मधुमेहबाट आँखा बचाउने यस्ता १० सूत्र

आइतबार, २८ जेठ २०७४

 

नेपालमा लगभग पाँच लाख २७ हजार मानिसलाई मधुमेह रोग रहेको अन्तर्राष्ट्रिय मधुमेह संगठनको अनुमान छ। ती मधुमेहका बिरामीमध्ये ५० प्रतिशतमा कुनै न कुनै रुपमा आँखाको समस्या हुन्छ  भने एक तिहाईमा आँखाको 'दृष्टि पर्दा' (रेटिना) मा असर पुगेको पाइन्छ।

 

मधुमेहले आँखामा कस्तो असर गर्न सक्छ ?

लामो अवधिसम्म रगतमा अनियन्त्रित चिनीको मात्राले रेटिनाको सानासाना रक्तनलीमा असर पुर्‍याउँछ, जसलाई 'डायबिटिक रेटिनोपैथी' भनिन्छ। डायबिटिक रेटिनोपैथीमा रेटिनाको रक्तनलीबाट बोसो, रगत र तरल पदार्थ चुहावट हुँदा दृष्टि पर्दा सुजन हुन्छ र दृष्टि धमिलो हुन्छ।

पछि रेटिनामा अक्सिजनको आभावले नयाँ रक्त नशा बन्छ। ती कमजोर रक्तनलीबाट आँखाको भित्री पानी (भिट्रियस) मा रक्तस्राब हुँदा दृष्टि अचानक कम हुन जान्छ। पछि रेटिना खुम्चिने र जलविन्दु पनि हुन सक्छ। यो अति नै गम्भीर अवस्था हो, जुन उपचार गर्न पनि गाह्रो हुन्छ।

अन्य आँखाको समस्या भनेको पटक-पटक आँखामा आनो आउनु, पटक-पटक चस्माको पावर बदली हुनु, मोतिबिन्दु चाँडो बन्नु, जलबिन्दु, सुक्खा आँखा र आँखाको मांसपेशी प्यारालाइसिस हुनु हो।

 

डायबिटिक रेटिनोपैथी हुन सक्ने अवस्था

– मधुमेहको समय अवधि : मधुमेह भएको २० वर्षपछि पहिलो प्रकारको मधुमेहमा ९९ प्रतिशत र दोस्रो प्रकारको मधुमेहमा  ६० प्रतिशतलाई डायबिटिक रेटिनोपैथी हुन्छ। जति लामो अवधि मधुमेह भयो रेटिनोपैथी हुने सम्भावना उति धेरै हुन्छ,

उच्च रक्तचापका बिरामी,

रगतमा अधिक बोसोको मात्रा भएका बिरामीहरु,

मिर्गौला (डायबिटिक नेफ्रोपैथी) का रोगी,

रक्तअल्पताको बिरामीहरु,

मधुमेह भएका गर्भवती महिला,

धूमपान गर्ने व्यक्तिहरु।

 

मधुमेहबाट आँखा बचाउने १० सूत्र:

१. प्रत्येक एक वर्षमा नेत्र विशेषज्ञसँग आँखा जाँच गराउने। नेत्र विशेषज्ञले आँखाको नानी फुलाएर रेटिनामा मधुमेहले असर गरेको छ वा छैन भन्ने पत्ता लगाउँछन्।

२. मधुमेहको चिकित्सकले दिएका सबै औषधि सेवन गर्ने।

३. रगतमा एचबिए १ सी भन्ने जाँच ७ प्रतिशतभन्दा मुनि राख्ने, अर्थात्  रगतमा चिनीको मात्रा नियन्त्रणमा ल्याउने।

४. रक्तचापलाई नियन्त्रणमा राख्ने । रक्तचापलाई १३०/८० एमएमएचजी भन्दामुनि राख्ने।

५. रगतमा 'एलडिएल कोलेस्टेरोल (हानी गर्ने बोसो) लाई नियन्त्रण गर्ने।

६. सन्तुलित भोजन खाने। फलफूल, सागसब्जी, गेडागुडी र प्रोटिनमा जोड दिने।

७. नियमित व्यायाम गर्ने।

८. शरीरको वजन नियन्त्रण गर्ने।

९. धूमपान नगर्ने। मधुमेहको बिरामीमा धूमपानले १ दशमलब ८ गुणा हृदयघाट र १ दशमलब ५ गुना मसिस्कघात गराउने खतरा हुन्छ।

१०. उच्च गुणस्तरको सनग्लास लगाउने। सनग्लासले हानिकारक 'युभी' विकिरणलाई आँखामा आउनबाट रोक्छ र छिटो मोतिबिन्दु हुनबाट जोगाउँछ। डायबिटिक भएको व्यक्तिलाई मोतिबिन्दु हुने सम्भावना ६० प्रतिशत बढी हुन्छ (अमेरिकन डायबिटिक एसोसिएसन)।

 

डायबिटिक रेटिनोपैथीको उपचार

लेजर थेरापी (लेजरद्वारा रेटिनाको सुजन कम गर्ने र आँखाको भित्रि भागमा रक्तस्राब हुनबाट जोगाउने।),

आँखाको भित्रि भागमा एन्टी भिइजिएफ (एभास्टिन) सुई लगाउने।  यो काम पनि लेजरजस्तै हो, तर छिटो सुजन कम गर्न र रक्तस्राब रोक्न सहयोग गर्छ,

रेटिनाको शल्यक्रिया (आँखाको भित्रि भागमा धेरै रक्तस्राब भई पर्दा खुम्चिएमा गरिने शल्यक्रिया),

न्यून दृष्टि तथा पुनर्स्थापन सेवा (चिकित्सकीय उपचारले पनि दृष्टि सुधार गर्न नसकिने अवस्थामा )।

 

के डायबिटिक रेटिनोपैथीले पूर्वसूचना दिन्छ?

रोगको प्रारम्भिक अवस्थामा कुनै पूर्वसूचना हुँदैन। दृष्टि कमजोरी भइसक्दा रोग अन्तिम अवस्थामा आइसकेको हुन सक्छ र दृष्टि पहिलेको अवस्थामा ल्याउन गारो हुन्छ। त्यसैले रेटिनोपैथी हुनुपूर्व नै रोकथाम गर्नु जरुरी हुन्छ। तसर्थ मधुमेहको बिरामीले नियमित आँखा जाँच गराउनु जरुरी छ।

(डा. श्रेष्ठ बिपी नेत्र प्रतिष्ठान भक्तपुरमा कार्यरत छन्)


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको