बाँझोपन, मोटोपन, अनावश्यक रौँ जस्ता समस्याले महिलालाई दुःख दिने पिसिओएस के हो ?

मङ्गलबार, १९ पुष २०७३

 

भर्खरै महिनावारी सुरु भएका केही किशोरीमा अस्वभाविक रुपमा मोटाउने, अत्याधिक मात्रामा डन्डीफोर देखिने, ओठ तथा शरीरका अन्य भागमा रौँ पलाउने र महिनावारी पनि गडबडी हुने गर्दछ । शारीरिक आउने यस्तो परिवर्तनले युवती मात्र होइन परिवारका सदस्य पनि चिन्तित बन्छन् । अझ विवाहित महिलाहरुमा निःसन्तनको समस्या देखियो भने परिवारमा थप तनाव हुनसक्छ ।

 

प्रजनन उमेर समूहका महिलामा पोलिसिस्टिक ओभरी सिन्ड्रोम (पिसिओएस) रोगका कारण यस्ता लक्षण तथा समस्या देखा पर्छन् । यो रोगबारे कमै महिलालाई मात्र जानकारी हुने गर्दछ। जसका कारण धेरै महिलाले उचित उपचार पाउन सकिरहेका छैनन् । यो रोग महिलाको पाठेघरको डिम्वाशयमा पानीको फोकाहरु आएपछि देखापर्छ । सामान्यतः महिलाको पाठेघरको दुवैतिर डिम्वबाहिनी नली हुन्छ । दुवै नलीको छेउमा डिम्वाशय रहन्छ। तर, विभिन्न कारणले डिम्वाशयमा मालाजसरी स–साना पानीका फोकाहरु आउँछन्। यसले महिलामा हर्मनको गडबडी हुन गई शारीरिक रुपमा समस्या निम्त्याउँछ ।

 

पिसिओएस भएका महिलामध्ये अधिकांशमा मोटोपनाको समस्या देखिन्छ। केहीमा महिनावारी गडबडी हुने, अत्याधिक रक्तस्राब हुने, अनुहार, छाती, तिघ्रालगातय अंगमा रौँ पलाउने, डण्डीफोर आउने जस्ता समस्या आउँछन्। यस्तै केही महिलामा बाँझोपना र भविष्यमा गएर मधुमेह तथा उच्च रक्तचापको समस्या पनि देखिने हुन्छ । तर यो रोगबारे जानकारी नहुँदा गलत उपचार हुने गरेको उदाहरण प्रसस्त छन् । सन्तान नहुने समस्या देखिएका महिला यो रोगको भन्दा अन्य समस्याको उपचारमा भौँतारिरहेको हामीले भेटेका छौँ । त्यस्तै डण्डीफोर र मोटोपन निको पार्ने नाममा धेरैले गलत उपचार गरेर झन् समस्या थप्ने गरेका छन्। आममहिलालाई पिसिओएसबारे जानकारी नहुनु त सामान्य कुरा हुन सक्छ तर याहाँ त कतिपय स्वास्थ्यकर्मीहरुलाई समेत यो रोगबारे उचित जानकारी छैन ।

 

प्रजनन उमेरका महिलालाई यो रोग किन र कसरी लाग्छ भन्ने स्पष्ट कारण अझै पत्ता लागिसकेको छैन । तर यो रोग लागेका महिलाको उपचार लक्षणका आधारमा गरिन्छ । रोगले महिलामा के समस्या निम्त्याएको छ, त्यसको उपचार गर्दै हर्मोनलाई सन्तुलित पार्नेगरी उपचार गरिन्छ । एक दिन वा केही हप्ताको उपचारले मात्र यो समस्या समाधान हुँदैन । यसका लागि बिरामीले चिकित्सककहाँ नियमित फलोअप गर्नु आवश्यक छ । चिकित्सकले दिएको औषधि र केही समयको उपचारपछि समस्या कम हुँदै जाँदा बीचमै औषधि छोड्नेहरु धेरै हुन्छन्। ‘अब ठिक भइहाल्यो किन बेकारमा औषधि खानु’ भन्ने मानसिकताले यो समस्या दोहोरिएर आउने खतरा रहन्छ । त्यसकारण चिकित्सकको सल्लाह र सुझाबमा मात्र औषधि छाड्ने गनुपर्छ ।

 

महिनावारी बन्द भइसकेका महिलाहरु पनि केही समयपछि रक्तस्राब भयो भनेर आउने गर्छन् । यो समस्या आउनुको कारण पनि पिसिओएस नै हो । महिनावारी सुकिसकेका महिलामा पुनः रक्तस्राब भयो भने यसले पाठेघरको क्यान्सर हुने खतरा बढाउँछ । पाठेघरको भित्रको लाइन ठूलो हुन्छ र क्यान्सर हुने सम्भावना बढ्छ । पिसिओएसले प्रजनन प्रणाली मात्र नभएर शरीरको सम्पूर्ण भागलाई असर गर्छ । बेलैमा रोग पहिचान गरेर उपचार नहुँदा महिलाले जीवनभर स्वास्थ्य समस्या भोग्नुपर्ने हुन्छ। मोटोपन तथा हर्मोनको गडबडीका कारण इन्सिुलिन प्रतिरोधले टाइप–२ डायबिटिज र मुटुजन्य समस्या समेत बढाउँछ ।

 

पिसिओएस रोग लागेका धेरैजसोमा मोटोपना हुने भएकाले हर्मोनलाई सन्तुलित गर्दै जीवनशैली र खानपान बदल्नुपर्छ । डाइटिसियनको सल्लाहअनुसार खानपनमा नियन्त्रण गर्दै जानुपर्छ । तौल घटाउँदा कोलेस्ट्रोल र इन्सुलिनको तह घटाउन सहयोगी हुन्छ ।

 

यो रोगका कारण १५ वर्षीया किशोरीको ९० किलो तौलसम्म फेला पारेका छौँ। ती किशोरीको विगतमा गलत उपचार भएको थियो । समस्या पत्ता लगाएर उचित उपचार गरेपछि अहिले उनी सहज जीवनमा फर्किएकी छिन् । पिसिओएस रोगबारे धेरै महिलालाई जानकारी नहुँदा पनि अस्पतालमा यस्तो रोगीको संख्या बढ्न थालेको छ । अझ धेरैभन्दा धेरै महिलासम्म यो रोगबारे चेतना पु¥याउन सके हाम्रा आमा, दिदी–बहिनीले सानो रोगको ठूलो मूल्य चुकाउनु पर्दैन थियो ।


 

पिसिओएस रोगका लक्षण

- मोटोपना
- महिनावारी गडबडी
- अत्याधिक रक्तस्राब
- बाँझोपना
- अत्याधिक रौँ पलाउनु
- छाला बाक्लो हुनु

(-डा. वैद्य र श्रेष्ठ नर्भिक अस्पतालमा कार्यरत छन्)


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको