के हो स्क्रब टाइफस ? यस्ता छन् जोगिने तरिका

सोमबार, २९ जेठ २०७४

 

स्क्रब टाइफस मुसाबाट मानव शरीरमा सर्ने एक प्रकारको रोग हो । मुसामा हुने माइट नामक किर्नाको टोकाइबाट स्क्रब टाइफस लाग्ने गर्छ । हुन त स्क्रब टाइफस सरुवा रोग होइन । यो रोग संक्रमित व्यक्तिलाई टोकेको माइट नामक किर्नाले अर्को मान्छेलाई टोक्यो भने मात्र सर्न सक्छ । त्यसैले मुसाहरूको वासस्थान हुने ठाउँँहरूबाट हामी बढी सतर्क हुनुपर्छ । मुसा बढी हुने ठाउँमा यसका कीटाणु बढी नै हुन सक्छन् । मुसाबाट सर्ने रोग स्क्रब टाइफसका लक्षण र यो रोग लाग्नबाट बच्ने केही उपायबारे सरुवारोग विशेषज्ञ डा. शेरबहादुर पुनको सुझाब यस्तो छः

 

स्क्रब टाइफस रोग लागेका बिरामीमा अत्यधिक ज्वरो आउने, शरीर काम्ने, भित्री ज्वरो आउनेलगायत लक्षण देखिन्छ । त्यस्तै, आँखा रातो हुने, शरीरका ग्रन्थिहरू सुनिने, टाइफाइड हुनेजस्ता लक्षण देखिएमा पनि स्क्रब टाइफस भएको हुन सक्छ ।

 

मुसामा हुने माइट नामक कीटाणुले शरीरको कापतिर टोक्न सक्छ । जस्तोः घाँटी, काखीमुनि टोक्ने सम्भावना बढी हुन्छ । यस्तो स्थानमा टोकेको दाग देखिएमा पनि सजग हुनुपर्छ ।

 

टोकेको ठाउँमा कालो र ठूलो दाग देखिन्छ । यसलाई स्कार भनिन्छ । सामान्य अवस्थामा १० देखि १२ दिनमा यस्ता लक्षण देखिन सक्छन् । कहिलेकाहीँ ५ देखि २० दिनसम्म पनि यस्ता लक्षण देखिन्छन् ।

 

पानी पर्ने मौसममा यो रोगको जोखिम बढी हुन्छ । त्यसो त जाडो मौसममा पनि स्क्रब टाइफस देखिन सक्छ । बाह्रै महिना यो रोग लाग्ने सम्भावना भएकाले मुसादेखि सधैँ सतर्कता अपनाएर बस्नुपर्छ ।

 

स्क्रब टाइफस भएका व्यक्तिबाट अरूलाई यो रोग सर्दैन । मुसामा हुने माइट नामक कीटाणुबाट यो रोग सर्ने भएकाले स्क्रब टाइफस लाग्ने सम्भावित क्षेत्रमा जानुहुँदैन । जुन एरियामा स्क्रब टाइफसका कीटाणु देखिएका छन् सो क्षेत्रमा प्रतिबन्ध नै लगाउनुपर्छ ।

 

स्क्रब टाइफसको उपचार सजिलो हुन्छ । एन्टिबायोटिक प्रयोग गरेको ४८ घन्टामा स्क्रब टाइफसबाट बच्न सकिन्छ । त्यसैले यस्ता लक्षण देखिनेबित्तिकै चिकित्सककहाँ जानुपर्छ । ल्याबमा ब्लड टेस्ट गरेपछि स्क्रब टाइफस हो–होइन, सजिलै पत्ता लगाउन सकिन्छ ।

Source: Nayapatrika


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको