चितवनमा आठ दिनमा १३ जनामा स्क्रब टाइफस भेटियो (के हो स्क्रब टाइफस ?)

सोमबार, ०९ साउन २०७४

 

चितवन-  चितवनमा पछिल्लो ८ दिनको अवधिमा १३ जनामा स्क्रब टाइफस देखिएको छ। यो सँगै वैशाखयता स्क्रब टाइफसका बिरामीको संख्या २२ पुगेको छ। 

जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका भेक्टर कन्ट्रोल निरिक्षक राम केसीले केही दिनयता बिरामीको संख्या बढीरहेको जानकारी दिए । बिरामीको संख्या बढेसँगै गत वर्षमा झैँ संक्रमितको संख्या बढ्ने हो की भन्ने चिन्ता फैलिएको छ। जिल्लाको पूर्वी क्षेत्रको रत्ननगर अस्पतालमा पनि दुई जनामा स्क्राब टाईफस देखिएको उनले बताए। साउन महिनामा ५४ जनामा परिक्षण गर्दा १३ जनामा यो समस्या देखिएको हो। 

जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका प्रमुख विजयकुमार झाले एकैपटक यति धेरैमा समस्यादेखिएपछि उच्च सर्तकता अपनाएका जानकारी दिए। उनका अनुसार बैशाखमा ५० जनाको परिक्षण गर्दा २, जेठमा ६२ जनाको परिक्षण गर्दा २, असारमा १३७ जनाको परिक्षण गर्दा ५ र साउनमा ५४ को परिक्षण गर्दा १३ मा स्क्रब टाइफस पुष्टि भएको हो।

पुष्टि भएका बिरामीहरु चितवन मेडिकल कलेज, नारायणी सामुदायिक अस्पताल, भरतपुर अस्पताल र रत्नननगर अस्पतालमा उपचार गराइरहेका छन्।

चितवनमा पहिलो २०७३ बैशाखमा स्क्रब टाइफसको बिरामी फेला परेको पुष्टि भएको थियो। यो रोगका कारण हालसम्म चितवनमा ५ जनाको मुत्यु भईसकेको छ । 
 
किट अभाव

स्क्रब टाइफसका बिरामीको संख्या बढेसँगै जिल्लामा यसको परिक्षण गर्न किटको अभाव भएको छ। जिल्लामा अहिले जम्मा १६ वटा मात्रै किट बाँकी छ। 

 

के हो स्क्रब टाइफस ?

डा. मदनकुमार उपाध्यायका अनुसार यो रोग संक्रमित भुसुना, किर्ना, सुलसुले, उपियाँँ वा सुक्ष्म किराको टोकाइबाट मानिसमा सर्दछ । स्क्रब टाइफस एक प्रकारको जीवाणु ‘रिकेटसिया सुसुगामुसी’ ले संक्रमित सूक्ष्म कीरा  (माइट) को टोकाइबाट फैलिन्छ । संक्रमित सुलसुले लगायतका सूक्ष्म कीराले मानिसलाइ टोक्दा उनीहरुको र्‍यालमा भएको ‘रिकेटसिया सुसुगामुसी’ जीवाणु रगतमा फैलिन्छ । जापानी शब्द ‘सुसुगा’ को अर्थ सानो र खतरनाक एवं ‘मुसी’ को अर्थ सूक्ष्म कीरा हुन्छ।

 

लक्षण

– १०२ ( १०५ डिग्री फरेन हाइटसम्म ज्वरो आउनु

– अत्याधिक टाउको दुख्नु

– सास फेर्न समस्या हुनु,

– शरीर बाउँडिनु

– जीउ, जोर्नी र मांसपेशीमा पीडा हुनु

– खोकी, वाकवाक, वान्ता, पेट दुखाइ र पखालाले सताउनु

– बढी संक्रमण हुँदा गर्दन, नितम्ब, पाखुरामा गाँठो देखिनु

– बिरामीको गम्भीरता अनुसार रगतमा प्लेटलेटसको संख्या कम हुनु

– छाती, पाखुरा, हातखुट्ठासम्म फैलिने गुलाबी बीमिरा देखिनु

यो रोगको पहिचान विरामीमा देखिएको लक्षण र सूक्ष्म कीराले टोकेको चिनो देखेर पनि गरिन्छ । यसमा रगत परीक्षण अन्तर्गत सीबीसी काउन्ट, लिभर फंग्सन टेस्ट  गरिन्छ । स्क्रब टाइफसको एन्टिबडी पत्ता लगाउन एलाइजा टेस्ट र द्रूत परीक्षण समेत गर्न सकिन्छ ।

एनएचएसका अनुसार स्क्रब टाइफसको आशंका भएका बिरामीलाई प्रयोगशाला प्रतिवेदन आउनुभन्दा पहिलेदेखि नै एन्टिबायोटिक औषधी दिन सकिन्छ।

संक्रमितलाई ‘डक्सिसाइक्लिन’ वा ‘टेट्रासाइक्लिन’ एन्टिबायोटिकका माध्यमले उपयुक्त रुपले उपचार गरिए धेरै जसो बिरामीमा ४८ घण्टाभित्रै सुधार देखिन थाल्छ । बिरामीहरु पूर्ण स्वस्थ्य समेत हुन्छन्।

स्क्रब टाइफसको उपयुक्त उपचार नगर्दा दीर्घकालीन रुपमा सुन्ने क्षमता गुम्नु, निम्न रक्तचाप, अगंमा क्षति र मृगौला फेल हुनु, निमोनियाको संक्रमण देखिनु, छारे रोगको लक्षण, अन्योल,सुस्त हुने, मासु कुअिनु आदि समस्या देखिन सक्ने एनएचएसले जनाएको छ । यस्ता बिरामी बहुअंग विकार (मल्टि अर्गान डिजअर्डर) को अवस्थामा पुग्छन्।

 

source: Swasthyakhabar

 


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको