सुधार गरौँ यस्ता ब्युटी ह्याबिट

बुधबार, ३१ जेठ २०७४

 

सुन्दर देखिने रहर हरेक उमेरका महिला तथा पुरुषमा हुने गर्छ । सोही कारण विभिन्न प्रकारका सौन्दर्य प्रशाधनको प्रयोग पनि बढिरहेको छ । अहिले महिला मात्र नभएर पुरुषले पनि दैनिक विभिन्न प्रकारका ब्युटी प्रोडक्ट उपयोग गर्ने गरेका छन् । तर, महिलाले प्रयोग गर्ने प्रोडक्टको तुलनामा पुरुषका प्रोडक्ट सीमित मात्र हुने गर्छन् । मेकअप गर्नु सबैलाई राम्रो लाग्ने गरे पनि त्यसको हेरचाह गर्न सकिएन भने परिणाम विपरीत हुन सक्छ । मेकअपकै कारण स्किनमा नराम्रो असर पर्न सक्छ । जसले गर्दा अनुहारको छाला समयभन्दा अगाडि चाउरिने तथा चमक पनि हराएर जाने सम्भावना बढ्छ । कतिपय अवस्थामा गुणस्तरीय ब्रान्डेड प्रोडक्ट प्रयोग भइरहेको छ भनेर हामी ढुक्क हुन्छौँ । तर, त्यसको प्रयोग सही तरिकाले हुन नसक्दा गलत असर परिरहेको हुन्छ । त्यसैले ब्युटी प्रोडक्ट प्रयोग गर्नेले आफ्नो केही बानीमा भने सुधार गर्नुपर्ने हुन्छ । ब्युटी प्रोडक्टको सही प्रभावकारिताका लागि सुधार गर्नुपर्ने बानीबारे ब्युटिसियन अर्बिना श्रेष्ठको सुझाब यस्तो छः

 

अर्बिना श्रेष्ठ ब्युटिसियन साँज ब्युटिपार्लर 

(फिजिओलोजिस)


मेकअप नपखाली सुत्ने बानी

दिनभर मेकअप गरेर सुन्दर बनाइएको मुहार जस्तोसुकै भए पनि सुत्ने वेलामा मेअकप पखाल्न भुल्नु हुँदैन । दिनभरको जस्तोसुकै व्यस्तता या थकान भए पनि मेकअप सफा नगरी बेडमा जाने भुल गर्नु हुँदैन । अनुहारको मेकअप सफा नगरी सुत्दा मुहारको छालामा भएको छिद्र बन्द हुन सक्ने सम्भावना हुन्छ । जसले गर्दा छालामा समस्या पर्नुका साथै अनुहारको चमक हराउने तथा थकित देखिने हुन्छ । दिनभरि हिँड्दा मेकअपमा लागेका पसिना तथा बाहिरी फोहोरले मुहार बिगार्ने सम्भावना अत्यधिक हुन्छ ।

हरेक समय अनुहारमा छुने

अधिकांश महिलाले गर्ने अर्को गल्ती भनेको जानेर वा नजानेर पनि आफ्नो अनुहार छोइरहने हो । हरेक समय अनुहारमा हातले छोइरहँदा हातमा रहेको आयल तथा फोहोर अनुहारको सम्पर्कमा आउँछ । यसले पनि अनुहारको छालाको छिद्र बन्द हुने सम्भावा बढ्छ । जसले गर्दा मुहारमा धेरै प्रकारको समस्या निम्तन सक्छ ।

पुराना ब्युटी प्रोडक्टको प्रयोग

हरेक प्रकारका ब्युटी प्रोडक्ट प्रयोग गर्ने निश्चित समयावधि हुन्छ । सोही मितिभित्र सो प्रोडक्ट प्रयोग गरिसक्नुपर्छ । अन्यथा त्यसले खराब परिणाम निम्त्याउँछ । एकपटक खोलेपछि ब्युटि प्रोडक्ट खराब वातावरण तथा केमिकलको सम्पर्कमा आउँछ । जसले गर्दा पुराना ब्युटी प्रोडक्ट प्रयोग गर्दा अनुहार खराब बनाउँछ । त्यसैले हरेक दिन प्रयोग गरिने मस्कारा, गाजल, लिपस्टिक, फाउन्डेसन, कम्प्याक्ट पाउडरलगायतका प्रोडक्ट सामान्यतया ६ महिनाभन्दा बढी प्रयोग गर्नु हुँदैन ।

 

मेकअप ब्रसको सफाइ नगर्ने

दैनिक प्रयोग हुने मेकअप ब्रसको पनि नियमित सरसफाइ गर्नुपर्छ । तपाईंले यो भुल्नु हुँदैन कि मेकअप ब्रस मेकअप ब्याग तथा अन्य विभिन्न स्थानको सम्पर्कमा रहन्छ । जसले गर्दा मेकअप ब्रस फोहोर हुने सम्भावना अत्यधिक रहन्छ । यसको सरसफाइमा पनि विशेष ध्यान दिनुपर्छ । यदि ब्रसको सरसफाइमा विशेष ध्यान दिइएन भने अनुहारमा विभिन्न प्रकारका समस्या निम्तन सक्छ ।


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको