दहरु, मेडिकल भाषा सबैले प्रष्ट बुझ्ने कुरै भएन । अनि यो भनेको यसो होला भन्दै अनुमानित अर्थ लगाउंदै बस्ने अनि त्यस विषयमा लेखिएका कुनै रोगका लक्षणहरु आफैलाई भएको जस्तो लाग्ने, म त ज्यादै रोगी भएछु भन्ने मनस्थितिको विकास हुने, अब म मर्छु भन्ने जस्ता निराशावादी सोचको विकास हुने जस्ता समस्या पनि भएको पाइएको छ ।

 

इन्टरनेटमा दिइएका रोग सम्बन्धि जानकारी धेरैजसो किताब पढेजस्तै हुन्छ । कुनै रोगको बारेमा पढ्दा यस्तो लक्षण यति प्रतिशतमा देखिन्छ, यस्ता साइड इफेक्ट फाट्टफुट्ट मात्र पाइन्छ, यो धेरै देखिन्छ । यो साइड इफेक्ट विश्वको यस कुनामा मात्र पाइन्छ । यो साइड इफेक्ट यो जातिमा मात्र बढी देखिन्छ । यसमा देखिन्न जस्ता कुराहरु विस्तृतमा लेखिएको हुन्छ । तर, मानिसको मन न हो, त्यहा जे सुकै लेखेपनि आँखाले त्यहां लेखिएका गम्भीर कुराहरु जस्तै मात्र देख्न पुग्छ । अनि होस् न होस् मलाइ पनि यस्तो भयो कि भन्दै डराउँदै बस्छन् ।

 

त्यसैले यदि कसैको त्यस्तो बानी छ भने इन्टरनेटमा लेखिएका कुराहरु प्रष्ट बुझ्ने क्षमता पनि हुनुपर्छ । कुनै कुरा नबुझे सम्बन्धित चिकित्सकसँग परामर्श गर्नुपर्छ । होइन भने यस्तो सामग्री नपढ्नु नै राम्रो हुन्छ ।

 

एक प्रकारको मानिसमा चेकजाँच गराउन जानै हिच्किचाउने बानी हुन्छ । डाक्टरकहां गएपछि केही न केही देखाइहाल्छन्, यो नखानू, यो नगर्नू भन्छन्, औषधी खान भन्छन्, अथवा केही समस्या देखिहाल्यो भने त टेन्सन हुन्छ त । भन्ने खालको सोचले उनीहरु चेकजांच नै गराँंदैनन्। यो पनि एकदम राम्रो बानी चाहिँ होइन ।

 

ब्लडप्रेसरको नकारात्मक असरहरुबाट जोगिन मानिस आफ्नो स्वास्थ्यको कुरामा अझ बढी सचेत हुनु जरुरी छ । साधारणतया उमेर ४० को वरिपरि पुगेपछि यदि भविष्यमा स्वस्थ भएर बाँच्ने, लामो समय बाँच्ने हो भने विशेषगरि केही कुराहरु, दैनिक स्वस्थ खाना खाने, रक्सी चुरोट, सूर्ती तथा कुनै नशा सेवन नगर्ने, नियमित शारिरिक व्यायाम गर्ने तथा मानसिक तनावबाट टाढा रहने आदि कुराहरु पालना गर्नैपर्ने देखिन्छ किनकि उमेरले ४० छोएपछि मानिसलाई धेरै रोगहरुले छुन थाल्दछन् ।


– डा श्रेष्ठ ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा कार्यरत छन् ।


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको