क्यान्सर, मुटु, मिर्गौला र कलेजो रोग नियन्त्रणमा काम गर्न ‘जनता स्वास्थ्य क्लिनिक’ भवन बनाइँदै
शुक्रबार, ०६ साउन २०७४

काठमाडौँ- सरकारले रोगको प्रकृतिमा परिवर्तन देखिन थालेपछि जनता स्वास्थ्य क्लिनिकको भौतिक पूर्वाधार निर्माणका लागि रकम पठाउन थालेको छ।
पछिल्लो समय नसर्ने रोगको बिगबिगी बढ्न थालेपछि यसबारे जनतालाई सचेत गराउने उद्देश्यले काठमाडौँका विभिन्न १० स्थानमा जनता स्वास्थ्य क्लिनिक खोल्ने लक्ष्य छ।
जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौँका प्रमुख जनस्वास्थ्य प्रशासक महेन्द्रप्रसाद श्रेष्ठ रोगको प्रकृतिमा परिवर्तन आएकाले पछिल्लो समय जीवनशैलीसँग सम्बन्धित रोग क्यान्सर, मुटुरोग, हृदयाघातका बिरामी बढेकाले क्लिनिकको विकल्प नभएको बताए।
नसर्ने रोग समयमै पत्ता लगाउन सकेमा यस्ता रोगबाट बच्न सकिन्छ भनेर क्लिनिकमा द्रुत सेवा दिइने उनको भनाइ छ। सोही लक्ष्यअनुसार चावहिल र नयाँ बसपार्कमा भने क्लिनिक सञ्चालनमा आएपनि भौतिक पूर्वाधार निर्माण हुन नसक्दा पूर्णरुपमा सेवा दिन नसकिएको जनता स्वास्थ्य केन्द्र गोङ्गबुका संयोजक मधुसूदन घिमिरेले बताए।
जिल्ला जनस्वास्थ्य कार्यालय, काठमाडौँका प्रमुख श्रेष्ठले चाबहिल, मैतीदेवी, नक्साल, कुलेश्वर, लैनचौर, पुरानो बसपार्क, डल्लु, बूढानीलकण्ठ लगायतका स्थानमा क्लिनिक सञ्चालनमा ल्याउन पूर्वाधार निर्माण भइरहेको बताए।
पूर्वस्वास्थ्यमन्त्री गगनकुमार थापाले राजधानीमा जनचाप धेरै हुने र पूर्वाधार भएको स्थान हेरी प्रारम्भमा कम्तीमा १० वटा सेन्टर खोल्ने प्रस्ताव ल्याएका थिए।
प्रमुख जनस्वास्थ्य प्रशासक श्रेष्ठले काठमाडौँ महानगरलाई पूर्णरुपमा हस्तान्तण गर्ने गरी शुरुको तीन वर्ष जनस्वास्थ्य कार्यालयले व्यवस्थापन गर्ने सम्झौता गरिएको बताए। तीन वर्षको अवधिमा जनस्वास्थ्यले ६० प्रतिशत र महानगरले ४० प्रतिशत आर्थिक स्रोतमा सञ्चालन हुनेछ । प्राविधिक सहयोग पनि सरकारले उपलब्ध गराउनेछ।
के हो जनता स्वास्थ्य क्लिनिक ?
जीवनशैलीसँग सम्बन्धित मुटु, मिर्गौला, कलेजो तथा क्यान्सरजस्ता रोगलाई समयमा नै पहिचान गर्न खोलिएको संस्था नै जनता स्वास्थ्य क्लिनिक हो। यस्ता क्लिनिकमा एक÷एकजना एमबिबिएस डाक्टर, ल्याब र एक जनस्वास्थ्य अधिकृत रहनेछन् जसले नसर्ने रोगका जोखिमको जाँच गर्ने, परामर्श दिने र रगत तथा पिसाबको जाँचद्वारा मिर्गौला र अन्य रोगको परीक्षण निःशुल्क गर्ने व्यवस्था गरिने बताइएको छ। रोग लागेका व्यक्तिलाई सम्बन्धित अस्पतालमा पठाउने र जोखिममा रहेका व्यक्तिलाई जीवनशैली परिवर्तन तथा खानपानका लागि उपयुक्त सुझाव दिनेछ।
क्लिनिकको प्रमुख उद्देश्य रोग लाग्नै नदिनु र जोखिममा रहेका व्यक्तिलाई जोगाउनु रहेको प्रमुख प्रशासक श्रेष्ठको भनाइ छ । त्यसबाहेक स्वास्थ्य संस्थाबाट दिँदै आएको साबिकका सबै स्वास्थ्य सेवा पनि क्लिनिकबाट पनि उपलब्ध हुनेछ । सरकारको पछिल्लो तथ्याङ्क हेर्ने हो भने अहिले ६० प्रतिशत नसर्ने रोग र ४० प्रतिशत सरुवा रोगका कारण मानिसको मृत्यु हुने गरेको छ।
क्लिनिकका जनस्वास्थ्य अधिकृतले खानेपानी, खाद्यान्न, रेस्टुराँ, होटल लगायतका क्षेत्रमा गुणस्तर अनुगमन पनि गर्नेछन् । व्यायाम र योगको व्यवस्था पनि हुनेछ । क्लिनिकमा वृद्धवृद्धाका लागि परामर्श केन्द्र, किशोरकिशोरीका लागि प्रजननमैत्री सेवा पनि प्राप्त गर्न सकिनेछ । एउटा क्लिनिक सञ्चालनका लागि रु ४० लाख लाग्ने बताइएको छ । गत वर्ष नै सरकारले रु सात करोड ९० बजेट छुट्याएको भएपनि उक्त रकम चालु बजेटअन्तर्गत आएकाले खर्च हुन नसक्दा फ्रिज भएको श्रेष्ठको भनाइ छ।
‘गत वर्ष बजेट आयो तर चाहिएको शीर्षकमा आएन, त्यसले गर्दा उक्त रकम खर्च हुन सकेन, हामीलाई उपकरण खरिदका लागि भौतिक पूर्वाधार शीर्षकमा चाहिए पनि त्यो पैसा चालु खर्चमा आएको थियो’, श्रेष्ठले भने। चरणबद्ध रुपमा देशभरका सहरी स्वास्थ्य क्लिनिकलाई विस्तार गर्ने लक्ष्य मन्त्रालयले राखेको छ। रासस
To read in your mobile download our android app from google play store. Click Here To Download App
प्रतिक्रिया दिनुहोस्