ती किशोरीको मानसिक रोग त निको होला, तर बलात्कारी समाजको उपचार कसरी गर्ने?

मङ्गलबार, ३० जेठ २०७४

 

नेपालमा मानसिक रोगीहरुको औषधोपचार र परामर्शका लागि हालसम्म विभिन्न ५२ जिल्लाको भ्रमण गर्ने मौका मिल्यो। जिल्लामा भ्रमण गर्दा सयौं मानसिक रोगीहरु भेटेँ। समाजमा मानसिक रोगको अवस्था भुसको आगोजस्तो भित्रभित्रै सल्किरहेको छ। बेलैमा सोचेनौँ र यो रोग अन्य रोगजस्तै उपचार गरे निको हुन्छ भन्ने चेतना जगाएनौँ भने यसले समाजलाई नै सताउनेछ। विगत सात वर्षदेखि मैले धेरैलाई परामर्श र औषधी–उपचार गरेँ।

 

कतिलाई त आफ्नै अस्पतालमा ल्याएर उपचार गरेको छु। केही निको भएर फर्केका छन् भने केही अझै फ्लोअपका लागि आइरहेका छन्। यीमध्ये केही जिल्लाका यस्ता मानसिक रोगीहरु भेटेको छु, जसले मनमा गहिरो छाप छोडेका छन्। अहिले पनि उनीहरुलाई झल्झल्ती सम्झन्छु। केही मानसिक रोगीहरुको अवस्था र कथा सुन्दा आँसु थामिदैन। त्यसमध्ये चार वटा घटना यहाँ राखेको छु।

 

एक

यो भर्खरैको घटना हो। ओखलढुंगा जिल्ला अस्पतालमा उपचारका लागि ल्याइएकी एउटी किशोरीको कथाले स्तब्ध बनायो। यस्तो दर्दनाक घटना सुनियो, जुन हाम्रै समाजमा हो र?  भनी प्रश्न गर्न मन लाग्छ।

एक जना त्यस्तै १५-१६ वर्षकी किशोरीलाई जटिल खालको मानसिक समस्या थियो। उनका बाबुआमा उनी सानै छँदा बितिसकेका। जन्मिँदै वौद्धिक अपांगता भएकी ती किशोरीमाथि हुने यौन दुर्व्यवहार सुन्दा कहाली लागेर आयो। गाँउकै एकजना वृद्ध महिलाले तिनलाई  पालनपोषण गरेकी रहिछन्। ती वृद्धका आफ्नै सन्तान छन् तर उनले सानैदेखि पालनपोषण गर्दै आएकाले ती किशोरीबारे उनी निक्कै चिन्तित थिइन्। उनले गहभरि आँशु पार्दै जसरी पनि किशोरीको मानसिक समस्याको उपचार गरिदिन अनुरोध गरिन्।

तपाईं कल्पना गर्न सक्नु हुन्न होला, तर सत्य के हो भने, ती किशोरी पटक-पटक बलात्कारको शिकार भएपछि केही सीप नलागेर उनलाई गर्भ निरोधक सुई लगाउने गरिएको रहेछ। कस्तो विडम्वना, एकातिर बाबुआमा छैनन्, अर्काले पालेर राखेको छ, त्यसमाथि मानसिक समस्या। त्यो भन्दा पनि अत्यासलाग्दो कुरा त पटक-पटक बलात्कृत हुनुपर्ने वाध्यता। ती किशोरीको अवस्था देख्दा र उनले भोगेको जीवन सम्झिँदा मेरा आँशु रोकिएनन्।

सोचेँ, हाम्रो समाजमा कति होलान् यस्ता असहाय र कति होलान् निरीहमाथि अपराध गर्ने पा১पीहरु। मानसिक रोगीको त उपचार गरेर निको पार्न सकिएला तर असहायहरुमाथि बालात्कार गर्ने समाजको उपचार कसले गर्ने? कसरी गर्ने?

 

दुई

केही समयअघि म मानसिक स्वास्थ्य परामर्श केन्द्रको कार्यक्रमका लागि उदयपुर पुगेको थिएँ। त्यहाँ एउटा दलित परिवार थियो, जहाँ परिवारका चार जना छोरा बौद्धिक अपांग थिए। चौथो छोरालाई जन्म दिएपछि आमा बितिन्। परिवारमा बाबुबाहेक चारै भाइ छोरा बौद्धिक अपांग। परिवारको आर्थिक अवस्था निक्कै कमजोर। बस्ने घर नभएकाले छाप्रोको बास। बाबुले छरछिमेकको काम गरेर जेनतेन छोराहरुको पेटमा चारो हाल्ने काम गरेका थिए। आर्थिक अवस्था कमजोर भएकाले कसैको उपचार गर्न सक्ने स्थिति थिएन उनको। माइलो छोरा निक्कै गम्भीर भएकाले दाम्लोमै बान्नुपर्ने अवस्था। अरुलाई गाउँलेको छिःछिः र दुर्दुर।

हामीले तीन भाइमध्ये जेठोको मानसिक अवस्था अलि सुधार गर्न सकिने खालको ठानेर निःशुल्क उपचारका लागि काठमाडौँ जान सल्लाहा दियौँ। तर, उनका बुबाले मानेनन्। वौद्धिक अपांगता जन्मजात हुने समस्या भएकाले पूर्ण निको पार्न नसकिने भए पनि मानसिक अवस्थामा केही व्यावहारिक सुधार भने पक्कै गर्न सकिन्थ्यो। हामीले चाहेर पनि केही गर्न सकेनौँ। अहिलेसम्म पनि म त्यो परिवारका चारवटै भाइको अवस्थाबारे सोचिरहेको हुन्छु। बिर्सिन सकेको छैन।

 

तीन

एक वर्षअघि, इलामको कुरा हो। त्यहाँ एकै परिवारका चार जना सदस्यले मानसिक समस्याकै कारण आत्माहत्या गरेका रहेछन्। झापामा एक जना युवा आएका थिए परामर्श लिन। मानसिक समस्या भएका उनका बुवा, आमा, दिदी र काकाले आत्माहत्या गरेका रहेछन्। परिवारका चार-चार जना सदस्यले एकपछि अर्को गरी आत्माहत्या गरेपछि ती युवा आफूमा  पनी अलिअलि लक्षण देखा पर्न थालेको महसुस गरी परामर्श लिन आएका थिए।

उनलाई हलुका प्रकारको मानसिक समस्या थियो। हप्ता दिनसम्म उनको उपचार गरियो। राम्रैसँग निको भइसकेको थियो। मैले फलोअपमा आउनु भनेको थिएँ। लामो समयसम्म पनि उनी आएनन्।  निको भएपछि रोजगारीका लागि विदेश जान्छु भनेको सुनेको थिएँ। राम्रै भयो होला भन्ने आशा छ, तर अझै म सशंकित छु। त्यो बिरामीको अवस्था के भयो होला? विदेश नै गएको हो कि? पछि फेरि मानसिक समस्या बढेर आत्महत्या नै पो गरे कि? अझै पनी ती बिरामीबारे सोचिरहन्छु म।

 

चार

यो पनि वर्ष दिनअघिकै घटना हो। सिन्धुपाल्चोकमा एक जना ४५ वर्षकी महिला थिइन्। मानसिक समस्या भएपछि अस्पतालमा डेढ महिना उपचार गरियो। राम्रैसँग निको भयो। अस्पतालमा राख्नुपर्ने आवश्यकता नभएपछि डिस्चार्ज गर्‍यौँ। तर, त्यसको तीन महिनापछि पत्रिकामा उनको नाममा श्रद्धाञ्जली छापिएको देखियो। हामीले फोन गरेर पुष्टि गर्‍यौँ। उनलाई राम्रैसँग ठिक भइसकेको थियो।

डेढ महिनामै उनले किन आत्महत्या गरिन्, म अझै उनकाबारेमा सोच्ने गर्छु। मानसिक समस्या एकचोटि ठिक हुँदैमा पछि फेरि दोहोरिन्न भन्ने हुँदैन। घर-परिवारको राम्रो समर्थन पाएन भने, बिरामी फेरि पुरानै अवस्थामा फर्किन सक्छ। त्यसकारण मानसिक समस्या समाधानका लागि औषधि-उपचार र परामर्शसँगै पारिवारिक हेरचाहको कुरा पनि उत्तिकै महत्वपूर्ण हुन्छ। निको भइसकेपछि पनि लापरबाही गर्नु हुँदैन।

 

(डा. रितेश थापा ललितपुर एकान्तकुनास्थित रिदम न्युरो साइक्याट्री अस्पतालका निर्देशक हुन्)

Source: Swasthyakhabar


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको